PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लोसपा बालुवाटारमा इन हुँदा राजनीतिक समीकरणमा नयाँ तरंग, के होला जसपाका मन्त्रीको पद?



पहिलोपोस्ट

लोसपा बालुवाटारमा इन हुँदा राजनीतिक समीकरणमा नयाँ तरंग, के होला जसपाका मन्त्रीको पद?

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल, (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी,नेपाल (लोसपा)ले राजनीतिक समीकरणमा तरंग पैदा गरेका छन्। चुनावी तालमेलका लागि एमालेसँग संवादमा रहेको लोसपा मनोनयनको ३ दिनअघि भने सत्ता गठबन्धनको सम्पर्कमा पुगेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा लोसपाका नेताहरु सत्ता गठबन्धनसँग छलफलमा जुटेका छन्। सत्ता गठबन्धनमा रहेको जसपा भने बालुवाटारको बैठकबाट आउट भएको छ। शुक्रवारको गठबन्धनको बैठकमा जसपाले सहभागिता नजनाएको गठबन्धनका नेताहरुले बताएका छन्। राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जसपा बैठकमा सहभागी नभएको पुष्टि गरे।

जसपा हाल एमालेसँग चुनावी तालमेलका लागि वार्तामा छ। एमाले नेताहरुका अनुसार शुक्रवार नै सहमतिको लागि कसरत भइरहेको छ। बुधवार, बिहीवारको बैठकमा जसपा सहभागी भएको थियो। तर, बिहीवार अबेर रातिसम्म पनि गठबन्धनले जसपालाई पर्खिए पनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटबाट जसपाका नेता नफर्किएपछि बैठक शुक्रवार विहान सम्मका लागि सकिएको थियो। यसअघि नै जसपाले सत्ता गठबन्धनबा बाहेकका दलसँग पनि चुनावी तालमेल गर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि पनि गठबन्धन गम्भीर नभएको आरोप जसपाले लगाइरहेको छ। 

जसपाले सत्ता गठबन्धनसँग कम्तिमा पनि २० सिट पाउनुपर्ने दाबी गरिरहेको छ। तर, गठबन्धनले १५ सिटमात्रै दिएपछि असन्तुष्टि जनाएर एमालेसँगको वार्तामा जसपा पुगेको हो। जसपाले टिकटको संख्याबारे एमालेसँग सहमति गरिसकेको छैन। एमालेसँग २५ सिट मागेको भए पनि हालसम्म एमालेले २५ सिटमा सहमत नभएको एमाले नेताहरुको भनाइ छ। यद्यपि तालमेलका लागि एमालेका अध्यक्ष ओली तयार भएको नेताहरुले बताएका छन्।

लोसपाले केही समय अघि देउवालाई बालुवाटारमै भेटेर सरकारमा सहभागी हुनेबारे छलफल गरेको थियो। तर, त्यतिबेला सरकारमा सहभागी हुने वातावरण लोसपाका लागि बनेन। जसपा गठबन्धनबाट बाहिरिने भएपछि लोसपा गठबन्धनसँग छलफलमा जुटेको हो। गठबन्धनका एक नेताका अनुसार लोसपासँग चुनावी तालमेलको सम्भावना भने कम छ। 'लोसपासँग चुनावी तालेमल त नहोला,' उनले भने। 

कुनैबेला एउटै पार्टीमा रहेका जसपा र लोसपाका अध्यक्षहरु उपेन्द्र यादव र महन्थ ठाकुर हाल भने अलग पार्टीमा छन्। उनीहरु अलग पार्टीमा मात्रै नभइ राजनीतिक समिकरणमै अलग भएका छन्। यसअघि लोसपालाई सरकारमा सहभागी गराउन जसपा बाधक भएको थियो। जसपाबाट बाहिरिएका तत्कालीन अध्यक्ष बाबुराम भट्टराई माओवादीसँग नजिकएपछि जसपा पनि एमालेसँगको लगातारको संवादमा जुटेको थियो। भट्टराईले जसपाबाट बाहिरिए पनि गठबन्धनमै रहने बताइरहेका छन्। हाल माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराई राजनीतिक सहकार्यमा रहेका छन्। 

जसपाका मन्त्रीको पद धरापमा!
जसपा गठबन्धनबाट बाहिरिने गृहकार्यमा लागेपछि उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीबारे प्रश्न उठ्न थालेको छ। जसपाका तर्फबाट सरकारमा ४ जना मन्त्री सहभागी छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमा मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादव मन्त्रीका रुपमा सहभागी छन्। जसपा गठबन्धनबाट बाहिरिने औपचारिक निर्णयमा पुगे मन्त्रीको पद पनि जाने गठबन्धनका नेताहरुले बताएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell