PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

अरुलाई दशैंको रौनकै रौनक, निर्वाचन आयोगलाई चटारो चुनावको : कसरी भइरहेको छ चाडमा काम?



प्रकाश भण्डारी

अरुलाई दशैंको रौनकै रौनक, निर्वाचन आयोगलाई चटारो चुनावको : कसरी भइरहेको छ चाडमा काम?

काठमाडौं : मुलकभर दशैंको रौनक छ। निजीदेखि सरकारी कार्यालयसम्म बन्द छन्। कर्मचारी लामो बिदामा। थोरै नै सही केही मानिसहरु छन् जो पर्वको माहोलमा पनि दिनरात काममै व्यस्त छन्। अरु समय दशैंको बिदामा मस्त हुन पाउने निर्वाचन आयोगका कर्मचारीलाई भने यसपाला भने कामको भ्याइनभ्याइ छ। 

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सफल रुपमा सम्पन्न गर्ने जिम्मेवारीले आयोग दशैंमा पनि खुल्लै छ। काठमाडौंमा रहेको केन्द्रीय कार्यालयमा निर्वाचन कार्यक्रम अनुसार धमाधम काम भइरहेको छ। चुनावको चटारो त नेतालाई पनि छ। आफ्नो पक्षमा माहोल बनाउनुपर्ने वाध्यता भए पनि मतदाता पर्वमा मस्त छन्। त्यसैले उनीहरुको गतिविधि निस्तेज छ। त्यसैले राजनीतिक दलका नेताले आफ्ना गतिविधिलाई कटौती गरेका छन्।  अर्कोतिर घरबाट टाढा रहेकाहरु पनि दशैंमा घर आइपुगेकाले यही बेला आफ्नो प्रचारलाई व्यापक बनाउने अवसर पनि छ।  

पर्वहरुको लहरो पनि लामै छ। दशैं पछि तिहार अनि छठ। सँगै नेपाल सम्वत। मतदानका लागि सोमवारबाट गन्ती गर्दा डेढ महिना (४८) दिन बाँकी छ। सरकारले साउन १९ गते मंसिर ४ गतेका निर्वाचनको समय तोकेको हो। चुनावको मिति तोकिएसँगै आयोगले आफ्ना तयारी तीब्र रुपमा भइरहेको जनाएको छ। 

दशैंको बेला कसरी भइरहेको छ काम? 

दशैंमा निर्वाचन आयोगले आफ्ना गतिविधिलाई निरन्तरता दिएको भए पनि अरु बेलाको जस्तो कामको चापमा भने छैन। बिहानदेखि अबेर साँझसम्म आयोगका सबै कर्मचारीले भने काम गरिरहेका छैनन्। तर, निर्वाचनको तयारीसँग सम्बन्धित काम भने रोकिएको छैन। निर्वाचन तयारीका लागि आवश्यक नपर्ने जनशक्तिलाई आयोगले अनिवार्य उपस्थिति हुन नपर्ने व्यवस्था गरेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुनै पनि कामहरु नरोकिने बताए।

‘दशैं हो ८ बजेदेखि ८ बजेसम्म भन्ने छैन। तर कुनै पनि अफिसियल काम रोकिदैँन,’ पौडेल भने। दशैंका बेलामा पनि निर्वाचनका लागि आवश्यक पर्ने सामाग्रीहरुको खरीद तथा ढुवानीको काम पनि जारी रहेको आयोगले जनाएको छ। 

उनले दैनिक ४/५ घण्टा दशैंका मुख्य दिनमा पनि काम भइरहेको बताए।

‘अलिकति थोरै काम हुन्छ यी दुई तीन दिनमा। अरुबेला चाडबाड मान्ने र दिउँसो ४/५ घण्टा आफ्नो कामहरु सक्नेगरी मिलाएका छौं,’ पौडेलले भने। आयोगको कार्यतालिका अनुसार प्रत्यक्ष तर्फको प्रदेश तथा प्रतिनिधिसभाको उम्मेदवारी मनोनयन असोज २३ गतेका लागि तोकिएको छ। हाल समानुपातिक निर्वाचन प्रणालीतर्फका काम भइरहेका छन्। आयोगले असोज २ र ३ गते दलहरुलाई समानुपातिक तर्फको बन्दसूची बुझाउने समय तोकेको थियो। 

असोज ४ देखि ९ गते सम्म बन्दसूचीमाथि छानविनको समय थियो। असोज १० देखि १६ गतेसम्म दलहरुलाई सूची संशोधनको समय आयोगले दिएको थियो। आयोगमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले संशोधन सहितको सूची बुझाएका थिए। १७ गते बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिन चाहे उम्मेदवारले निवेदन दिने समय तोकिएको छ भने २० देखि २२ गते सम्म रिक्त रहेको ठाउँमा अर्को उम्मेदवारको नाम दलहरुले पेश गर्न सक्नेछन्। आयोगले आइतवार प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारले चुनावमा गर्न पाउने खर्चको सीमा तोकेको थियो।  

‘चाडपर्व निर्वाचानमय बनुन्’

आयोगले यस वर्षको पर्व निर्वाचनमय बनाउन राजनीतिक दल र मतदाताका लागि आग्रह गरेको छ। प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्वलाई पनि चुनावमय बनाउन आग्रह गरेका छन्। सोमवार शुभाकामना दिँदै जारी गरिएको थपलियाको भिडियो सन्देशमा निर्वाचन स्वच्छ बनाउनुपर्ने उल्लेख छ।

‘हाम्रा यी चाडपर्वहरु यस वर्ष निर्वाचनमय हुन सकुन्। स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवम् विश्वसनीय निर्वाचनको आधार तयार गर्न सफल बनुन्,’ थपलियाले भनेका छन्।

दलहरुले पनि चुनाव नजिकिएसँगै आफ्ना गतिविधिलाई तीब्र पारेकोमा दशैंमा भने गाउँकेन्द्रित गरेका छन्। दशैं सकिएलगतै को उम्मेदवार बन्यो भन्ने थाहा हुनेछ, २३ गतेको मनोनयनपछि। दलहरुभित्र उम्मेदवार टुंग्याउन पनि सकस देखिएको छ। ठूला दलहरुमा उम्मेदवारीको विषयलाई लिएर असन्तुष्ट नेताहरुले पार्टी छोडने क्रमलाई पनि तीव्र बनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell