PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

के छोरी मानुषीका लागि मैदान छाडेका हुन् डा.बाबुराम भट्टराईले?



प्रकाश भण्डारी

के छोरी मानुषीका लागि मैदान छाडेका हुन् डा.बाबुराम भट्टराईले?
फाइल फोटो

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा बाबुराम भट्टराईले चुनाव नलड्ने घोषणा गर्नासाथ एकखालको फरक राजनीतिक तरङ्ग पैदा भयो। उनको घोषणालाई लिएर विभिन्नखाले अड्कलबाजी चलिरह्यो। कसैले त्यागका रुपमा उनको घोषणाको व्याख्या गरे भने कसैले रणनीतिको। 

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार नबन्ने भन्दै उनले लेखेका छन् - 'प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।'

गोरखामा सधैं पपुलर मत ल्याएर जित निकाल्दै आएका उनले फेसबुक मार्फत् चुनाव नलड्ने घोषणा गरेका हुन्।  

२०६४ को पहिलो संविधानसभामा माओवादीबाट, २०७० को दोस्रो संविधानसभामा पनि माओवादीबाटै र २०७४ को प्रतिनिधि सभामा भट्टराईले नयाँ शक्तिबाट गोरखा क्षेत्र नम्बर २ मा चुनाव जितेका थिए। २०७४ मा भट्टराईसँग माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पराजित भए। श्रेष्ठ हाल राष्ट्रिय सभा सदस्य छन् भने माओवादी केन्द्रले उनलाई बरिष्ठ उपाध्यक्ष बनाएको छ। भट्टराईलाई त्यतिबेला कांग्रेसले समर्थन गरेपछि श्रेष्ठ पराजित र भट्टराई निर्वाचित हुने स्थिति बनेको थियो । 

आफू चुनाव नलडे पनि आफ्नो क्षेत्रमा योग्य उम्मेदवार आउने भट्टराईको भनाइ छ।

'मेरो ठाउॅमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ,' भट्टराईले उल्लेख गरेका छन्। तर, को उम्मेदवार भन्नेबारेमा भने उनले केही खुलाएका छैनन्। चुनाव नलडे पनि राजनीतिमा भने सक्रिय रहने उनको भनाइ छ। 

भट्टराईले वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै २०७२ सालमा संविधान जारी भएपछि माओवादी परित्याग गरेका थिए। माओवादी छोडेका भट्टराईले वैकल्पिक शक्ति भन्दै नयाँ शक्ति पार्टी नेपाल निर्माण गरे। तर, उनको दल २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सफल हुन सकेन। चुनावी असफलतापछि भट्टराईले उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी फोरम, नेपालसँग एकता गरेर समाजवादी पार्टी नेपाल बनाएका थिए। २०७७ वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईको पार्टीमा विभाजन ल्याउन राजनीतिक दल विभाजन सम्बन्धि अध्यादेश ल्याएपछि समाजवादी पार्टी राष्ट्रिय जनता पार्टी (राजपा)सँग एकता भएको थियो।

जसपामा पनि विभाजन आएपछि एकातिर भट्टराई-यादव थिए भने अर्कोतिर महन्थ ठाकुर पक्ष रहेका थिए। ओलीको समर्थनमा ठाकुर पक्ष लाग्दा भट्टराई र यादवले भने सडकमा रहेको पाँच दलीय गठबन्धनसँग सहकार्य गरेको थियो। ठाकुर पक्ष ओली सरकारमै सहभागी भयो भने त्यसको चर्को विरोध यादव-भट्टराईले गरेका थिए। 

ठाकुरले हाल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेका छन्। यादवलाई छोडेर भट्टराईले पनि नेसपा गठन गरेका छन्। नयाँ पार्टी गठन गरे पनि भट्टराईको हिमचिम भने नेकपा माओवादी केन्द्रसँग छ। माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया हथौडा लिएर निर्वाचनमा जाने सहमति गरेका भट्टराईले सोमवार भने चुनाव नै नलड्ने घोषणा गरेका हुन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भट्टराईसँगको सहकार्य चुनावका लागि मात्रै नभएर दीर्घकालीन भएको भन्दै पार्टी नै एकता हुने बताइरहेका छन्। 

छोरीका लागि चुनाव छोडेका हुन् भट्टराईले?
भट्टराईकी छोरी मानुषी यमी भट्टराई काठमाडौं क्षेत्र नम्वर ७ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने भन्दै तयारी गरिरहेकी छिन्। २०६४ सालको संविधान सभाको निर्वाचनमा मानुषीकी आमा हिसिला यमीले माओवादीबाट काठमाडौं क्षेत्र नम्वर ७ मा चुनाव जितेकी थिइन्। 

मानुषीले यसअघि आफू काठमाडौंबाट र बाबुराम गोरखाबाट चुनाव लड्ने सार्वजनिक गरेकी थिइन्। भट्टराईले प्रतिनिधि सभाको मनोनयनको एक हप्ता अघि प्रत्यक्षमा चुनाव नै नलड्ने घोषणा गरेपछि माओवादी वृत्तमा बहस सुरु भएको छ।

यसअघि चुनावकै लागि माओवादीसँग बाबुरामले सहकार्य गरेको भन्दै आलोचना हुने गरेको थियो। माओवादी केन्द्रका एक पदाधिकारीले चुनावको टिकट प्रचण्डको निर्णयमा भर पर्ने भएकाले मानुषीलाई गोरखाबाट गठबन्धनको साझा उम्मेदवार बनाउने सम्भावना रहेको बताए।

'माओवादीमा आफू आफू नपाए श्रीमतीलाई उम्मेदवार बनाउने चलिरहेको छ। बाबुरामजी पनि त्यसमा अछुत हुनुहुन्न नि। अब उहाँले पनि श्रीमती र छोरीका लागि होला,' उनले भने। भट्टराई आफैंले चुनाव नलडुनलाई त्यति ठुलो रुपमा लिन नहुने तर्क गरेका छन्। 'चुनावदेखि चुनाव सम्म' भन्दा समाज रुपान्तरण महत्वपूर्ण भएको भट्टराईको टिप्पणी छ। 'सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनता/समाजको सेवा गर्ने साधन हो,' भट्टराईको भनाइ छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell