PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बालुवाटार छाडेर बालकोटसँग किन नजिकिए उपेन्द्र, बटमलाइन मधेश प्रदेशको सरकार?



पहिलोपोस्ट

बालुवाटार छाडेर बालकोटसँग किन नजिकिए उपेन्द्र, बटमलाइन मधेश प्रदेशको सरकार?

काठमाडौं : जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा (एमाले)बिच चुनावी तालमेल गर्ने तयारी भइरहेको छ। केही दिन यता एमाले र जसपाबिच भइरहेको वार्ता सकारात्मक भएपछि जसपा एमालेसँग तालमेलको निचोडमा पुगेको हो। पाँच दलीय सत्ता गठबन्धनमा रहेको जसपाले केहि दिन अघिमात्रै गठबन्धन बाहिरका दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको थियो।

गठबन्धनमा सिट बाँडफाँटमा असन्तुष्टि जनाइरहेको जसपाले एमालेसँग तालमेल गर्ने भएपछि गठबन्धनको बिहीवारको बैठकले जसपालाई पर्खने निष्कर्ष निकालेको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवका बिचमा केही दिन यता लगातार संवाद भएको एमाले नेताहरुले बताएका छन्। बिहीवारको वार्ता पछि ओली चुनावी तालमेलका लागि सकारात्मक भएका हुन्।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जसपासँग सहमति हुन लागेको बताए। 'जसपासँग चुनावी तालमेल हुने सम्भावना छ। हिजोको कुरा पनि सकारात्मक छ,' उनले भने। जसपाले गठबन्धनमा मधेश प्रदेशमा आफ्नो जनमत रहेकाले यसपछि पनि आफ्नै पार्टीको नेतृत्वको सरकार बन्नेगरि भागबन्डा गर्नुपर्ने प्रस्ताव गरेको थियो।

उक्त प्रस्तावमा  गठबन्धन सकारात्मक नभएपछि एमालेतर्फ जसपाले संवाद अघि बढायो। एमालेले पनि मधेश प्रदेशमा जसपालाई प्राथमिकतामा राखेर तालमेल गर्ने भएको छ। 'तालमेल हुन्छ। किनभने जसपालाई कांग्रेससँग भन्दा हामीसँग मिल्दा मधेसमा सहज हुन्छ। कांग्रेस जसपाको मुख्य प्रतिस्पर्धी हो,' एमालेका अर्का पदाधिकारीले भने।

यसअघि ओली प्रधानमन्त्री रहेका बेलामा यादव उपप्रधानमन्त्री रहेका थिए। यादव उपप्रधानमन्त्री रहेकै बेला उपचारका लागि नयाँ दिल्ली पुग्दा ओलीले उनको मन्त्रालय नै परिवर्तन गरिदिएका थिए। ओली यादवको कामप्रति सन्तुष्ट थिएनन् भने यादव ओलीको कदमप्रति। त्यतिबेला बिग्रिएको ओली-यादव सम्बन्ध चुनावको मुखमा भने सुमधुर बनेको एमाले नेताहरु बताउँछन्। एमाले-जसपा समीकरणका लागि आजै औपचारिक सहमतिको तयारी भइरहेको छ। 

किन बाहिरिन चाहन्छ जसपा गठबन्धनबाट?

गत हप्ता बिहीवारको गठबन्धनको बैठकमा नेपाली कांग्रेसका नेता तथा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले टिकट बाँडफाँटको प्रस्ताव प्रस्तुत गरेका थिए। कांग्रेसलाई ८५ देखि ८७ सिट, माओवादीलाई ४५ देखि ५०, एकीकृत समाजवादीलाई १७, जसपालाई १५ र राष्ट्रिय जनमोर्चालाई २ सिट दिने सिटौलाले प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा तीन दल मध्ये जसपाले गम्भीर असहमति जनाएको थियो। एमालेले भने जसपालाई २५ सिट सम्म दिन सकिने भन्दै वार्ता अघि बढाएको हो।

उक्त असहमतिमा गठबन्धन गम्भीर नबनेको जसपाले आरोप लगाइरहेको छ। तत्कालीन प्रधानमन्त्री ओलीका विरुद्ध सडकमा उत्रिएको जसपाले त्यतिबेलै अहिलेको सत्ता गठबन्धनसँग साइनो जोडेको थियो। जसपामा गठबन्धनकै बारेमा विवाद हुदा पनि तत्कालीन अध्यक्ष बाबुराम भट्टराई र यादव गठबन्धनका पक्षमा उभिएका थिए भने अर्का अध्यक्ष महन्थ ठाकुर ओलीतर्फ लागेका थिए। जसपाको ठाकुर पक्ष ओली सरकारमै सहभागी भएको थियो। 

एमाले-जसपा तालमेल भए ओलीको रणनीति आंशिक सफल

ओली अहिलेको सत्ता गठबन्धनलाई विभाजन गर्ने रणनीति सहित स्थानीय तह निर्वाचन अघि देखि नै अघि बढेका  थिए। संसदमै एमसीसीको विषयमै सत्ता गठबन्धन विभाजनको डिलमा पुगेको थियो।

एमाले-कांग्रेस समीकरण बन्ने अन्तिम तयारी त्यतिबेला भए पनि गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी पास गर्न तयार भएपछि गठबन्धन जोगिएको थियो। ओलीले प्रतिनिधिसभाको निर्वाचनमा एमालेसँग तालमेलका लागि माओवादी केन्द्रसँग समेत संवाद गरेका थिए। तर, माओवादीसँगको समीकरण तत्काल सम्भव नभएपछि जसपासँग तालमेलका लागि ओली गृहकार्यमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell