PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टिकट बाँडफाँट टुङ्ग्याउन गठबन्धनसँग छैन धेरै समय : टीका लगाउनसाथ जुटे छलफलमा, आजै होला त सहमति?



पहिलोपोस्ट

टिकट बाँडफाँट टुङ्ग्याउन गठबन्धनसँग छैन धेरै समय : टीका लगाउनसाथ जुटे छलफलमा, आजै होला त सहमति?

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रदेश तथा प्रतिनिधि सभाको टिकट बाँफाँटका लागि प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा छलफल भइरहेको हो। मंसिर ४ गते हुने चुनावको टिकटको भागबण्डाका लागि साउन २० गते कार्यदल गठन गरेर गठबन्धनले लगातार छलफल गरिरहेको भए पनि हालसम्म टुंगोमा पुग्न सकेको छैन। आज दसैँको टीकाको दिन भए पनि अपरान्हपछि नेताहरु छलफलमा जुटेका हुन्। 

आजको बैठकबाटैं टुंग्याउने गरि छलफल भइरहेको नेताहरुले बताएका छन्। शीर्ष नेताका बिचमा छुट्टाछुट्टै छलफल पनि भइरहेको जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए। 'छलफल भइरहेको छ। बेलाबेला छुट्टाछुट्टै छलफलहरु पनि भइरहेका छन्,' उनले भने। 

मंगलबार पनि टिकट बाँडफाँटका विषयमा छलफल भएको थियो। निर्णायक हुने भनिएको छलफल टुंगोमा नपुगेरै उक्त बैठक सकिएको थियो। जसपाले भागबन्डाका विषयमा असन्तुष्टि जनाएर गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको छ। गठबन्धनले १६५ प्रतिनिधि सभाको र ३३० प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँड्नुपर्ने छ। गत बिहीबार कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले भागबण्डाको प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि सहमति हुन नसकेको हो। शीर्ष नेताहरुका बिचमा सहमति गरेर निचोडमा पुग्ने गठबन्धनले तयारी गरिरहेको छ। 

निर्वाचन आयोगले असोज २३ गते मनोनयनका लागि समय तोकेको छ। त्यसअघि नै सहमतिको खाका तयार पार्ने गृहकार्यमा गठबन्धन लागेको हो। गठबन्धनसँग अब गृहकार्यका लागि ४ दिन बाँकी छ। त्यसअघि नै सहमति गर्नुपर्नेे भएपछि गठबन्धनका नेताहरु दबावमा परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell