PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नारायणीले पुनः पार गर्‍यो खतराको तह, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह



रासस

नारायणीले पुनः पार गर्‍यो खतराको तह, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
भरतपुर महानगरपालिका-१ देवघाटमा शव दाहासंस्कार स्थलको मलामी विश्रामगृह भवनमा नारायणीको बाढीले डुबेका चिया र खाजा पसल। फोटो : कृष्ण आचार्य/रासस

भरतपुर : नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ। बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११:५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ।

देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ। यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ।

यस्तै, नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।

भरतपुर महानगरपालिकाले नदी तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ। आपत्कालीन सञ्चालन केन्द्र तथा विपद् व्यवस्थापन शाखाका प्रमुख बालकृष्ण थपलियाले नारायणीमा पानीको सतह बढ्दै गएकाले उच्च सावधानी अपनाउन आग्रह गरे।

भरतपुर महानगरका २९ वडामध्ये १२ वडाहरु बाढीको जोखिममा छन्। राप्ती र नारायणी दुवै नदीको तटीय क्षेत्र भरतपुर २७ र २८ नम्बर वडामा बढी जोखिम छ।

वडा नम्बर १, ३, ५, १६, १८, २६, २७, २८ वडाका नारायणी नदीको तटीय क्षेत्रमा पर्ने बस्तीहरुमा जोखिम रहेको छ। यस्तै, वडा नम्बर २२, २३, २४, २५ र २८ का राप्ती नदीको तटीय क्षेत्रका बस्तीहरु पनि जोखिममा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell