PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माओवादी नेता पराजुलीको विद्रोह : सिन्धुपाल्चोक क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा



पहिलोपोस्ट

माओवादी नेता पराजुलीको विद्रोह : सिन्धुपाल्चोक क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा

चौतारा : माओवादी नेता ध्रुव पराजुलीले सिन्धुपाल्चोक क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। जनयुद्धकालमा अग्नि सापकोटाकै तहका नेता पराजुलीले स्वतन्त्र उम्मेदवारीको घोषणा गर्दै जनतामा राजनीतिक बिसंगतीविरुद्धको भावना देखेकाले आफू मैदानमा उत्रेको बताएका छन्।

बिहीवार सामाजिक सञ्जालमार्फत पराजुलीले परिणाम जे भए पनि आफू मैदान नछाड्ने संकल्प गरेका छन्। 'आदरणीय दिदिबहिनी तथा दाजुभाइहरू, म मेरो ब्यक्तिगत रुचि, चाहना, महत्वाकाङ्क्षा वा स्वभावभन्दा नितान्त माथि उठेर देशको राजनीतिक बिसङ्गति अर्थात् कुशासनयुक्त यथास्थितिबिरूद्ध जनता बिद्रोहको मनस्थितिमा रहेको र आफूमा निहित मताधिकारमार्फत उपरोक्त भावनालाई अभिब्यक्त गर्न आतुर देखेर म आफू जनताको भावव्यक्तिको त्यो औजार बन्न सक्छु भने अवश्य बन्नुपर्छ, परिणाम चाहे जेसुकै किन नआओस्,' पराजुलीले भनेका छन्, 'हाललाई यही नै मेरो कर्तव्य हो ठानेर आगामी २०७९ मंसिर ४ गते हुन गैरहेको आम चुनावमा प्रतिनिधिसभातर्फ सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेद्वारी दर्ता गर्ने निष्कर्षमा पुगेको छु।'

पराजुली साँगचोक गाउँ विकास समितिमा २०४९ मा अध्यक्षमा निर्वाचित नेता हुन्। त्यसो त उनकी छोरी जानुका पराजुली चौतारा साँगाचोक गढीकी पूर्व उपमेयर हुन्। पराजुली जिल्लादेखि केन्द्रसम्म अग्नि सापकोटाको परिवार छाए पछि पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा दिएका बसेका थिए।

यसपटक भने प्रतिनिधि सभाको उम्मेदवारका आकंक्षी उनले पार्टीले अवसर नदिने देखेपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन्। माओवादी अहिले सरकारमा रहेको र गठबन्धनबाट यस क्षेत्रमा कसलाई भाग लाग्ने हो? अझै टुंगो लागिसकेको छैन। कतिपयले क्षेत्र नम्बर १ माओवादीलाई छाडेर क्षेत्र नम्बर २ कांग्रेसले पाउने दाबी गरिरहेका छन् भने कतिपयले कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतको अडानका कारण क्षेत्र १ कांग्रेसलाई छाडेर माओवादीलाई क्षेत्र २ दिने बताइरहेका छन्। यसबारे गठबन्धनको बैठकबाटमात्र टुंगो लाग्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell