PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

काठमाडौं उपत्यकामा वर्षा जारी, देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान, यी क्षेत्रमा बाढीको अलर्ट



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा वर्षा जारी, देशका विभिन्न स्थानमा भारी वर्षाको पूर्वानुमान, यी क्षेत्रमा बाढीको अलर्ट

काठमाडौं : गाउँगाउँ पुगेकाहरु दसैं मनाएर सहर फर्कने क्रम शुरु भएको छ। टीका ग्रहणका लागि विभिन्न स्थान पुग्ने क्रम पनि जारी छ। यद्यपि निरन्तर झरीका कारण आउजाउमा भने समस्या देखिएको छ।

यसपटक दसैं अवधिभर दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेकोले नेपालभर वर्षा जारी रह्यो। आज बिहीवार बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।

'हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ,' महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ।

बिहीवार दिनभरको मौसम कस्तो रहला?

आज दिउँसो प्रदेश १, मधेश प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका विभिन्न स्थानमा धेरै भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाको पूर्वानुमान छ। 'वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' मौसम बुलेटिनमा भनिएको छ, 'सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही गण्डकी प्रदेशका थोरै, वाग्मती प्रदेश, मधेश प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।'

राति केही स्थानमा मौसम सुध्रिने देखिएको छ। यद्यपि सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनि प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पूर्वानुमान छ। 'राति गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' बुलेटिनमा भनिएको छ, 'साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।'

यी क्षेत्रमा बाढीको अलर्ट

वर्षा जारी रहेकोले विभिन्न क्षेत्रमा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 'शभर विगत ३ घण्टामा लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित वर्षा भईरहेको छ। आज दिउँसो पनि देशका विभिन्न स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आफ्नो ठाउँको मौसम हेरेर मात्र कार्य गर्नुहोला,' बाढी पूर्वानुमान महाशाखाले भनेको छ।

नारायणी देवघाटामा नदीले सतर्कता पार गरेकोले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ। 'असोज २० बिहान ६ :२० बजे नारायणी देवघाटमा बिहान ६ :२० बजे सतर्कता पार गरेको छ र जलसतह थप बढ्ने। आज साँझ सम्म तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध।'

यसैगरी चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची, दाङ र गण्डकी प्रदेशका साना नदीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशाखाले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell