काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट निर्वाचन लड्ने भएपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले खुसी व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत डा भट्टराईले आफूले प्रतिनिधित्व गर्दै आएको क्षेत्रबाट प्रचण्ड प्रत्यासी बन्नु ठुलो सांकेतिक महत्वको विषय भएकोसमेत बताएका छन्।
'मैले प्रतिनिधित्व गर्दै आएको गोरखा-२ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु। वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहँको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहाँको शानदार विजयको हार्दिक शुभकामना,' बाबुरामले भनेका छन्।
यसअघि चितवनबाट उम्मेदवारीको तयारी गरेका प्रचण्डले गोरखाबाट उम्मेदवार हुने शुक्रवारको पदाधिकारी बैठकमा बताएका हुन्। प्रतिनिधि सभाको मंसिर ४ गते हुने निर्वाचनमा प्रचण्ड गोरखाबाट चुनाव लड्ने भएका हुन्।
नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले नै प्रचण्डलाई गोरखाबाट उम्मेदवार बन्न सुझाएको बताइएको छ। पटक पटक निर्वाचन क्षेत्र फेरिरहने प्रचण्डले यसअघि २०७४ मा चितवनबाट चुनाव लडेका थिए। तीनपटक संसदीय चुनाव लडेका प्रचण्ड २०६४ मा काठमाडौं १० बाट विजयी भएकोमा २०७० को निर्वाचनमा काठमाडौं १० मा पराजित भएका थिए। सिराह ५ बाट त्यतिबेला प्रचण्डले चुनाव जितेका थिए।