PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

जसपाका नेता बालकोटबाट बालुवाटार नफर्किएपछि अलमलमा गठबन्धन, शुक्रवार बिहान सम्म पर्खिने नभए ४ दलको मात्रै भागबन्डा



प्रकाश भण्डारी

जसपाका नेता बालकोटबाट बालुवाटार नफर्किएपछि अलमलमा गठबन्धन, शुक्रवार बिहान सम्म पर्खिने नभए ४ दलको मात्रै भागबन्डा

काठमाडौं : सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले नेकपा (एमाले)सँग चुनावी तालेमल गर्ने गृहकार्य गरेपछि गठबन्धन अलमलमा परेको छ। बिहीवारको बालुवाटारको बैठकबाटै जसपाका नेताहरु एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोटमा गएको बैठकमा सहभागी नेताहरुले बताएका छन्।

अध्यक्ष उपेन्द्र यादव सहितका नेता बालकोट गएका थिए भने प्रवक्ता मनिसकुमार सुमन सहितका नेता बालुवाटारको बैठकमा सहभागी थिए। बालुवाटारको बिहीवारको बैठक पनि निर्णय विहीन भएको छ। नेकपा एमालेसँग चुनावी तालमेलका लागि जसपा अन्तिम चरणमा पुगेको एमालेका नेताहरुले बताएका छन्। एमालेले २५ सिट जसपालाई दिन तयार भएको छ।

गठबन्धनका नेता भने बालकोट लागेका जसपाका नेताहरुलाई पर्खिरहेको थियो। तर, अन्तिम सम्म पनि नआएपछि शुक्रवार बिहानसम्मका लागि जसपालाई पर्खने गरी बिहीवारको बैठक सकिएको सिट बाँडफाँट कार्यदलका एक सदस्यले बताए। 'जसपाका नेता नफर्किएकाले भोली विहानसम्म पर्खने भन्ने भयो,' उनले भने।

जसपाले केहि दिन अघि गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेर गठबन्धनमाथि दबाब कायम गरेको थियो। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको चुनावको तालमेल गठबन्धनभित्र मिलिसकेको छैन्। गठबन्धन दलले १५ सिट जसपालाई दिने प्रस्ताव गरेपछि जसपाले एमालेसँग सहकार्यका लागि गृहकार्य गरेको हो। गठबन्धनमा जसपासँगै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पनि असन्तुष्ट छन्। 

मंगलवार र बुधवारको बैठक पनि जसपाका कारण सहमतिमा पुग्न नसकेको गठबन्धनमा रहेका अरु दलका नेताहरुले आरोप लगाएका छन्। बिहीवार बिहानैबाट गठबन्धनका नेताहरु बालुवाटारमा छलफलमा जुटेका थिए। जसपाका अध्यक्ष उपेन्द्र यादव केही समय यता एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको संवादमा रहेको एमाले नेताहरुले बताएका छन्।

पछिल्लो केहि समय यता ओली र यादव बिचमा वार्ता हुदैं आएको छ। एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जसपासँग वार्ता भएको पुष्टि गरे। तर, सहमतिमा भने पुग्न नसकेको उनको भनाइ छ। 'जसपा टचमा आएको छ। वार्ता सहमतिमा पुगिसकेको छैन्,' उनले भने। एमालेले जसपालाई २५ सिट दिनेगरी छलफल अघि बढाएको हो।

गठबन्धनमा जसपाले मुख्यगरी प्रदेशको भागबन्डालाई प्राथमिकतामा राखेको छ। मधेश प्रदेशमा जसपाको सरकार बन्नेगरी भागबन्डा गर्नुपर्ने जसपाको दाबी छ। यता नेपाली कांग्रेस लगायत दलका नेताहरु भने जसपालाई अहिलेको प्रस्ताव गरिएको भन्दा बढी दिन नसकिने अडानमा रहेका छन्। असोज २३ गतेको मनोनयनको दिन आउनै लाग्दा एमाले-जसपा समिकरणको चर्चा सुरु भएको हो।

साउन २० गते नै ११ सदस्यीय कार्यदल गठन गरेर तालमेलका लागि गठबन्धनभित्र गृहकार्य भएको भए पनि हालसम्म सहमति हुन सकेको छैन्। यादव ओलीसँगको संवादमा रहेपछि गठबन्धनका नेताहरु जसपालाई चुनावी तालमेलका लागि मनाउने प्रयासमा छन्।

एमालेले राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग पनि तालमेलका लागि संवाद गरिरहेको छ। तालमेलका लागि इच्छुक दलहरुसँग वार्ता गरेर मात्रै प्रतिनिधि सभा टिकटको टुंगो लगाउने तयारीमा एमाले छ। ओली प्रधानमन्त्री रहेका बेला उपेन्द्र यादव पनि सरकारमा सहभागी थिए। त्यतिबेला यादव र ओलीको सम्बन्ध भने त्यति सुमधुर थिएन। हाल भने ओली र यादव संवादमा रहेका छन्। 

दलहरुसँग अब मनोनयका लागि ३ दिन मात्रै बाँकी छ। निर्वाचन आयोगले असोज २३ गतेका लागि मनोनयनको समय तोकेको छ। मनोनयन अघि एमालेले पनि सत्ता गठबन्धनका विरुद्ध जसपा, लोसपा र राप्रपा लगायतका दलसँग चुनावी तालमेलका लागि तयारीमा लागेको हो। एमालेले जसपालाई गठबन्धनबाट बाहिरिने शर्तमा २५ सिट दिन तयार भएको एमालेका नेताहरुले बताएका छन्। प्रतिनिधि सभाको १६५ र प्रदेशसभाको ३३० सिटमा चुनावी तालमेलका लागि गठबन्धन र एमालेमा तीव्र गृहकार्य भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell