PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गठबन्धनमा हलचल : तीन दल असन्तुष्ट, जसपाको चेतावनी ‘बार्गेनिङ’ कि एमालेसँगको तालमेलको सुरुवात?



प्रकाश भण्डारी

गठबन्धनमा हलचल : तीन दल असन्तुष्ट, जसपाको चेतावनी ‘बार्गेनिङ’ कि एमालेसँगको तालमेलको सुरुवात?

काठमाडौं : मुलुक दशैंको रमझममा रहँदा सत्ता गठबन्धनमा भने हलचल उत्पन्न भएको छ। मंसिर ४ गतेको चुनावका लागि सिट बाँडफाँटमा नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी,नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चा असन्तुष्ट बनेपछि गठबन्धनमा गडबडी देखिएको हो।  प्रतिनिधि सभामा भन्दा प्रदेश सभाको टिकट बाँडफाँटमा तीन दलले असन्तुष्टि जनाएका हुन्। 

राष्ट्रिय जनमोर्चाका नेता तथा गठबन्धनले गठन गरेको टिकट बाँडफाँटको कार्यदलका सदस्य हिमलाल पुरीले तीन दलले प्रदेश सभाको टिकट बाँडफाँटमा असन्तुष्ट जनाएको बताए।

‘तीन दलले प्रतिनिधि सभाको भन्दा पनि प्रदेश सभामा असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको त अहिले संख्या प्रस्ताव भएको छ। राजनीतिक निर्णय गर्‍यो भने मिल्छ होला,’ पुरीले भने।

निर्वाचन आयोगले असोज २३ गतेका लागि मनोनयनको समय तोकेको छ। मनोनयन अघि नै भागबन्डा मिलाएर अघि बढ्नुपर्ने दवावमा गठबन्धनका नेता छन्। तर, जसपाले औपचारिक निर्णय नै गरेर गठबन्धन छोड्ने चेतावनी दिएपछि अरु नेतामाथि दबाब चुलिएको छ। हुन त यसअघिको स्थानीय तह निर्वाचनमा अन्तिम समयमा मात्रै गठबन्धनको भागबन्डा मिलेको थियो। वैशाख ११ र १२ गतेका लागि मनोनयन तोकिएकोमा १२ गते मात्रै महानगर र उपमहानगरको गठबन्धन गरेर बाँकीमा सम्बन्धित ठाउँकै पार्टी कमिटीहरुलाई गठबन्धनले जिम्मेवारी दिएको थियो। केन्द्रबाट गठबन्धन हुन नसकेपछि त्यतिबेला पनि पाँच दल गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल गरेर निर्वाचनमा होमिएका थिए। 

जसपाको असन्तुष्टि किन?

बिहीवारको गठबन्धनको बैठकमा नेपाली कांग्रेसका नेता तथा कार्यदलका संयोजक कृष्ण प्रसाद सिटौलाले टिकट बाँडफाँटको प्रस्ताव प्रस्तुत गरेका थिए। कांग्रेसलाई ८५ देखि ८७ सिट, माओवादीलाई ४५ देखि ५०, एकीकृत समाजवादीलाई १७, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने सिटौलाले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा तीन दल मध्ये जसपाले गम्भीर असहमति जनाएको छ। यस्तै, माओवादी केन्द्रले भने आफ्नो दल भने सिट बाँडफाँटमा सन्तुष्ट रहेको गठबन्धनका नेताहरुले बताएका छन्।

मधेश प्रदेशको बाँडफाँटमा जसपाले असन्तुष्टि जनाएको छ। आफ्नो जनमत रहेको प्रदेशमा फेरि पनि जसपाकै सरकार बन्ने गरेर टिकट बाँड्नुपर्ने पक्षमा जसपा छ। तर, उक्त प्रस्तावलाई मान्न नसकिने कांग्रेस नेताहरुले अडान राखेपछि सहमति नजुटेको हो। बिहीवारको बैठकमा तीन दलले असन्तुष्टि ब्यक्त गरेपछि तत्काल अर्को बैठक बस्नेगरी सकिएको छलफल फेरि सुरु हुन सकेको छैन। गठबन्धनले प्रत्यक्षतर्फ प्रतिनिधि सभामा १ सय ६५ टिकट र प्रदेश सभामा ३ सय ३० सिट बाँडफाट गर्नुपर्ने छ। समानुपातिकको सूचीलाई लिएर गठबन्धनमा विवाद उत्पन्न भएको थियो। कांग्रेसमा संस्थापन इतरले आन्दोलन गरेपछि सूची सच्याएर निर्वाचन आयोगमा बुझाइएको छ। माओवादी केन्द्रले शनिवार नै आयोगमा संशोधनसहितको अन्तिम सूचि बुझाएको छ। 

एमालेसँग संवादमा जसपा

गठबन्धनमा खटपट उत्पन्न भएपछि जसपाले औपचारिक रुपमा तालमेलको ढोका खोलेको घोषणा गर्‍यो। शनिवारको कार्यकारिणी बैठकले सिट बाँडफाँटमा आफ्नो दलको असन्तुष्टि रहेको बताएको थियो। विज्ञप्ति जारी गरेर जसपाले गठबन्धन भन्दा बाहिरका दलसँग पनि चुनावी तालमेल हुने बताएको हो।

'सिट बाँडफाँटसम्बन्धी छलफलमा हाम्रो पार्टीको लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पको रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिने छ,' जसपाको विज्ञप्तिमा भनिएको थियो।

उक्त घोषणा अघि नै जसपाका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको संवादलाई अघि बढाएका थिए। नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जसपा एमालेसँग संवादमा आएको बताए।

‘एमालेसँग टचमा छ भन्ने बुझेको छु। अरु के कस्तो संवाद भइरहेको छ। तालमेल के हुन्छ भन्ने अहिले नै भन्न सकिने अवस्था छैन्,’ नेम्वाङको भनाइ छ। एक्लै चुनावमा होमिने नीति केन्द्रीय कमिटीबाट पारित गरेको एमाले पछिल्लो समय साना दलहरुसँग चुनावी तालमेलका लागि छलफलमा छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा)सँग एमालेका नेताहरुले संवाद गरिरहेका छन्। तर तालमेलकै बारेमा भने एमाले निर्णयमा पुगिसकेको छैन। जसपालाई गठबन्धनबाट अलग गर्न सके मधेशमा आफ्नो पक्षमा माहोल बनाउन सजिलो हुने बुझाइमा एमाले रहेको छ। त्यसैले जसपा र लोसपा दुवैसँग चुनावी तालमेलका लागि एमालेले संवाद अघि बढाएको हो। 

गठबन्धनको बुझाइ जसपाको ‘बार्गेनिङ’

टिकट बाँडफाँटमा असन्तुष्टि जनाएर गठबन्धनबाटै बाहिरिने जसपाको चेतावनीलाई भने सत्ता गठबन्धनका अरु दलका नेताहरुले 'बार्गेनिङ'का रुपमा बुझेका छन्। यसअघि स्थानीय तहको निर्वाचनका बेलामा पनि माओवादी, एकीकृत समाजवादी र जसपाले असन्तुष्ट जनाउँदै गठबन्धन छोड्ने चेतावनी दिएका थिए। 

त्यसो त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रलाई दोस्रो ठुलो दल बन्नेगरी सिट नदिए चुनावी गठबन्धन नबन्ने सार्वजनिक रुपमा चेतावी दिने गरेका छन्। यस्तै, एकीकृत समाजवादीले पनि ३० सिटमा दाबी गरेकोमा १७ सिट मात्रै पाउने प्रस्ताव गठबन्धनमा अघि बढेपछि असन्तुष्टि जनाइरहेको छ। उसले कम्तिमा पनि २० सिट आफ्नो दलले पाउनुपर्ने भन्दै लविङ गरिरहेको छ।नेकपा माओवादी केन्द्रा महासचिव तथा कार्यदलका सदस्य देव गुरुङले जसपाको असन्तुष्टि लविङ भएको दाबी गरे।

‘अलि अलि त बार्गेनिङ होला नि। यो २२ गते सम्मै पनि रस्साकस्सी चलिरहन्छ,’ उनले भने। गठबन्धन दलहरुले चुनावी तालमेलका लागि साउन २० गते नै ११ सदस्यीय कार्यदल गठन गरेका थिए। भदौ पहिला हप्ता नै टिकट बाँडफाँटको टुंगो लगाउनेगरी कार्यदल गठन भएको भए पनि हालसम्म अन्तिम टुंगो भने लाग्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell