
जनकपुरधाम : प्रतिनिधिसभा सदस्यमा चुवान लड्नका लागि मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका दिपेन्द्र झा प्रदेशसभामा चुनाव लड्ने भएका छन्।
महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा लड्नका लागि मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिएका झा प्रतिनिधिसभाको टिकट पाउन असफल भएका हुन्। जनता समाजवादी पार्टी (जसपा)बाट महोत्तरी ३ मा झा र पूर्वमन्त्री हरिनारायण यादव दुवैले आकांक्षा देखाएपछि अन्ततः यादवले टिकट पाएका छन्।
नेपाली कांग्रेसमै रहेर लामो राजनीति गरेका पूर्व मन्त्री यादव २०६२/६३ सालमा भएको पहिलो मधेश आन्दोलनको समयमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए। महोत्तरी ३ मा नेकपा (एमाले)बाट रामदयाल मण्डल समेत चुनाव लड्ने तयारी गरेका थिए। यद्यपि, एमाले र जसपाबिच गठबन्धन भएपछि त्यो क्षेत्रमा जसपाका उम्मेदवार यादवलाई सघाउनु पर्ने भएको छ।
मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदबाट राजीनामा दिएका झालाई भने जसपाले प्रदेशमा व्यवस्थापन गरेको छ। उनी अब महोत्तरी ३ (क)बाट प्रदेशसभाको उम्मेदवार बन्ने जसपा श्रोतले जनाएको छ।
महोत्तरी ३ मा सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर निर्वाचन लड्ने लगभग निश्चित छ।