PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सिट बाँडफाँटका लागि ‘फाइनल’ भनिएको गठबन्धनको बैठक बालुवाटारमा जारी : मनोनयनका लागि ३ दिन मात्रै बाँकी



पहिलोपोस्ट

सिट बाँडफाँटका लागि ‘फाइनल’ भनिएको गठबन्धनको बैठक बालुवाटारमा जारी : मनोनयनका लागि ३ दिन मात्रै बाँकी

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका नेताहरु बिहीवार पनि बिहानैदेखि छलफलमा जुटेका छन्। मंगलवार र बुधवार लगातार बैठक बसेका पाँच दलीय गठबन्धनका नेताहरु बिहीवार पनि सहमतिका लागि गृहकार्यमा जुटेको हो।

बैठकले पाँच दलीय कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनमा छलफल गरी अन्तिमरुप दिने विश्वास गरिएको छ। निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि दैनिक बसिरहेको बैठकलाई निरन्तरता दिँदै आज पनि बैठक सुरु भएको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। 

बैठकमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायत शीर्ष नेतृत्व सहभागी रहेको बताइएको छ।

मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको टिकट बाँडफाँट गर्न सत्ता गठबन्धनलाई अहिले सकस परिरहेको छ। असोज २३ गतेको मनोनयनको दिन आउन ३ दिन मात्रै बाँकी रहेपछि गठबन्धनका नेताहरु लगातार प्रधानमन्त्री निवास बालुवाटारमा छफलमा जुटिरहेका छन्। आज पनि बिहानै देखि बालुवाटारमा औपचारिक तथा अनौपचारिक छलफल भइरहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)का प्रवक्ता मनिसकुमार सुमनले बताए।

'साइड साइडमा पनि छलफल भइरहेको छ। आजको बैठक निर्णायक हो,' उनले भने। यसअघि मंगलवार र बुधवारको बैठकलाई पनि निर्णायक भनिएको थियो। दुवै दिन गठबन्धनका नेताहरु अबेर रातिसम्म छलफलमा जुटेका थिए।

जसपाले गठबन्धनप्रति असन्तुष्टि जनाउँदै गठबन्धन भन्दा बाहिरका राजनीतिक दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको छ। उक्त निर्णयपछि सहमतिका लागि अरु दलहरु लचिलो बनेको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

गत बिहीवारको बैठकमा बाँडफाँट कार्यदलका संयोजक कृष्ण प्रसाद सिटौलाले नेपाली कांग्रेसलाई ८५-८७, माओवादी केन्द्रलाई ४५-५०, एकीकृत समाजवादीलाई १७, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले बिरोध जनाएका छन्। बुधवार राति भएको बैठकमा एकीकृत समाजवादी र कांग्रेसबिच छुट्टै छलफल पनि भएको थियो। प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० सिट बाँडफाँट गर्नुपर्ने छ। प्रतिनिधिसभामा भन्दा प्रदेसभामा टिकटको भागबन्डालाई लिएर गठबन्धनमा विवाद देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell