PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

स्याङ्जामा दुई मतदानस्थल सारियो, दुई नयाँ केन्द्र थपियो



पहिलोपोस्ट

स्याङ्जामा दुई मतदानस्थल सारियो, दुई नयाँ केन्द्र थपियो
फाइल फोटो

काठमाडौं : स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको छ। यस्तै, दुई नयाँ केन्द्र थप भएको निर्वाचन आयोगले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।

जिल्लामा कूल १९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक-एक मतदानस्थललाई स्थानान्तरण गरिएको हो। वालिङ नगरपालिका–८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ-८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा सारिएको छ। बिरुवा-१ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा-१ कै नवज्योति माध्यमिक विद्यालयमा सारिएको उनले जानकारी दिए।

भौगोलिक कठिनाईका कारण अपायक, साँघुरो, पुराना भवनलगायत कारणले राजनीतिक दलहरुको सहमति र नयाँ थपिएका मतदानस्थल अवलोकन गर्दा उपयुक्त भएपछि मतदानस्थल सारिएको हो।

'यसअघिका निर्वाचनमा १९९ मतदानस्थलमा ३१८ वटा मतदान केन्द्रमा मतदान हुन्थ्यो,' सूचना अधिकारी गौतमले  भने, 'अहिले दुई वटा नयाँ निर्वाचन केन्द्र थप गरी ३२० वटा पुर्‍याइएको छ।'

एउटा निर्वाचन केन्द्रमा अधिकतम एक हजार ५० जना पुगेपछि दोस्रो निर्वाचन केन्द्र रहने प्रावधान अनुसार मतदाताको संख्या थपिएसँगै केन्द्र पनि थप गरिएको उनले जानकारी दिए।

दुईवटा नयाँ मतदान केन्द्र वालिङ-४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा केन्द्र थपिएको हो। जेठीकन्यामा एउटा थपिएसँगै दुई वटा मतदान केन्द्र भएको छ भने केदारनाथ मन्दिरमा एउटा थपिएसँगै तीन वटा मतदान केन्द्र पुगेको छ।

आगामी मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि जिल्लामा कूल मतदाता दुई लाख ४४ हजार ८९ छन्। तीमध्ये महिला एक लाख २४ हजार साट ७८, पुरुष एक लाख १९ हजार ३१० र अन्य एकजना रहेको निर्वाचन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell