
काठमाडौं : सत्ता गठबन्धनले शुक्रवार राति नै सिट बाँडफाँट टुङ्ग्याउने तयारी गरेको छ। जनता समाजवादी पार्टीले असन्तुष्टि जनाएपछि अहिले सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पाएको भागअनुसार सिट बाँडफाँटको तयारी गरेको एक नेताले बताए।
जसपाले असन्तुष्टि जनाएपछि उसले पाउने भाग लोकतान्त्रिक समाजवादीलाई दिने गरी छलफल अघि बढेको छ। अहिले बालुवाटारमा लोसपासँग छलफल जारी रहेको कांग्रेसका एक पदाधिकारीले बताए। दुर्गमका उम्मेद्वार भने मनोनयनका लागि जाने समय कम रहेकोले आजै राति टिकट दिएर पठाउने बताइएको छ।
राजधानी नजिकका र सुगम जिल्लाहरुको निर्वाचन क्षेत्रका उम्मेदवारको नाम भने डेडलाइनसम्मै डिस्क्लोज नगर्ने दलहरुले सहमति गरेको छ।
‘सिट बाँडफाँट आजै राति टुङ्ग्याउने तयारी। सिट संख्या गोप्य राखेर दुर्गमका उम्मेद्वारलाई मनोनयनका लागि पठाउने भन्ने कुरा छ,’ बैठकमा सहभागी एक नेताले भने।
उनका अनुसार राजधानी नजिकका उम्मेदवारको हकमा २३ गतेमात्र टिकट फाइनल गर्नेछ।