PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बाढी र पहिरोका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध



रासस

बाढी र पहिरोका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध
फोटो : रासस

सुर्खेत : बुधवारदेखि परेको अविरल वर्षाका कारण कर्णाली प्रदेशका मुख्य राजमार्गहरु अवरुद्ध भएका छन्। प्रदेशका विभिन्न राजमार्गअन्तर्गत लगभग २० ठाउँमा बाढी र पहिरो जाँदा सडक अवरुद्ध भएको हो।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठका अनुसार कर्णाली राजमार्ग मात्रै १० ठाउँमा अवरुद्ध भएको छ। कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका-८ बादुका, दुल्लु नगरपालिका-२ को बरबारेभिर, कालीकोटको तिलागुफा नगरपालिका-१ को गाडगोडेनी र बालुवा, वडा नम्बर ३ को राँचुली, वडा नम्बर ५ को धनडाँ, खाँडचक्र नगरपालिका वडा नम्बर १ को सुनारखोला, वडा नम्बर २ को ज्यानमाराभिर र वडा नम्बर ३ को खरिखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

त्यस्तै, छिन्चु-जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको गुर्भाकोट-९ को पोखरे, सुर्खेतकै सिम्ता गाउँपालिका-४ को बालिखोला र जाजरकोटको भेरी नगरपालिका-१० को कालाभुरमा पहिरोले सडक अवरुद्ध भएको छ। रातानाङ्ला-धरमपोखरा सडक खण्डको वीरेन्द्रनगर-१३ को राउते गल्छी, सुर्खेत-दैलेख सडक खण्डअन्तर्गत गुराँस गाउँपालिकाको रातिखोला र चोचेखोलामा पनि सडक अवरुद्ध छ।

यसैगरी, बोटेचौर-दाङ सडक खण्डअन्तर्गत गुर्भाकोट नगरपालिका-१ को काल्चे, बोटेचौर सल्यान सडक खण्डको गुर्भाकोट-३ को भुजेल र राप्ती राजमार्गअन्तर्गत रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका-३ को खारानेटामा पनि सडक अवरुद्ध भएको प्रवक्ता श्रेष्ठले बताए।

‘अवरुद्ध सडक खुलाउन प्रहरी, स्थानीय र जनप्रतिनिधि सक्रिय हुनुहुन्छ। यद्यपि पानी परिरहेका कारण पहिरो पन्छाउन समस्या भएको छ,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell