PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

गाउँ बाढीले घेरिएपछि बगुवानका बासिन्दा रातिबाटै वनमा आश्रय लिँदै, वडाध्यक्ष भन्छन्, ‘स्थिति दयनीय छ’



पहिलोपोस्ट

गाउँ बाढीले घेरिएपछि बगुवानका बासिन्दा रातिबाटै वनमा आश्रय लिँदै, वडाध्यक्ष भन्छन्, ‘स्थिति दयनीय छ’

काठमाडौं : पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले केही घरहरु डुबानमा परेका छन्। घर बाढीले घेरिएपछि स्थानीय मध्यवर्ती क्षेत्रको वनतिर आश्रय लिइरहेका छन्।

वर्षाका कारण करिव २०० बिघाको धान खेती नष्ट भएको वडा अध्यक्ष दीपकप्रसाद पौडेलले जनाए। ‘म भर्खर स्थलगत पुगें। २०० विघाको धनखेती नष्ट भएको छ। मानिसहरु वनतिर उक्लेर आश्रय लिइरहेका छन्,’ वडाध्यक्ष पौडेलले भने।

मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको बाढीले घेरिएको हो। अहिले पानीको बहाव केही कम भए पनि पानी पर्ने अवस्थाले स्थानीय चिन्तामा रहेको बताए। बाढीले घेरिएपछि गाउँले हिजै साँझ ५ बजे गाउँ छाडेर वनतिर उक्लेको उनले बताए।

‘हिजो रातिबाट माथितिर मध्यवर्ती क्षेत्रतिर निस्केको छ। दयनीय छ अवस्था,’ पौडेलले भने, ‘मध्यवर्ती क्षेत्रमा पाल टाँगेर बस्न पनि पाइँदैन।‘

त्रिवेणीको बाँधले समस्या

भारतले त्रिवेणीमा बनाएको बाँधका कारण बाढीमा वर्षेनी यस्तै समस्या आइपर्ने वडाध्यक्ष पौडेलले बताए।

‘त्रिवेणीमा भारतले बनाएको बाँधको कारण यस्तो भएको हो। ३६ वटा ढोका छन्। बाढी आउँदा उनीहरुले बन्द गरिदिन्छन्,’ उनले भने। बिहीवार पानीको बहाब बढेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलेको समाचार सार्वजनिक भएको थियो। तर बाँधको ढोका खोलिएको भनेर प्रचार गरिए पनि नखोलिएकै कारण यस्तो समस्या भएको उनको दाबी छ।

मध्यवर्ती क्षेत्र र निकुञ्जका कारणले बाटो विस्तार हुन नसक्दा यो समस्या बर्सेनी आउने गरेको जनाइएको छ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ। गण्डक बाँधमा अहिलेसम्मकै उच्च चार लाख ४० हजार पानीको बहाव मापन गरिएको जिल्लाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए। बिहान ८ बजेपछि पानीको बहाव स्थिर देखिएको तिवारीले बताए।

नारायणीमा आएको बाढीका कारण बिहीबार गैँडाकोट नगरपालिका–२ का ८० घरलाई सुरक्षित स्थानमा सारिएको छ भने मध्यविन्दु नगरपालिकाको सेहेरी, भुताह, प्रसौनीलगायत गाउँमा करिब तीन दर्जनभन्दा बढी घरहरु डुबानमा परेका छन्। डुबानमा परेकाहरुको उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र जनप्रतिनिधिसहितको टोली खटिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell