PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन, कारण के ?



पहिलोपोस्ट

दशैंमा पनि बैतडीको हवाई सेवा सञ्चालन भएन, कारण के ?

काठमाडौं : दशैंमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन। लामो समयदेखि बन्द रहेको हवाई सेवा दशैंमा पुनःसञ्चालन हुने भनिएको थियो। तर उ दशैंमा पनि उडान सञ्चालन हुन नसकेको हो।

समिट एयरले साप्ताहिकरुपमा उडान गर्दै आएकामा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाई उडान सेवा बन्द छ। कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा छ महिनादेखि बन्द रहेको हो। यसअघि दशैंलाई लक्षित गर्दै यही असोज ८ गते शनिबारदेखि नियमितरुपमा हवाई उडान हुने जनाइएको थियो।

माथिबाटै दशैंमा यात्रु हुन्छन् भनेर असोज ८ देखि उडान भर्ने भनेर जानकारी आएको भए पनि यात्रु समस्याका कारण हुन नसकेको समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिए।

साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो। भट्टले  भने, 'दशैं, तिहारका बेला यात्रु नियमितरुपमा पाइन्छन् भनेर असोज ८ गतेदेखि फ्लाइट हुने जानकारी आएको थियो तर यात्रु अभावमा उडान हुन सकेन।'

यसअघि बिहीबार हुँदै आएको हवाई उडान असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिकरुपमा धनगढी–बैतडी–धनगढी उडान हुने समिट एयरले जनाएको थियो।  दशैंमा समेत यात्रु अभाव भएपछि अब भने यहाँ कहिले उडान हुने भन्नेबारे अनिश्चित भएको छ।

उनले भने, 'चाडपर्वका बेला यात्रु हुन्छन् र नियमित उडान गर्ने तयारी थियो तर अब यसपछि कहिलेदेखि उडान हुने भन्नेबारेसमेत अनिश्चित भएको छ।'

यात्रु नपाइनुको मुख्य कारण महँगो भाडा

बैतडीमा हवाई उडान नहुनुका कारण यात्रु नपाइने भनेर भन्ने गरिएको छ तार यात्रुको गुनासो भने भाडा महँगो भएको रहेको छ। धनगढीबाट १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महँगो भएको स्थानीय भागरथी भट्टले बताए।

उनले भने, '१७ मिनेटको यात्राका लागि पाँच हजार तिर्नु निकै महँगो हो, भाडादर घटाएपछि नियमितरुपमा यात्रु पनि पाइन्थे, यात्रुलाई पनि सहज हुन्थ्यो।'  १७ मिनेटको बैतडी–धनगढी हवाई भाडा अबदेखि पाँच हजार रहेको छ। सुरुमा हवाई सेवा सञ्चालन हुँदा तीन हजार ८५० भाडा रहेकामा त्यसपछि बढेर चार हजार ६०० पुगेको थियो। हाल अझै बढेर पाँच हजार पुगेको भट्टले बताए।

उनले भने, 'इन्धनको मूल्य बढेकाले हवाई भाडा पनि बढेर आएको हो। हाल पाँच हजार निर्धारण गरिएको छ। घट्ने सम्भावना छैन।'

हवाई उडान नियमित नहुँदा आकस्मिकरुपमा  बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान समस्या हुने गरेको छ। सार्वजनिक यातायातमा धनगढी पुग्न कम्तीमा आठ घण्टा लाग्ने गर्दछ । नियमित उडान नहुँदा यहाँका नागरिक निराशसमेत भएका छन्।

पाटनमा विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम सातादेखि पुनःसञ्चालनमा आएको हो। विसं २०३२ मा पाटनमा विमानस्थल निर्माणको काम सुरु भएर विसं २०३५ देखि हवाई सेवा सुरु भएको थियो। पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो। त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell