PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मेरो तीनपुस्ताले उहाँलाई मत दिएको छ, अब विरोध खतिवडाले आराम गर्नुपर्छ : महेश बर्तौला



निशा गुरुङ

मेरो तीनपुस्ताले उहाँलाई मत दिएको छ, अब विरोध खतिवडाले आराम गर्नुपर्छ : महेश बर्तौला

हेटौंडा : दलहरु मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि टिकट बाँड्न व्यस्त छन्। असोज २३ गते (भोलि) प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन गर्नुपर्नेछ। जसकारण पनि अन्तिमसमयमा राजनीतिक पार्टीहरु व्यस्त छन्।

नेकपा एमालेले अधिकांश प्रतिनिधिसभा क्षेत्रमा उम्मेदवारहरुको नाम टुङ्गो लगाइसकेको छ भने सत्ता गठबन्धनभित्र सिट बाँडफाँट मिलिसकेको छ। नेकपा एमालेको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ मा गठबन्धनतर्फको नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा उम्मेदवार बन्ने छन्। यसअघि एमालेमा रहेका बेला मकवानपुरबाट खतिवडा चारपटक निर्वाचित भएका थिए। उनै खतिवडाविरुद्ध यसपटक एमालेले युवा नेता महेश बर्तौलालाई चुनावी मैदानमा उतार्ने भएको छ। उनै बर्तौलालाई पहिलोपोस्टकर्मी निशा गुरुङले प्रश्न गरिन् :  

प्रतिनिधिसभामा टिकट पाउने निश्चित भइसके पछि तपाईंको तयारी कस्तो भइरहेको छ?

पार्टीले एउटा औपचारिक प्रक्रियाबाट निर्णय गरेको छ। हामी अब भोलि मनोनयन दर्ताको तयारी निर्वाचन आयोगले तय गरेको तालिका बमोजिम यो काम सम्पन्न गर्छौं। त्यसपछि आवश्यक तयारीका साथ पार्टीको निर्वाचन केन्द्रित जनताको घरदैलोमा अगाडि बढ्छौं।

तपाईं निर्वाचनमा होमिँदै गर्दा नयाँ अनुहार हुनुहुन्छ, कतिको चुनौती देख्नुभएको छ?

हामिले जनताको सेवा गर्ने कुरा हो। निर्वाचनको मैदानबाट हामी  जनताको वास्तविक सेवकका रुपमा स्थापित हुन चाहन्छौं।  त्यसकारण मैदानमा छौं, हामि जनताको सेवा गर्छौं। विकास समृद्धिको अगुवाई गर्छौं, सामाजिक परिवर्तको आर्थिक रुपान्तरको एजेन्डाहरुलाई बोकेर अगाडि बढ्छौं भन्ने संकल्प बोकेर हिँडेका राजनितिक कार्यकर्ता भएकोले जनताको बिचमा जान पाउने जनताले हामीलाई मुल्यांकन गर्न पाउने यो एउटा 'गोल्डेन' अवसर हो।

त्यसकारण मैले चुनौतीको रुपमा भन्दा पनि यसलाई अवसरका रुपमा लिएको छु। र, जनताले पनि विश्वास गरेर प्रतिनिधिका रुपमा आगामी ५ वर्षका लागि विजय गराउनुहुन्छ भन्ने विश्वास मलाई लाग्छ।

मकवानपुरमा ४८ सालपछि समग्र राजनीतिलाई हेर्दा र म जुन क्षेत्रबाट उम्मेद्वार हँदैछु, यो क्षेत्रमा हिजो यस क्षेत्रमा जितेर आउनुभएको प्रतिनिधिहरु मार्फत जनताले के अपेक्षा गरेको थियो र ती पुरा भयो की भएन? यसले गर्दा पनि मलाई अझै धेरै काम गर्नका लागि मेरो क्षेत्रको विकास निर्माणका लागि उत्साहजनक निर्वाह गर्नका लागि, नेकपा एमालेको तर्फबाट मेरो पक्षमा टिकट निर्णय भएको छ। र, सबैले पनि एउटा युवा मकवानपुरको राष्ट्रिय राजनीतिमा आउनु महत्वपुर्ण विषय भएको रुपमा लिनुभएको छ।

तपाईंका चुनावी एजेन्डा के के हुन् ? ती एजेन्डाले जितको आधार तय गर्छ?

म २ नम्बर क्षेत्रकै स्थानीयवासी हुँ। म यहीँ जन्मे, हुर्के, पढेँ र बढेको स्थानीय हुँ। भोलि मनोनयनमा के हुन्छ त्यो फरक कुरा हो । तर, प्रतिस्पर्धामा आउन खोजिएका, चर्चा चुलिएका कतिपय उम्मेद्वारका विषयमा उहाँहरु त्यो तहको मान्छे होइन। उहाँहरु ४३ सालदेखि पटक पटक जनताले जिताएर वाक्क दिक्क भएको अवस्था छ। वाक्क दिक्क मान्न हुँदैन थियो होला सायद राम्रो काम गर्नुभएको भए। तर , विगतमा सबै कुराहरु उहाँहरुबाट पाएनौं।

मकवानपुरमा मेरो क्षेत्रमा मात्रै ३ लाख मतदाताहरु छन्। एक लाख भन्दा बढी युवाहरु छन्, तमाम युवाहरुको म प्रतिनिधिको पात्रमा उभिएको छु। त्यसकारण पनि युवा नेतृत्वको पक्षमा हुने हुनाले पनि मलाई विजयी यात्रामा पुर्‍याउनुहुन्छ भन्ने मलाई लागेको छ। र, अर्को कुरा म यो सांसद हुन 'फूलि' लगाउने अभिालासाका साथ हिँडेको होइन। मैले मेरो क्षेत्रको गरिबी हेरेको छु। मैले हिजो विजयी भएको गएका प्रतिनिधिहरुले गर्न नसेको काम मैले गर्नुपर्ने हुन्छ। मेरो क्षेत्रको जनजातीहरु बनकरिया, चेपाङहरुजस्ता पढ्न नसेकाहरुको शिक्षालाई महत्व दिने छु। सुत्केरी हुँदा यातायात समस्याका कारण मृत्यु हुनुपरेको छ, त्यस क्षेत्रका जनताको लागि आवश्यक बजेटमार्फत काम गर्नेछु र धेरै युवाहरु योग्यता क्षमता भएका युवाहरु छन् ती युवाहरुको मुद्दालाई राष्ट्रिय फोरममा बोक्ने छु।

समग्रमा म मकवानपुरलाई पर्यटनमा कसरी लान सकिन्छ भन्ने पाटोमा र जनताको समस्यालाई काम गर्ने हिसाबमा काम गर्नछु। विगतमा विजयी भएका प्रनितिनिजस्तो चुनावको बेलामा मात्रै जनताको घरदैलो आउने काम नभई २४ सै घण्टा जनतालाई 'इर्मेजेन्सी' सेवा दिई जनताको सेवकको रुपमा काम गर्ने नै मेरो मुख्य एजेण्डा हो। युवाले जिम्मेवारी पाउँदा युवाले काम गर्न सक्ने रहेछ भन्ने विषयलाई प्रमाणित गर्नेछु। 

तपाईंको प्रतिस्पर्धा मकवानपुरको २ नम्बर क्षेत्रमा लगातार ४ पटक निर्वाचित भएका विरोध खतिवडासँग हुँदैछ। उता गठबन्धन छ यता एमाले विभाजित, यस्तो अवस्थामा तपाईंलाई जित्न सजिलो छ? 

यसमा ठिक छ। उहाँहरु सम्मानका लागि योग्य हुनुहुन्छ। पिताजीसरहको व्यक्ति हुनुहुनछ तर , म एउटा आग्रह गर्न चाहन्छु। जनताले आफ्नो अमूल्य मतदान गरेर प्रतिनिधि किन छान्छ? त्यो विकास समृद्धिको लागि होइन?

आज मेरो आग्रह छ। म उहाँको मतदाता पनि हो। उहाँ चुनाव उठ्दा जिताउन लागेको म पनि हो। उहाँलाई मेरो हजुरबुवाले मत हाल्नुभयो, मरो बुवाले हाल्नुभयो, मैले हालेँ। आज मेरो बच्चाहरुले उहाँको बारेमा चासो राख्छ। तर, उहाँले २० वर्षसम्म के गर्नु भयो भएन त्यसमा म जान्न। तर मेरो एउटा प्रश्न छ।

उहाँले आराम कहिले गर्नुहुन्छ? युवाहरुलाई नेतृत्व विकासको तहमा कैले पुर्‍याउनुहुन्छ उहाँले? २०४३ सालदेखि निर्वाचनमा होमिँदै गर्दा ६२-६३ वर्ष हुनुभइसकेको उहाँ ४ पटक सांसद भइसक्नुभएको छ। मलाई गर्व लागेको उहाँसँग चुनाव लड्दाखेरी उहाँको अनुभव लिएर म अगाडि बढ्ने छु। यो पटक उहाँले बुभ्नुपर्छ, उहाँ अहिले पार्टी छाडेर जानुभएको छ। पार्टीले दिएको विश्वासमाथी जनताले दिएको विश्वासमाथी घात गर्नु भयो। उहाँलाई जनताले अपमान त गर्नुहुँदैन होला तर , अब आराम गर्नुस भनेर जनताले भन्नुहुनेछ।

र, उहाँ १ नम्बर क्षेत्रका भएकाले पनि आफूले उम्मेद्वार दिएको क्षेत्रमा चासो नदेखाएको होला। त्यो क्षेत्रका जनताले स्थानीय प्रतिनिधि पाउँदै छन्। राजनीतिमा वैचारिक बहस हुन्छ तर, गठबन्धनको नाममा वैचारिक बहस होईन स्वार्थको बहस भइरहेको छ र आज एउटा युवा निर्वाचनमा होमिँदै गर्दा साझा उम्मेद्वार बनाएर जिताउन पनि आग्रह गर्न चाहन्छु। अनुभव उहाँसँग धेरै छ होला तर उहाँहरुले विकासका लागिभन्दा पनि एक पटक फेरि मानका लागि उम्मेद्वारी दिनुभएको छ। त्यसकारण उहाँहरुबाट अब केही हुने छैन।

तपाईंसँगै ३ जनाको नाम सिफारिस भएको थियो। टिकट वितरणमा सुवासचन्द्र ठकुरीले असन्तुष्टी जनाएका छन्। उहाँलाई कसरी मिलाएर लैजानुहुन्छ?

हामी एउटा प्रक्रिययाबाट सहभागी भयौं। म वाग्मती प्रदेश कमिटीको उपसचिव छु। उहाँ प्रदेश कमिटीको सदस्य हुनुहुन्छ। म पार्टीको जिम्मेवारीको हिसाबले उपसचिव भए पनि उहाँ सिनियर नेता हुनुहुन्छ। उहाँ मेरो पनि अग्रज हो। पार्टीले उहाँलाई नै टिकट दिएको भए पनि म जिताउन लाग्थे तर , पार्टीले मलाई टिकट दिएको छ। यो निर्णयमा उहाँ पनि खुशी हुनुहुन्छ होला।

तर, पार्टीभित्र अवसरहरुको विकेन्द्रिकरण पनि गर्नुपर्छ। पार्टीले विगतमा उहाँलाई पनि महत्वपुर्ण जिम्मेवारी दिएको थियो। उहाँलाई यही पार्टीले दुईपटक गाबिसको अध्यक्ष बनायो। यही पार्टीले सांसद बनायो। हो यो पटक पार्टीले कामको मुल्यांकन गरेको भए हुन्थ्यो भन्ने उहाँको भनाई ठिक हो। हाम्रो पार्टीमा आकांक्षीहरु धेरै भएकाले व्यवस्थापन एउटालाई गर्नुपर्ने हुन्छ। त्यसैले यस प्रक्रियालाई मैले सकरात्मक रुपमा लिएको छु। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell