काठमाडौं : गायक सञ्जय श्रेष्ठले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका छन्। पार्टीले प्रतिनिधिसभा निर्वाचनमा टिकट नदिएपछि उनले राप्रपा छाडेका हुन्। सञ्जयले चार महिना अघि नै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार बन्ने घोषणा गरेका थिए।
राप्रपाले सो क्षेत्रबाट विष्णु प्रसाद आचार्यलाई उम्मेदवार बनाएपछि श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका हुन्। पार्टी अध्यक्ष राजेन्द्र लिड्देनले पटकपटक आफू नै उम्मेदवार हुने आश्वासन दिएको तर अन्तिममा टिकट नदिएको आरोप उनले लगाएका छन्।
'अध्यक्षजीले मलाई गत साउन २४ गते आफ्नो निवासमा सहमहामन्त्री विजय खड्का दाइसँग बोलाउनुभयो र त्यहाँ प्रवक्ता मोहन श्रेष्ठ र अर्का पुष्प राजकै सामुन्ने लगभग डेढ दुई घण्टाको कुराकानीमा क्षेत्र नम्बर ६ बाट लड्ने म नै भएको र केही प्रकृया पुर्याउन भन्नुभयो र त्यही अनुसार सबै प्रक्रिया पुर्याए। त्यसपछिका दिनमा पनि अध्यक्षज्यु सँग कुराकानी हुँदा उहाँले 'तपाईं नै हो, आफ्नो तर्फबाट लाग्दै गर्नुहोस' भन्नुहुन्थ्यो,' उनले सामाजिक संजालमा लेखेका छन्।
पार्टीले आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै उनले आफूले चार महिना अघि नै पार्टीले टिकट दिए पनि नदिए पनि निर्वाचन लड्ने घोषणा गरिसकेकनले आफ्नो अडान कायम नै रहेको बताएका छन्। उनले भोलि काठमाडौं क्षेत्र ६ बाट मनोनयन दर्ता गराउने घोषणा पनि गरेका छन्।