PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सडक अवरुद्ध, यात्रुलाई सास्ती



पहिलोपोस्ट

अविरल वर्षाका कारण ठाउँठाउँमा पहिरो : सडक अवरुद्ध, यात्रुलाई सास्ती

काठमाडौं : गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बढीको जोखिम कायमै छ। बाढीका कारण केही नदीहरुमा सतर्कता तह पार गरेको छ भने पहिरोका कारण सडक अवरुद्ध भएको छ।

बेनी जोमसोम सडक अवरुद्ध

पहिरोले राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकलगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन्। तीन दिनदेखिको अविरल वर्षाले दसैँको टीका लगाउन र आशीर्वाद लिन आफन्तकोमा जाने आउने सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। यातायातका साधन सञ्चालन हुन नसकेपछि पैदलै छाता र प्लाष्टिक ओडेर सर्वसाधारण टीका लगाउन आफन्तकोमा जाने आउने गरेका छन्।

वर्षाका कारण बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ भने बेनी–भकुण्डे, बेनी–पाखापानी, बेनी–दरबाङ, बेनी–पुलाचौरलगायत दर्जन बढी सडक बाढी र पहिराका कारण अवरुद्ध भएका सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिले बताएका छन्। कतिपय स्थानमा सडक भासिएको छ।

दसैँको दुईदिन अघिदेखि भइरहेको अविरल वर्षा नरोकिँदा दसैँ खल्लो भएको छ भने म्याग्दी र कालीगण्डकी नदीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दाले सतर्कता अपनाएका छन्। खहरे र ग्रामीण क्षेत्रका खोलामा बाढी आएको छ। ठाउँठाउँमा पहिरो जाँदा पदमार्गसमेत अवरुद्ध भएपछि ग्रामीण क्षेत्रका बासिन्दाले सास्ती खेप्न बाध्य हुनुपरेको बेनी नगरपालिका ३ का सोमबहादुर पुनले बताए

त्यसैगरी राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनका अनुसार  म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भिर, जलथले,  गुइठे भिर, रुप्से झरना र काभ्रेभिरलगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको छ।
सडक अवरुद्ध भएपछि बेनीबाट मुस्ताङ तथा उत्तरी म्याग्दीमा जाने यात्रु तथा सर्वसाधारण बेनीमा र मुस्ताङबाट बेनी फर्कने व्यक्ति मुस्ताङमा नै

रोकिन बाध्य भएका छन्। बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूरै हिलाम्मे भएको छ भने कतिपय स्थानमा सडक ध्वस्त भएको सुपरभाइजर शेरचनले जनाए। बेनी–जोमसोम सडक खण्डको शाखा नदीको बाहव उच्च हुँदा केही स्थानमा सडक पूरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्ने क्रम अझै रोकिएको छैन।

दसैँका बेलामा अविरल वर्षाले सडक अवरुद्ध हुँदा दसैँ पर्व मनाउन हिँडेका सर्वसाधारण तथा मुस्ताङ भ्रमण गर्न आएका पर्यटक बीच सडकमै अलपत्र परेको सडक कार्यालयका सुपरभाइजर शेरचनले बताए। यता बेनी–मालढुङ्गा–पोखरा सडक पनि बिचबिचमा अवरुद्ध भएको छ। पश्चिम म्याग्दीको दरबाङदेखि ग्रामीण भेगमा चल्ने सवारी साधन चल्न सकेका छैनन् भने खोला बढ्नुका साथै ठाउँ ठाउँमा पहिरो गएपछि मानिस पैदल हिँडेर गन्तव्यसम्म पुग्नसक्ने अवस्थासमेत नरहेको स्थानीयवासीले बताए।

मुग्लिङ नारायणगढ सडक दुईतर्फी अवरुद्ध

पहिरो खेसको कारण मुग्लिङ नारायणगढ सडक अवरुद्ध भएको छ।

आज बिहान सवा ८ बजे चितवन भरतपुर महानगरपालिका २९ मुग्लिङ नारायणगढ सडक खण्डको सत्र किलो भन्ने स्थानमा अविरल वर्षाको कारण माथिबाट लेदो सहितको पहिरो झरी दुवैतर्फ बाटो अवरोध भएको प्रहरीले जानकारी दिएको छ।

पहिरो पन्छाउन प्रहरीले र सडक विभागको टोलीसँग समन्वय गरिरहेको छ।

सिद्धार्थ राजमार्गको वालिङ - गल्याङखण्ड अवरुद्ध

सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ। आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ। अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन्। त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ। मङ्गलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादसैँमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई सास्ती भएको छ। जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दसैँ कष्टकर बनेको छ।

बेँसीसहर–चामे सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। बङ्गालको खाडीबाट उर्लिरहेको न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए।

अधिक वर्षा भएपछि यस सडकखण्डमा पहिराले क्षति पुर्‍याएपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको प्रजिआ आचार्यले जनाए।  'यस सडक खण्डअन्तर्गत खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा गर्न सक्ने अवस्था छैन', प्रजिअ आचार्यले भने, 'योसँगै अन्य स्थानमा पनि कति बेला माथिबाट पहिरो खस्छ भन्ने थाहा नभएकाले यात्रा गर्न जोखिम रहेको छ।'

पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकले यस विषम् परिस्थितिलाई ध्यानमा राखेर यात्रा नगर्नसमेत उनले आग्रह गरे।

प्रशासन कार्यालयले कसैले मनाङको अनुपम छटाले भरिपूर्ण प्रकृतिसँग रमाउनका लागि आफ्नो यात्रा तय गरेको भए सडक सञ्चालन भएको जानकारी लिएर मात्र योजना बनाउन पनि सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ।

गल्छी-त्रिशुली सडक पूर्ण रुपमा अवरुद्व
नुवाकोटको बेल्कोट्गढी ७ वुधसिंङ घाटमा पुनः पहिरो जाँदा  गल्छी-त्रिशुली सडक पूर्ण रुपमा अवरुद्व भएको छ। वैकल्पिक छत्रेखोला वाटो पनि पहिरोका कारण बन्द भएको छ। सडक अवरुद्ध भएपछि चाडपर्व मनाउन हिडेका यात्रुहरु अलपत्र परेका छन्।

एक साता अघि सुक्खा पहिरो गएर तीस घन्टापछि पहिरो पन्छाइ सडक उक्त सडक सञ्चालनमा आएको थियो। -राससको सहयोगमा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell