PahiloPost

Apr 25, 2025 | १२ बैशाख २०८२

भीम रावल स्वतन्त्र उम्मेदवार नबन्ने, एमालेमै रहेर ओलीविरुद्ध लड्ने



पहिलोपोस्ट

भीम रावल स्वतन्त्र उम्मेदवार नबन्ने, एमालेमै रहेर ओलीविरुद्ध लड्ने

काठमाडौं : नेकपा (एमाले)का नेता डा भीम रावल पार्टीले टिकट नदिएपछि यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। एमालेका तल्ला कमिटीहरुले रावललाई अछाम-२ बाट प्रतिनिधिसभाको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीले रावललाई उम्मेदवार बनाउन अस्वीकार गरेका थिए। एमालेले टिकटबारे निर्णय गर्ने अधिकार ओलीलाई दिएको थियो।

रावल निकट स्रोतका अनुसार पार्टीले उम्मेदवार नबनाएपछि उनले बागी उम्मेदवारी नदिने मनसाय बनाएका छन्। रावलले एमालेमै सक्रिय हुने र ओलीविरुद्ध उभिने तयारी गरिरहेका छन्।

'पार्टी छोड्ने कुरा हुँदैन। अहिलेसम्म स्वतन्त्रबाट उम्मेदवार बन्ने पनि तयारी गर्नु भएको छैन। उहाँले चुनाव लडनु हुन्न,' स्रोतले भन्यो। 

ओलीले उम्मेदवार नबनाएपछि एमालेका नेता घनश्याम भुसालले आजै पार्टी परित्यागको घोषणा गरेका छन्। भुसालले स्वतन्त्रबाट उम्मेदवारी दिने तयारी गरिरहेका छन्। रुपन्देही-२ बाट २०७४ सालको निर्वाचनमा भुसाल निर्वाचित भएका थिए। त्यसैले रावलले पनि स्वतन्त्र उम्मेदवारी दिन सक्ने अनुमान गरिएको थियो।  

रावल अछाम क्षेत्र नम्बर १ बाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादका बेलामा ओलीको चर्को आलोचना गर्नेमा रावल र भुसाल थिए। तर, पार्टी विभाजनका बेलामा रावल, भुसाल सहित १० नेताहरुले १० बुँदे सहमति गरेर एमालेमै सक्रिय हुने निर्णय गरेका थिए। एमालेको सरकार ढालेको भन्दै ओलीले दुवै जनालाई टिकट दिन अस्वीकार गरेका हुन्। 

रावल २०५१ को मध्यावधिक निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। २०६४ सालको संविधानसभाको निर्वाचनमा समानुपातिकबाट सांसद बनेका रावल २०७० र २०७४ को निर्वाचनमा अछाम-१ बाट निर्वाचित भएका थिए। यसपटक रावलको ठाउँमा एमालेले माओवादीबाट एमालेमा प्रवेश गरेका झपट बोहोरालाई उम्मेदवार बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell