PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

बाढी र डुबानका कारण बाँकेमा चार हजार परिवार विस्थापित



रासस

बाढी र डुबानका कारण बाँकेमा चार हजार परिवार विस्थापित
फोटो : राकेश कुमार मिश्र/रासस

खजुरा : अविरल वर्षाका कारण राप्ती नदी र खोला नालामा आएको बाढी र डुबानले बाँकेमा चार हजार परिवार विस्थापित भएका छन्। बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानमा करिब ५० कच्ची घर पूर्ण रुपमा भत्किएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनका अनुसार अहिलेसम्म जिल्लामा कुनै पनि मानवीय क्षति नभएको र अधिकांश स्थान बाढीले क्षति पुर्‍याएको छ।

जिल्लाको डुडुवा गाउँपालिका-१ चौफेरी, कृषि चौफेरी र पाझा गाउँमा तीन सय, राप्तीसोनारी गाउँपालिका-२ स्थित टिकुलीपुर गाउँका करिब तीन हजार र नेपालगञ्ज उपमहानगरपालिका-२० मा तीन सय, खजुरा गाउँपालिकामा एक सय, नरैनापुर गाउँपालिकामा चार सयजना परिवार विस्थापित भएको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए।

उनका अनुसार बाढी र डुबानबाट जिल्लाका विभिन्न स्थानबाट विस्थापित भएकाहरु सबै सुरक्षित रुपमा आश्रयस्थलमा बसिरहेका छन्। राप्ती नदी पुल पारी बगर क्षेत्रमा फसेका तीनजनालाई प्रहरीको उद्धार टोलीले आज बिहान उद्धार गरेको छ।

हिजो शुक्रवारदेखि विस्थापित भएकाहरुले खानासमेत नपाएको अवस्थामा स्थानीय तह वडा कार्यालयले खाजाको व्यवस्थाका लागि तयारी शुरु गरेको प्रजिअ खत्रीले बताए। प्रजिअ खत्रीका अनुसार विस्थापितहरुलाई उद्धार, व्यवस्थापन, तत्काल राहत लगायतका विषयमा छलफल गर्न १२:३० बजे जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बस्दैछ।

बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेकाहरुलाई सुरक्षित उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। रातिदेखि वर्षा राकिएकाले राप्ती नदीको पानी बिस्तारै घट्न थालेको छ।

जिल्लाका धेरैजसो बस्ती जलमग्न भएका छन्। डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका जनप्रतिनिधिहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell