PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दशैं विदामा पोखरा घुम्दै हुनुहुन्छ? माछापुच्छ्रेको अदभुत दृश्य देखिने यो समयमा कहाँ कहाँ घुम्न सकिन्छ?



रिना थापा

दशैं विदामा पोखरा घुम्दै हुनुहुन्छ? माछापुच्छ्रेको अदभुत दृश्य देखिने यो समयमा कहाँ कहाँ घुम्न सकिन्छ?

पोखरा : माछापुच्छ्रेले बादलको घुम्टो उघार्ने याम हो यतिबेला। माछापुच्छ्रेको अदभुत दृश्य हेर्ने सही समय हो यो। खुलेको हिमाल र फेवातालको मनोरम दृश्य हेर्नका लागि दशैं बिदा सही मौका बन्न सक्छ। तर, तपाईँलाई थाहा छ पोखरामा घुम्नका लागि फेवाताल बाहेक अन्य गन्तव्य के छन्? प्राय पोखरा घुम्न आउने पर्यटकको भ्रमणको पहिलो गन्तव्य बन्छ फेवाताल। त्यो बाहेक घुम्ने स्थान अन्य पनि छन् जहाँ तपाईँले आफनो दशैं बिदा रोमान्चकपूर्ण तरिकाले बिताउन सक्नुहुन्छ। प्रकृतिसँगको समयसँगै साहसिक गतिविधिमा संलग्न भएर तपाईँले आफनो दशैं बिदा पोखराका यी ठाउँमा यादगार बनाउन सक्नुहुन्छ।

सात तालको बाटिका शहर

तालै तालको शहर भनेर चिनिन्छ पोखरा। तर, धेरै रोजाइमा भने फेवाताल नै हो। फेवामा डुंगा सयर र ताल बाराही मन्दिर दर्शनका लागि पनि पर्यटकको पहिलो रोजाइमा पर्छ फेवा। ड्यामसाइडबाट फेवातालमा देखिने माछापुच्छ्रेको छायाँले कसको मन नलोभ्याओस्? यदि, तपाईँ खुलेको हिमालको दृश्य हेर्न लालायित हुनुहुन्छ भने हिमाल हेर्ने सही समय भने बिहानको हुनेछ।

फेवा बाहेक पनि मन लोभ्याउन सक्ने ताल छन्, बेगनास र रुपा। सबै ताल घुम्नका लागि तपाईँले एकदिनको समय छुट्याउन सकियो भने त्यो पर्याप्त बन्छ। लेकसाइडबाट बेगनास लगायत बाँकी ताल पोखराको पूर्वी भेगमा पर्छन्। जहाँ पुग्न तपाईँलाई करिब आधा घण्टा बढीको समय लाग्नेछ। बेगनास तालबाट हिमश्रृंखलाको उत्कृष्ट दृश्य हेर्न सकिन्छ। यस्तै बेगनास तालको माझीकुना र रुपातालमा माछाको स्वाद लिन पुगे नयाँ अनुभव गर्न सकिन्छ। यी ठुला ताल बाहेक पोखरामा दिपाङ ,खाष्टे, मैदी,न्यूरेनी, गुदे ताल पनि छन् घुम्नका लागि।

डेभिस फल्स र चार गुफा

पोखरा आउने पर्यटकको अर्को गन्तव्य हो पाताले छाँगो (डेभिस फल)  र गुफाहरु। खोँचबाट पानी बगेको दृश्य हेर्न मन छ भने डेभिस फल र गुप्तेश्वर महादेव गुफा अर्को उत्कृष्ट गन्तव्य हो। फेवाबाट बगेर आएको पानी फुस्रे खोलामा मिसिन्छ। बग्दै आएको पानीको दृश्य हेर्न स्थान हो पोखरा १७ मा रहेको खोँच अर्थात पाताले छाँगो। नजिकबाट खोँचको दृश्य लिन चाहनुहुन्छ भने अर्को उचित गन्तव्य बन्न सक्छ गुप्तेश्वर महादेव गुफा। डेभिस फल्सको ठ्याक्कै अगाडि छ महादेव गुफा। सो गुफाबाट नजिकैबाट खोँच हेर्न सकिन्छ।

यो बाहेक पोखरामा घुम्नका लागि महेन्द्र गुफा, चमेरे गुफा, हरिहर सन्यासी गुफा लगायतका गुफा छन्। गुप्तेश्वर, चमेरे र महेन्द्र गुफा पर्यटकका गन्तव्यमा पर्छन्। लेकसाइडबाट उत्तरपूर्व पोखरा १६ मा रहेको चमेरो गुफा र महेन्द्र गुफाको आफनै विशेषता छन्। महेन्द्र गुफामा तपाईँले विभिन्न आकृतिका दृश्य देख्न सक्नुहुन्छ भने चमेरो गुफामा चमेरा।

शान्ति स्तूप 

पोखरा शहर र फेवातालको रहरलाग्दो दृश्य हेर्नका लागि उत्तम गन्तव्य हो विश्व शान्ति स्तूप। लेकसाइडबाट ६ किलोमिटरको दूरिमा रहेको स्तूप पोखरा आउने पर्यटकको अर्को प्रमुख गन्तव्य हो। जहाँबाट पोखरा शहर, हिमश्रृंखला, फेवातालको मन लोभ्याउने दृश्य देखिन्छ।

तस्विर : रासस

पुम्दिकोट

शान्ति स्तूपबाट केही माथि छ पुम्दिकोट। नयाँ गन्तव्य रहेको पुम्दिकोट डाँडाले छोटो समयमा पर्यटकलाई लोभ्याउन सफल भएको छ। यसको विशेषता भनेको डाँडामा रहेको शिवमूर्ति हो। ५१ फिट अग्लो मूर्ति हेर्न भारतीय पर्यटकको प्रमुख रोजाइमा पर्छ यो गन्तव्य।

धार्मिक हिसाबले मात्र होइन यहाँ बाट प्रकृतिको अद्भुत आनन्द पनि लिन सकिन्छ। रहरलाग्दो पोखरा शहर, सराङकोट डाँडा, फेवा र फेवाको मुहानसँगै अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको दृश्य।

यात्रा रोमान्चक बनाउन मन छ भने रानी वनको बाटो हाइकिङ गर्दै पुग्न सकिन्छ।

काहुँडाँडा र सराङ्कोट

सूर्य उदय र मनोरम हिमालको दृश्य हेर्ने उत्कृष्ट गन्तव्य हो सराङ्कोट। लेकसाइडबाट सवारीसाधन आाधा घण्टा र हिँडेर डेढ घण्टामा पुग्न सकिन्छ सराङकोट डाँडा। केबलकारबाट पनि सराङ्कोट पुग्न सकिन्छ। यस्तै पछिल्लो समय काहुँडाँडा पनि पर्यटकको रोजाइमा परेको छ। पोखरेली टहलिन पुग्न काहुँडाँडाबाट पनि हिमालको उत्कृष्ट दृश्य हेर्न सकिने छ। दशैंको समयमा काहुाँडाँडामा राखेको लिङ्गे पिङ र रोटे पिङको मज्जा पनि लिन सकिनेछ।

यी स्थानमा घुम्दा याद गर्नुपर्ने कुरामा भने हिमालको दृश्य हेर्न बिहानको समय सही हुनेछ। झिलिमिलि पोखरा हेर्नका लागि पनि यी दुबै स्थान राम्रो छ।

हाइकिङ

पोखराको बसाइँ रोमान्चक बनाउन चाहानुहुन्छ भने हाइकिङमा पनि जान सकिन्छ। पोखरामा रहेका ताल, डाँडाकाँडा उक्लिदै तालको दृश्य रमणिय बन्न सक्छ। हाइकिङ गर्न रुचाउनेका लागि पोखरामा हाइकको दर्जन बढी रुट छन्। तर, त्यसमध्ये तपाईँलाई सहज र रमणिय रुट सराङकोट–कास्कीकोट–नौडाँडा हुनेछ। जहाँबाट पोखरा र फेवाताल देख्न सकिनेछ। यो बाहेक पोखरा–कालिका–रोयल हाइकिङ रुट पनि छ। बेगनास ताल र रुपा तालको सेरोफेरोमा पर्ने यो रुटको पनि आफनै विशेषता छ।

यस्तै शान्ति स्तूप र पुम्दिकोट पनि हाइकिङ गर्दै जान सकिन्छ। फेवातालमा डुंगा सयर गरेर तपाईँ सुरुवातमा तालपारी रहेको रानीवन पुग्न पर्ने हुन्छ। रानीवनको जंगल हुँदै हाइकिङ गरेर शान्ति स्तूप र पुम्दिकोट पुग्न सकिनेछ।

प्याराग्लाइडिङ

पोखरा आएर अनुभव गर्न छुटाउन नहुने साहसिक अनुभव हो प्याराग्लाइडिङ। साहसिक गतिविधिका लागि पोखराको प्याराग्लाइडिङ अनुभव रोमान्चक बन्नसक्छ। 

सराङकोट डाँडाबाट उडान भरेर तल देखिने फेवातालको दृश्य रमणिय बन्न सक्छ। २० मिनेटदेखि आधा घण्टा, एक घण्टासम्म  आकाशमा कावा खाँदै उड्नका लागि भने तपाईँले ६ देखि ८ हजार खर्च गर्नुपर्ने हुन्छ।

बञ्जी र क्यानोनिङ

प्याराग्लाइडिङ बाहेक अर्को साहसिक अनुभव छ बञ्जी, जिपलाइन, क्यानोनिङ र अल्ट्रालाइट। सराङ्कोटको डाँडाबाट जीपलाइन गरेर बञ्जी हान्ने स्थान हेम्जा पुग्न सकिन्छ। पाँच हजारमा जीपलाइनको मज्जा लिन सकिने छ।

बञ्जी मात्र गर्न रुचाउने पर्यटक सिधैँ पोखरा २५ हेम्जा पुग्न सकिन्छ। पोखरामा बञ्जीका लागि दुई कम्पनी छन्। ६ देखि ७ हजार रुपैँयमा  पर्यटकले बञ्जीको अनुभव लिन सक्नेछन्। कोही पर्यटकलाई हेम्जा पुग्न अपाय वा असहज लागे पोखराकै घारीपाटन पुग्न सकिन्छ। गो बञ्जीबाट बञ्जी गर्ने पर्यटकले सेती खोलाको सुसाहाट महसुस गर्न सक्नेछन्।

बञ्जी, जिपलाइन, क्यानोनिङ र अल्ट्रालाइट जस्ता साहसिक गतिविधि पोखरा भित्रै अनुभव गर्न सक्ने  भएता पनि क्योनिङका लागि भने पर्यटकले थोरै दूरीको यात्रा तय गर्नुपर्ने हुन्छ। कास्कीकै माछापुच्छ्रे गाउँपालिका वडा ८ मा रहेको क्यानोनिङ गर्न पोखराबाट एक घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ। क्योनिङ गरेर पोखरा फर्किन थाक्ने अवस्थामा भए बसाइँको लागि सुविधा भएको स्थान छ त्यहाँ। प्याकेजमा गएका पर्यटकले २५ सय देखि पाँच हजारसम्ममा क्योनिङको मज्जा लिन सक्नेछन्।

साइक्लिङ

साहसिक गतिविधि नरुचाउनेका लागि राम्रो उपाय हुनसक्छ साइक्लिङ। साइकलमा नै तपाईँले पोखरा र पोखरा आसपासका क्षेत्रको मनोरम दृश्य हेर्न सक्नुहुनेछ। साइक्लिङका लागि पोखरामा चर्चित रुट हो लेकसाइडदेखि पामे क्षेत्र। पामे क्षेत्र माछाका परिकारका लागि पनि प्रख्यात छ।

प्याराग्लाइडिङ गर्न नचाहे पनि हेर्न चाहाने पर्यटकले पामेबाट ल्याण्डिङ हेर्न पनि सक्छन्। पर्यटकको रोजाइमा परेसँगै यो रुटको बाटोलाई पक्की बनाइएको छ। त्यस्तै लामो रुटमा साइक्लिङ जान चाहाने पर्यटकको लागि लेकसाइडदेखि बेगनास वा रुपातालपनि अर्को गन्तव्य बन्न सक्छ। यसका लागि हाइवेको बाटो हुँदै यात्रा तय गर्नुपर्ने हुन्छ। त्यो बाहेक तपाईले पोखराका बजार क्षेत्रमात्र पनि घुम्न सकिन्छ।

पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगा, महेन्द्रपुल, न्युरोड अर्को पुग्नै पर्ने गन्तव्य हो। दशैंको छेकोमा सवारी चाप यहाँ न्युन हुनेछ। यो यात्राका क्रममा सिद्रार्थचोकबाट माथि पुरानो पोखरा बजारको इतिहासलाई बुझन सकिन्छ। पुरानो शैलीमा बनेको घरले पोखराको इतिहास झल्काउँछ।

संग्रहालय

सामाजिक र  साँस्कृतिक रहन सहन र भेषभूषाबारे जान्न इच्छुकका लागि पनि पोखरामा घुम्ने स्थान छन्। अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय र प्रदेश संग्रहालय राम्रो गन्तव्य बन्न सक्छ।

पोखरा १७ मा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा विश्वको अग्ला पर्वतहरु तथा त्यसमा आरोहण गर्ने आरोहीहरुको ऐतिहासिक साम्रागी र तथ्यहरु छन्। यस्तै गण्डकी क्षेत्रमा रहनेको संस्कार, संस्कृतिबारे बुझाउने साम्रागी पनि देख्न सकिन्छ।

सैनिकबारे जान्न इच्छुक भए गोर्खा मेमोरियल अर्को गन्तव्य बन्न सक्छ। पोखरा १६ मा रहेको गोर्खा मेमोरियल म्यूजियम गोर्खा सैनिकको इतिहास देखाउँछ। जहाँ गोर्खाली सेनाहरुले प्रयोग गरेका विविध वस्तुहरु उनीहरुले प्राप्त गरेका उपलब्धिहरु पनि देख्न सकिनेछ।

त्यो बाहेक पृथ्वीनारायण क्याम्पसभित्र रहेको अन्नपूर्ण संग्रहालय पनि अर्को घुम्ने स्थान बन्न सक्छ पुतली संकलनमा नेपालकै पहिलो रहेको संग्रहालयमा ५ सयभन्दा बढी किसिमका पुतलीका प्रजाति छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell