PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

आफूसँग अध्यक्ष भिडेका भीम रावललाई ओलीले दिएनन् टिकट, माओवादीबाट प्रवेश गरेका बोहोराले पाए



पहिलोपोस्ट

आफूसँग अध्यक्ष भिडेका भीम रावललाई ओलीले दिएनन् टिकट, माओवादीबाट प्रवेश गरेका बोहोराले पाए

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्व उपाध्यक्ष भीम रावललाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन अस्वीकार गरेका छन्।

१० औं महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेका रावलले चुनावको तयारी गरेको भए पनि ओलीले टिकट नदिएको एमाले स्रोतले जानकारी दियो। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका झपट बोहोराले रावलको चुनाव क्षेत्र अछाम-१ बाट प्रतिनिधिसभाको टिकट पाएका हुन्। अछाम क्षेत्र नम्बर २ मा भने यज्ञबहादुर बोगटीले टिकट पाएका छन्।

बोगटीले आफूले टिकट पाएको जानकारी पाए पनि आधिकारीक नभएको बताए। 'अहिले नै भन्न सकिन्न। पत्र आएपछि मात्रै आधिकारिक हुन्छ। एउटा म र अर्कोमा झपट बोहोरा सिफारिस हुनुभएको छ,' उनले भने। रावल र बोगटीलाई जिल्ला कमिटीले सर्वसम्मत रुपमा प्रतिनिधि सभाको उम्मेदवारको सिफारिस गरेको थियो। उक्त सिफारिसअनुसार ओलीले रावललाई उम्मेदवार नबनाएका हुन्। एमालेमा टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिइएको छ। 

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद भएपछि रावलले ओलीको कदमको चर्को आलोचना गरेका थिए। तर, तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गर्ने बेलामा भने रावल एमालेमै बस्ने निचोडमा पुगेका थिए। १० बुँदे सहमतिमार्फत एमालेमा बसेका रावललाई यसपटक ओलीले टिकट नदिएका हुन्। 

अछाम क्षेत्र नम्बर १ बाट टिकट पाएका बोहोराले भने आफूले टिकट पाएको आधिकारीक जानकारी नआएको बताए। 'तपाइले जस्तै मैले पनि अपुष्ट समाचार सुने तर आधिकारिक होइन,' उनले भने। बोहोरा नेकपा विभाजनका बेलामा ओलीको पक्षमा उभिएका थिए। उनी सुदुरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री थिए। एमालेमा लागेपछि उनलाई माओवादी केन्द्रले प्रदेशसभा सदस्यबाट हटाएको थियो।

यता एमाले नेता भीम रावलले पनि टिकटबारे आधिकारिक जानकारी नभएको बताएका छन्। 'टिकटबारे आधिकारिक जानकारी आएको छैन,' रावलले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell