PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न स्थान प्रभावित, कहाँ के भयो?



रासस

निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न स्थान प्रभावित, कहाँ के भयो?
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ राङ्टेँमा सडक तलबाट झरेको पहिरोले राप्ती राजमार्ग बगाएको छ। फोटो : परिचन्द्र खत्री/रासस

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो निम्तिएको छ। बाढी र पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्।

सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रुले सास्ती खेप्नु परेको छ। बाढी पहिरोका कारण केही स्थानमा जनधनको क्षति समेत भएको छ।

भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ। बिहीवार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेका हुन्।

डुबानले केही घर जलमग्न हुनुका साथै पाक्न लागेको धानबाली नष्ट गरेको छ। डुबान क्षेत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख उद्धार टोलीसँगै खटिएका थिए। प्रमुख जिल्ला अधिकारी रिजालले बाढी र डुबानको पूर्व सूचनाका कारण मानवीय क्षति हुन नपाएको बताए।

जल तथा मौसम विज्ञान विभागले सर्तकता अपनाउन चेतावनी दिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधि बिहानैदेखि बाढी र डुबानबाट क्षति हुने नदिन उद्धार सामग्रीसहित उक्त क्षेत्रमा खटिएका थिए।

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता

प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन्। प्युठानको माण्डवी गाउँपालिका-४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो।

जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता एवं प्रहरी निरीक्षक सुशिल थापा मगरका अनुसार पहिरोमा पुरिएर ६० वर्षीय बमबहादुर राहु मगर र उनकी श्रीमती (नाम नखुलेको), १८ वर्षीया मौसमी थापा, ६० वर्षीय हीराबहादुर थापा, चार वर्षीय सुसान थापा र २१ वर्षीय टेकी राहु मगर बेपत्ता भएका छन्।

दिउँसो साढे तीन बजे घटना घटे लगत्तै सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल र प्रहरी नायव उपरीक्षक सुवाश खड्कासहितको टोली घटनास्थलतर्फ गएको प्रवक्ता थापा मगरले जानकारी दिए।

‘अत्यधिक वर्षाका कारण जताततै पहिरोले सडक अवरुद्ध भएको छ, टोली बाटोमै थन्किएको छ,’ उनले भने।

इलाका प्रहरी कार्यालय विजुवारबाट प्रहरी निरीक्षक दिपेन्द्र वानियाको नेतृत्वमा सात जना तथा सशस्त्र प्रहरी आश्रित गुल्म विजुवारबाट प्रहरी नायव निरीक्षक ऋषिराम बस्नेतको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा गएको छ। पहिरो गएको ठाउँ सदरमुकामबाट २४ किलोमिटर टाढा पर्छ।

‘सडक खुलाउन समय लाग्ने भएकाले प्रहरी टोली पैदल नै घटनास्थलतर्फ जाँदै छ,’ प्रवक्ता थापा मगरले भने।

वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ। खानेपानीका सबै मुहानमा अत्यधिक बाढी आएका कारण आपूर्ति बन्द गरिएको हो।

संस्थाका प्राविधक शाखा प्रमुख इन्जिनियर बालाराम तिवारीका अनुसार गए राति १२ बजेदेखि खानेपानी आपूर्ति बन्द गरिएको हो। यसअघि पनि झुप्रा खोलाबाट ल्याएको पाइपलाइनमाथि पहिरो खस्दा झन्डै १० लाख रुपैयाँ बराबरको क्षति हुँदा सुर्खेतमा केही दिन पानी वितरणमा समस्या आएको थियो। उक्त समस्या समाधान हुने बित्तिकै फेरि मुहानमा आएको बाढीले खानेपानी आपूर्तिमा व्यवधान खडा गरेको हो।

इन्जिनियर तिवारीका अनुसार केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले उपत्यकामा खानेपानी वितरणका लागि प्रयोगमा ल्याएका खानेपानीका स्रोत झुप्रा खोला, खरिखोला बोरिखोला, इत्रामखोला र खोर्के खोला मुहानमा अत्यधिक बाढी आएका कारण खानेपानी सेवा अवरुद्ध भएको हो। पानीको बहाव कम हुने बित्तिकै खानेपानी पुनः वितरण गरिने उनले बताए।

लोकमार्गको दर्जनौँ स्थानमा पहिरो, सयौँ यात्रु अलपत्र

चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ-पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ। सडक खण्डको निसीखोला गाउँपालिका-४ जिरीखोला, कालापैराखोलालगायत दर्जनौँ स्थानमा माथिदेखि झरेको पहिरोले सडक अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन्।

बुर्तिबाङ बजारदेखि छोटो तथा लामो दूरीमा सञ्चालन हुने सवारी साधानसमेत ठप्प बने। लोकमार्गमा बिहीवारदेखि नै सवारी साधानहरु ठप्प भएका छन् भने आधा दर्जन गाडीहरु पहिरोमै फसे।

नारायणीले पुनः खतराको तह पार गर्‍यो

नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ। बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११:५५ बजेको समयमा फेरि खतराको तह पार गरेको छ।

देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ। यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ।

यस्तै, नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धेरै पानीको सतह १२ मिटर पुगेको छ। यहाँ ११ मिटर पुग्नासाथ खतराको तह सङ्केत हुन्छ। पानीको तह निरन्तर बढिरहेको केन्द्रले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले जानकारी दिए। नारायणी नदीमा पानीको बहाव बढ्दा पश्चिम चितवन र नवलपुर क्षेत्रमा बाढीको खतरा हुन्छ।

अर्घाखाँचीमा खोलाले बगाउँदा बालक बेपत्ता

अर्घाखाँचीमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन्। सन्धिखर्क नगरपालिका-७ का १० वर्षीय समीर पौडेल बेपत्ता भएका हुन्।

दशैँको टीका लगाउन मामाघर हिँडेका पौडेल खज्र्याङ खोला तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए। बेपत्ता बालकको खोजीका लागि नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

यसैबिच, वर्षापछि आएको पहिरोको जोखिमले जिल्लाका २१ परिवारका ९६ जना विस्थापित भएका छन्। छत्रदेव गाउँपालिका-७ र ८ का ४६, मालारानी गाउँपालिका-६ का ३५, सन्धिखर्क नगरपालिका-६ का १३ र पाणिनि गाउँपालिका-८ का दुईजना विस्थापित भएका हुन्। विस्थापित परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गराइएको रिजालले बताए।

रुकुम पश्चिमको राङ्टेँमा सडक भासियो

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ६ राङ्टेँमा सडक तलबाट झरेको पहिरोले राप्ती राजमार्ग बगाएको छ। जसका कारण यातायात आवागमण रोकिएको छ। तत्काल सडक सञ्चालनमा आउने अवस्था नरहेको बताइएको छ। उक्त पहिरोले स्थानीयको किबि र सुन्तला खेतीमा समेत क्षति गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell