PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

रसिया र क्रिमिया जोड्ने एक मात्र पुलमा लाग्यो आगो, युक्रेनले भन्यो : ‘सिक बर्न’



पहिलोपोस्ट

रसिया र क्रिमिया जोड्ने एक मात्र पुलमा लाग्यो आगो, युक्रेनले भन्यो : ‘सिक बर्न’
Photo: MYKHAYLO PODOLYAK

रसिया र क्रिमिया जोड्ने एक मात्र पुल ‘केर्च ब्रिज’मा आगो लागेको छ। लोरी बिस्फोट हुँदा उक्त पुलमा आगो लागेको रसियाली अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

पुलको सडक खण्डमा विष्फोट हुँदा रेल खण्डमा रहेको तेल ट्याङ्करमा आगो लागेको थियो। बिस्फोटका कारण सडक भत्किएको छ।

क्रिमिया सन् २०१४ मा रसियामा गाभिएको थियो, रसियाले हाल युक्रेनमा सैन्य उपकरण सार्न सोही केर्च पुल प्रयोग गरिरहेको थियो।

युक्रेन सरकारले आफ्नो आधिकारिक ट्विटर अकाउन्टमार्फत आगलागीबारे प्रतिक्रिया दिँदै भनेको छ : ‘सिक बर्न’।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले सो आगलागीलाई ‘सुरुवात’ भनेका छन्। तर, उनले प्रत्यक्ष रूपमा युक्रेनी जिम्मेवारीको दाबी भने गरेका छैनन्।

‘सबै अवैधानिक कुराहरू नष्ट गरिनु पर्छ, लुटेका सबै कुरा युक्रेनमा फिर्ता गरिनु पर्छ, रसियाले कब्जा गरेका सबै कुरा फर्काइनु पर्छ,’ उनले ट्वीटमा भनेका छन्।

रसियाको राष्ट्रिय आतंकवाद विरोधी समिति (एनएसी) ले भनेको छ, ‘मस्को समयअनुसार आज बिहान ०६:०७ मा तामान प्रायद्वीपको छेउमा रहेको क्रिमियन पुलको मोटरवे भागमा एउटा कार्गो गाडीमा विस्फोट भएको थियो। जसले क्रिमियन प्रायद्वीप जाने रेलको सातवटा इन्धन ट्याङ्कीमा आगो लगाएको थियो। पुलका दुईवटा मोटरवे खण्ड आंशिक रूपमा भत्किएका छन्।’

क्रिमियाका संसदीय सभामुख भ्लादिमिर कोन्टान्टिनोभले विस्फोटको दोष ‘युक्रेनी विध्वंसकहरू’लाई दिएका छन्।

उनले पुलमा भएको क्षति ‘गम्भीर प्रकृतिको नभएकोले तुरुन्तै मर्मत गरिने’ समेत बताए।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई पुलमा भएको ‘आपतकालिन अवस्था’बारे जानकारी दिइएको छ र सरकारी अनुसन्धानको आदेश पनि दिइएको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell