PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सन्दीप लामिछाने आज नेपाल फर्किँदै, अवतरणको पर्खाईमा प्रहरी



पहिलोपोस्ट

सन्दीप लामिछाने आज नेपाल फर्किँदै, अवतरणको पर्खाईमा प्रहरी

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेट खेलाडी सन्दीप लामिछाने बिहीवार नेपाल आइपुग्ने भएका छन्। लामिछाने बिहान १० बजे काठमाडौं उत्रने बताइएको छ। उनीविरुद्ध प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका हुन्।

'ठुलो आशा र हिम्मतका साथ, अक्टोबर ६ मा म नेपाल पुग्ने पक्का भएको जानकारी गराउँदछु। अनि म विरुद्ध लागेको झुटो मुद्दाको कानुनी लडाई लड्नेछु,' लामिछानेले फेसबुकमा लेखेका छन्।

उनी कतार एअरवेज हुँदै नेपाल फर्कँदैछन्। त्यसो त उनी नेपाल नफर्किए पनि 'डिफ्युजन नोटिस' जारी भएपछि इन्टरपोलमा आबद्ध देशका प्रहरीले लामिछानेसँग सम्पर्क भएको खण्डमा नेपाल प्रहरीलाई जानकारी दिनेछन्। त्यसपछि नेपाल प्रहरीले उनलाई प्रक्रिया पुर्‍याएर नेपाल ल्याउने छ। तर उनैले नेपाल फर्किने जानकारी दिएपछि अब प्रहरी लामिछानेको पर्खाईमा छ।

त्यसो त नेपाल फर्किने मिति तय गर्नुभन्दा पाँच दिनअघि मात्र उनले आफूलाई तनावका कारण आइसोलेसनमा राखेको बताएका थिए।

'म विरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विक्षिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन। यी सबै कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,' उनले भनेका थिए।

एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।

धेरैलाई चासोको विषय बनेको छ- सन्दीप नेपाल फर्किएपछि के गर्छ प्रहरीले?

सन्दीपविरुद्ध प्रहरीले जिल्ला अदालतबाट पक्राउ पूर्जीसमेत जारी गरेको छ। त्यही आधारमा प्रहरीले आफ्ना निकायहरूमा जहाँ देखे पनि पक्राउ गर्नु भन्ने परिपत्रसमेत गरेको छ। विदेशमा भएकाले विदेशबाट फर्कने बित्तिकै विमानस्थलबाट पक्राउ गर्न विमानस्थल प्रहरीलाई समेत पत्राचार भइसकेको छ। जसको आधारमा अध्यागमन विभागले सन्दीपको राहदानी नम्बरसहित आफ्नो सुचीको ब्ल्याक लिस्टमा चढाएको छ। उनी विमानस्थलमा अवतरण भएर अध्यागमनमा पुग्ने बित्तिकै उनलाई अध्यागमनले प्रहरीको जिम्मा लगाउने छ। त्यसपछि विमानस्थल प्रहरीले उनलाई त्यहीबाट नियन्त्रणमा लिने छ।

विमानस्थल प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाउने छ। भदौ १२ गते उजुरी महानगरीय प्रहरी वृत्त गौशालामा परेको थियो। घटनास्थल पनि गौशाला वृत्तकै क्षेत्रमा पर्ने भएकाले अनुसन्धान पनि गौशाला प्रहरीले गर्ने छ। त्यसैले सन्दीपलाई गौशाला वृत्तमा नियन्त्रणमा राखिनेछ। सुरक्षा, संवेदनशीलताको आधारमा अन्य वृत्तमा पनि प्रहरीले राख्न सक्छ। काठमाडौं प्रहरी परिसर अन्तर्गत मुद्दा चल्ने १४ वटा वृत्तमा हिरासत रहेका छन्।

'हामीले अहिले पनि अनुसन्धान गरिरहेका छौँ। बाँकी अनुसन्धान पनि कानुनी प्रक्रिया अन्तर्गत नै गर्ने छौँ,' काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले भने।

पक्राउ गरेको २५ दिनभित्र प्रहरीले सन्दीपको केस सरकारी वकिलमार्फत अदालतमा पुर्‍याउनुपर्ने हुन्छ। उजुरी अनुसार नै प्रमाण भेटिएको खण्डमा प्रहरीले आफ्नो रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गर्ने छ। प्रहरीको अनुसन्धान चित्त बुझेको खण्डमा मात्रै सरकारी वकिल कार्यालय मुद्दा अदालतमा टेकाउँछ। त्यसपछि अदालतमा बहसपछि लामिछानेलाई साधारण तारिकमा रिहा गर्ने, धरौटी माग गर्ने वा पुर्पक्षको लागि जेल चलान गर्ने एउटा आदेश अदालतले दिने छ।

साधारण तारिक बाहेक दुई वटा आदेश आएको खण्डमा लामिछाने पुनः खेल र कप्तानमा फर्किने सम्भावना शून्य भएर जानेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell