PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विमानस्थल प्रहरीले सन्दीपलाई नियन्त्रणमा लिएर गौशाला वृत्तलाई बुझायो, हतकडी रुमालले छोपेर लामिछाने गौशाला प्रहरीको हिरासतमा



सविन ढकाल

विमानस्थल प्रहरीले सन्दीपलाई नियन्त्रणमा लिएर गौशाला वृत्तलाई बुझायो, हतकडी रुमालले छोपेर लामिछाने गौशाला प्रहरीको हिरासतमा

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कतार एअरवेजको विमानबाट कतार हुँदै उनी आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। 

आज विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीलेल महानगरीय प्रहरी वृत गौशालालाई सन्दीप बुझाएको हो। अब गौशाला वृत्तले सन्दीपमाथि लागेको आरोपको थप अनुसन्धान गर्नेछ।

विमानस्थलबाटै हतकडी लगाएर सन्दीपलाई प्रहरीले बाहिर ल्याएको थियो। बाहिर ल्याएर भ्यानमा राख्दासम्म सन्दीपको हतकडी लगाएको हात रुमालले छोपिएको थियो।

प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए। सन्दीपले आफ्नो फेसबुक पेजमार्फत उक्त जानकारी दिएका थिए। उनी विरुद्ध भदौको तेस्रो साता एक नाबालिग किशोरीले करणी गरेको उजुरी दर्ता गराएकी थिइन्। एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न सुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए। त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए। रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटकपटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।

साधारण तारिकबाहेक दुई वटा आदेश आएको खण्डमा लामिछाने पुनः खेल र कप्तानमा फर्किने सम्भावना देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell