PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सहमतिका लागि बालुवाटारमा गठबन्धन दलकाे छुट्टाछुट्टै बैठक, निर्णायक भनिएकै छलफल पुग्न सकेन निष्कर्षमा



प्रकाश भण्डारी

सहमतिका लागि बालुवाटारमा गठबन्धन दलकाे छुट्टाछुट्टै बैठक, निर्णायक भनिएकै छलफल पुग्न सकेन निष्कर्षमा

काठमाडौं : सत्ता गठबन्धनको बुधवारको बैठक पनि निर्णयविहीन भएको छ। मंगलबारकै बैठक निर्णायक भएको भन्दै छलफलमा जुटेको गठबन्धनको बुधवारको बैठक पनि निचोडमा नपुगेरै सकिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा दलहरुका बिचमा छुट्टाछुट्टै छलफल समेत भएको थियो। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबिच छुट्टै छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

आजको बैठकमा पुरानै अडानहरु दोहोरिँदा सहमति हुन नसकेको जनता समाजवादी पार्टीका प्रवक्ता मनिसकुमार सुमनले जानकारी दिए। 'पुरानै कुराहरु भएको छ। आजको बैठकमा छुट्टाछुट्टै छलफलहरु पनि भए,' उनले भने।

गठबन्धनले अर्को बैठक बिहीवार बिहान ९ बजेका लागि बोलाएको छ। भोलीको बैठकमा सहमति जुट्ने सम्भावना रहेको सुमनको भनाइ छ। 

जसपाले भागबन्डाका विषयमा असन्तुष्टि जनाएर गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको छ।

गठबन्धनले १६५ प्रतिनिधि सभाको र ३३० प्रदेश सभाको प्रत्यक्षतर्फको सिट बाँडनुपर्नेछ। गत बिहीबार कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले भागबन्डाको प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि सहमति हुन नसकेको हो। शीर्ष नेताहरुका बिचमा सहमति गरेर निचोडमा पुग्ने गठबन्धनले तयारी गरिरहेको छ। 

सिटौलालले कांग्रेसलाई ८५-८७, माओवादी केन्द्रलाई ४५ देखि ५०, एकीकृत समाजवादीलाई १७, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने प्रस्ताव गरेका थिए। उक्त प्रस्तवमा केहि सिट हेरफेर गरेर भए पनि गठबन्धन दलका नेताहरु सहमतिका लागि गृहकार्य गरिरहेका छन्। 

साउन २० गते नै ११ सदस्यीय कार्यदल गठन गरेर गठबन्धनले सहमतिका लागि प्रयास गरिरहेको छ। तर, निर्वाचन आयोगले तोकेको मनोनयनको दिन असोज २३ गते आउन ४ दिन मात्रै बाँकी रहँदा पनि गठबन्धनमा सहमति जुटेको छैन। सहमति नजुटेपछि गठबन्धनका नेताहरुले बालुवाटारमा हुने छलफललाई तिब्रता दिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell