
काठमाडौं : भारतीय स्वतन्त्रता आन्दोलनका अग्रणी व्यक्तित्व महात्मा गान्धीको १५३ औं जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले सोमबार विशेष कार्यक्रमको आयोजना गर्यो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका संरक्षकसमेत रहेका पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गान्धीको विचार तथा जीवनशैली नै एक सिद्धान्त भएकाले त्यसको अनुशरण गर्न सके विश्व शान्तिका लागि महत्वपूर्ण योगदान पुग्ने विचार व्यक्त गरे।
निधिले भारतमा अंग्रेजविरुद्ध गान्धीले सञ्चालन गरेको स्वतन्त्रता आन्दोलनबाट आफ्ना पिता महेन्द्रनारायण प्रभावित भएर नेपालमा समेत अहिंसात्मक आन्दोलन सञ्चालन गरेको स्मरण गरे। निधिले भने, ‘२०१७ सालमा कांग्रेसको नेतृत्वमा शसस्त्र आन्दोलन हुँदा महेन्द्रनारायणले हिंसाको विरोध गर्दै अहिंसाको बाटो रोज्नुभयो।’
गान्धीले भनेजस्तै मानव जातिले आफ्नो कर्तव्य पालना गरे मानव अधिकारको रक्षा भई विश्वभर शान्ति स्थापना हुने निधिको भनाई थियो।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले महात्मा गान्धीले अङ्गिकार गर्नु भएको मुल्य मान्यता तथा उहाँका जीवनशैली नै राजनीतिक मार्गदर्शन भएको बताए। उनले गान्धीको अहिंसात्मक आन्दोलनबाट प्रभावित भएर नेल्सन मण्डेलाले समेत दक्षिण अफ्रिकामा रङ्गभेदी आन्दोलनमा सफलता पाएको चर्चा गरे।
कार्यक्रममा गान्धीको जीवनशैली तथा विचारबारे अनुसन्धानकर्ता शंकर तिवारी, लेखक मदुसुदन पाण्डेले चर्चा गरेका थिए।
प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य प्रा. कपिल श्रेष्ठ, कांग्रेस नेता खिलानाथ दाहाल, वरिष्ठ पत्रकार रामजी दाहालले महात्मा गान्धीले अहिंसाको माध्यमबाट आफ्ना नागरिकलाई अंग्रेजको औपनिवेशबाट मुक्त गराउन सफल भएको चर्चा गरेका थिए।
संयुक्त राष्ट्रसंघले सन् २००७ मा अक्टोवर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा घोषणा गरेसँगै संसारभर यो दिन गान्धीको स्मरणमा अहिंसा दिवस मनाइने गरिन्छ। प्रतिष्ठानले हरेक बर्ष यस दिन गान्धीको स्मरणमा कार्यक्रम गर्दै आएको छ।
नेपाली कांग्रेसका पूर्ब महामन्त्री महेन्द्र नारायण निधिलाई गान्धी विचारका असल अनुयायीको रुपमा लिइन्छ। हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाउन महत्वपूर्ण भूमिका खेलेका निधि नेपालका गान्धीवादी नेताका रुपमा चिनिन्छन्।