
काठमाडौं : सत्ता गठबन्धनको बालुवाटारमा बसेको मंगलवारको बैठक पनि निष्कर्षविहीन भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि टिकट बाँडफाँटको टुंगो लगाउन मंगलवार पनि बैठक बसेको थियो। आजको बैठकले अन्तिम सहमति गर्ने तयारी गरेको भए पनि निचोडमा नपुगेको नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए। 'अन्तिम सहमतिमा पुगेको छैन। छलफलहरु भएका छन्,' गुरुङले भने। अर्को बैठक भोलि बस्ने र उक्त बैठकले सहमतिको टुंगो लगाउने गुरुङले बताए।
बालुवाटारमा गठबन्धनको बैठक बस्नुअघि नेताहरुबिच अनौपचारिक रुपमा छलफल भएको थियो। यसअघि बिहीवारको बैठकमा नेपाली कांग्रेसका नेता तथा टिकट बाँडफाँट कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले भागण्बण्डाको प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा)ले असन्तुष्टि जनाएपछि गठबन्धनका नेताहरु पछिल्लो समय जसपालाई मनाउने प्रयासमा छन्। जसपाले कार्यकारिणी बैठकबाट गठबन्धन बाहिरका दलहरुसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको छ। सिटौलाले कांग्रेसलाई ८५-८७, माओवादी केन्द्रलाई ४५-५०, एकीकृत समाजवादीलाई १७, जसपालाई १५ र जनमोर्चालाई २ सिट दिने प्रस्ताव गरेका थिए। संघको टिकटमा भन्दा पनि प्रदेशको टिकटका लागि गठबन्धनमा सहमति हुन नसकेको नेताहरुले बताएका छन्। जसपाले मधेश प्रदेशमा फेरि पनि आफ्नै पार्टीको नेतृत्वको सरकार बन्नुपर्ने अडान लिएपछि गठबन्धनमा तिक्तता देखिएको हो।
निर्वाचन आयोगले असोज २३ गते मनोनयनका लागि समय तोकेको छ। त्यसअघि नै सहमतिको खाका बनाउन गठबन्धन जुटिरहेको भए पनि सफल भने हुन सकिरहेको छैन। सिट बाँडफाँटका लागि साउन २० गते नै ११ सदस्यीय कार्यदल गठन भएको थियो। उक्त कार्यदलले लगातार गृर्हकार्य गरिहरेको भए पनि टुंगोमा भने पुग्न सकिरहेको छैन।