PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ब्राजिलमा राष्ट्रपति छनोट गर्न दोस्रो चरणको निर्वाचन हुने, लुला र बोलसोनारो आमनेसामने



पहिलोपोस्ट

ब्राजिलमा राष्ट्रपति छनोट गर्न दोस्रो चरणको निर्वाचन हुने, लुला र बोलसोनारो आमनेसामने

ब्राजिलमा नयाँ राष्ट्रपति छनोट गर्न दोस्रो चरणको निर्वाचन हुने भएको छ। वर्तमान राष्ट्रपति जैर बोलसोनारो र पूर्व राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाबिच अब राष्ट्रपति बन्न प्रतिस्पर्धा हुने भएको हो।

पहिलो चरणको निर्वाचनमा लुलाले ४८ प्रतिशत र बोलसोनारोले ४३ प्रतिशत मत पाएका थिए। अर्का प्रतिस्पर्धी सिमोने तेबेतले ४.२ प्रतिशत मत पाइन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारको ५० प्रतिशतभन्दा बढी मत नपाएकाले अब चार हप्तापछि फेरि मतदान हुने भएको हो। लुला र बोलसोनारोले दोस्रो चरणको निर्वाचनमा आफ्नो जित हुने दाबी गरिरहेका छन्।

भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले सन् २०१८ मा लुलाले राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाएका थिएनन्। अहिलेको निर्वाचनको परिणामलाई हेर्दा लुलाले राम्रो 'कमब्याक' गरेको विश्लेषण गरिएको छ।

ओपिनयन पोलमा बोलसोनारो पहिलो चरणमै पराजित हुने अनुमान गरिएको थियो। तर, ओपिनियन पोल गलत साबित हुँदा दोस्रो चरणमा आफूले सजिलै जित्ने उनमा विश्वास बढेको स्थानीय मिडियाले उल्लेख गरेको छ। बोलसोनारोले लुलालाई एक टेलिभिजन डिबेटमा 'चोर' भन्दै ५८० दिन उनी भ्रष्टाचारको आरोपमा जेलमा बसेको बताएका थिए। जवाफमा लुलाले बोलसोनारोलाई 'पागल' भनेका थिए।

लुलाले आफ्नो चुनावी एजेन्डामा एमेजन जंगल संरक्षणलाई महत्व दिएका छन्। बोलसोनारोले भने ती जंगलको केही क्षेत्रमा व्यवसाय संचालन गर्न खुला गर्नुपर्ने बताउँदै आएका थिए। बोलसोनारोमाथि आफ्नो कार्यकालमा एमेजन जंगल संरक्षण गर्न केही नगरेको आरोप लाग्दै आएको छ। वातावरण अभियन्ताहरुल बोलसोनारो फेरि जिते उनले एमेजनलाई धवस्त बनाउन सक्ने चेतावनी दिइरहेका छन्।

यद्यपि, मतदाताहरुले बढ्दो महंगी, बेरोजगारी लगायतका एजेन्डालाई पनि महत्वका साथ उठाइरहेका छन्। पछिल्लो समय ब्राजिलमा खाद्यान्नको भाउ बढ्दा गरिबि र भोकमरी बढेको छ। यस्तै, शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो असमानता पनि नयाँ राष्ट्रपतिले कसरी समाधान गर्छन् भनेर मतदाताले चासो राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell