PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

किन नेपालमा अमेरिकाबाट हुलाक मार्फत गाँजा आइरहेको छ ?



पहिलोपोस्ट

किन नेपालमा अमेरिकाबाट हुलाक मार्फत गाँजा आइरहेको छ ?

काठमाडौं : गएको भदौ महिनाको अन्तिम साता दुईपटक अमेरिकाबाट नेपाल लागूऔषध गाँजा भित्रिएको छ। त्यो पनि हुलाकको 'च्यानल' प्रयोग गरेर। डिल्लीबजारमा रहेको गोश्वारा हुलका कार्यालय मार्फत भदौ २० र २१ गते अमेरिकाबाट गाँजा नेपाल आएको हो। 

भदौ २० गते दुई किलो र भदौ २१ गते १ किलो ३ सय ३० ग्राम गाँजा अमेरिकाबाट नेपाल भित्रिएको थियो। अमेरिकाबाट मनोज राईको नाममा आएको पार्सल खोल्दा गाँजा भेटिएको थियो। भदौ २० गते लागूऔषध नियन्त्रण ब्युरोको टोलीले अमेरिकाबाट मनोज राईको नाममा आएको पार्सल खोल्दा दुई किलो गाँजा फेला परेको थियो। त्यो घटनामा मनोज मात्र होइन अन्य दुई जना युवक समेत पक्राउ परिसकेका छन्।

प्रहरीले पार्सल प्रकरणमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-७ बस्ने २७ वर्षीय मनोज राई, काठमाडौं महानगरपालिका वडा नम्बर १ नक्साल बस्ने ३० वर्षीय अंकित कुमार श्रेष्ठ र खुसिबु बस्ने ३० वर्षीय राहुल क्षेत्रीलाई नियन्त्रणमा लिएको थियो। राहुल र अंकितले मनोजलाई ३० हजार रुपैयाँ दिने सर्तमा गाँजा भएको पार्सल लिन पठाएका थिए। पैसाको लोभमा गाँजा 'रिसिभ' गर्न जाँदा उनीहरु पक्राउ गरेको प्रहरीले जानकारी दीएको छ।

तर, पक्राउ परेको भोलिपल्ट नै फेरि मनोज राईको नाममा अर्को पार्सल आएको हो। टिसर्ट, पाइन्ट भनेर पार्सल गरिएको सामानमा १ किलो ३३० ग्राम गाँजा भेटिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी योगेन्द्र कुमार खड्काले बताए। जब उनको नाममा पार्सल आएको थियो तब मनोज त्यतिखेर हिरासतमा नै थिए।

'पठाउने मानिसलाई मनोज हिरासतमा गइसकेको भन्ने थाहा नहुन सक्छ वा एकै चोटीमा पठाउँदा फरक मितिमा गाँजा आएको हुनुपर्छ,' एसपी खड्काले भने।

पार्सल अमेरिकाको क्यालिफोर्नियाबाट आएको खुलेको छ। तर, पार्सल कसले पठाएको हो? कसलाई दिने भन्ने अनुसन्धानमा नखुलिसकेको प्रहरीले जानकारी दिएको छ। मकवानपुर, धादिङ, सिन्धुली लगायत जिल्लाहरुमा गाँजाको अवैध खेती हुने गरेको छ। नेपालबाट नै गाँजा अन्य देशहरुमा जाने गर्छ। तर अमेरिकाबाट नै गाँजा किन आएको भन्ने कुरामा प्रहरीले अनुसन्धान गरिरहेको एसपी खड्का बताउँछन्।

'केही सम्भावित कारणहरु पत्ता लागेको छ। तर त्यसलाई पुष्टी गरेर थप प्रमाण जुटाइरहेका छौ,' एसपी खड्काले भने।

त्यसो त क्यानडाबाट पनि यसअघि यस्तै प्रकृतिको पार्सलमा गाँजा आएको थियो। गाँजा नेपालमा पनि उत्पादन हुन्छ। हिमाली क्षेत्रको गाँजा सेवनकर्ताले महँगो मूल्य तिरेर किन्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

प्रहरीले बरामद गरेको गाँजाको मूल्य ४९ हजार रुपैयाँसम्म पर्छ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले डेढ महिना मात्र १४३ जना मानिसलाई नियन्त्रणमा लिएको छ।आर्थिक वर्ष २०७९/८०को असार १ गतेदेखि भदौ २० गतेसम्म १४३ जनालाई नियन्त्रणमा लिएको हो। जसमा एक महिला सहित ५ जना विदेशी नागरिक समेत रहेका छन्।

सबैभन्दा धेरै काठमाडौंबाट समातिएका छन्। ३५ जना काठमाडौंबाट समातेको ब्युरोले जानकारी दिएको छ। विराटनगरबाट २१ जना समातिएका छन्।प्रहरीले उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, कोकिन र अफिम बरामद गरेको छ। यो अवधिमा ५२ किलो गाँजा बरामद गरेको छ भने  ६ सय ६८ ग्राम हेरोइन समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell