PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

सत्ता गठबन्धनको चर्को विरोध गर्ने ओली आफैं किन पुगे गठबन्धन बनाउन?



प्रकाश भण्डारी

सत्ता गठबन्धनको चर्को विरोध गर्ने ओली आफैं किन पुगे गठबन्धन बनाउन?
फाइल फोटो

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनको चर्को आलोचना गर्ने मध्यमा पर्छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ओलीले अपवित्र मात्रै भनेका छैनन् झाडीमा जन्मिएको भन्नसम्म भ्याए। कुनै बेला गठबन्धनलाई स्यालको संज्ञा दिएका थिए ओलीले। ‘स्यालहरूको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिदैन,’ ओलीले चैत ५ मा भनेका थिए।

एमालेसँग लड्न सक्ने हैसियत नभएकाले पाँच दल मिलेको ओलीले आरोप लगाउनु सामान्य नै भयो। विचारै नमिल्ने पार्टीहरु मिलेर एमालेलाई हराउन षडयन्त्र गरेको ओलीले बारम्बार आरोप लगाएका छन्। सत्तामा रहेका ओलीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मोर्चाबन्दी गरेका थिए। गठबन्धनको एक दल जसपा हाल एमालेसँग छ। 

सत्ता गठबन्धनको चर्को आलोचना गरेका ओली गठबन्धन गरेरै चुनावमा होमिने भएका छन्। सत्ता गठबन्धनको सामना गर्न ओलीले पनि चुनावी गठबन्धन गरेका हुन्। अझ कतिसम्म भने राजावादी मानिने राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)सँग चुनावी तालमेल गर्न पनि ओली पछि परेका छैनन्। जसपालाई प्रतिनिधि सभामा १७ सिट दिएर ओलीले सत्ता गठबन्धनबाट एमालेमा ल्याउन ओली सफल भए। नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई पनि ओलीले समानुपातिकमा प्राथमिकतामा राखेका छन् भने बीपी कांग्रेसँग पनि चुनावी तालमेल गरेका छन्। यसो त हालै राप्रपाबाट अलग्गिएर बनेको राप्रपा नेपालका अध्यक्षलाई पनि एमालेले मकवानपुरमा सघाउने भएको छ। बदलामा आफ्नै दलका उम्मेदवार रामेश्वर रानाको टिकट ओलीले खोसेका छन्।

डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाका विरुद्धमा एमालेले वीपी कांग्रेसलाई सघाउने छ। ओली आफ्नै पार्टीभित्रका चर्चित नेताहरुलाई तिरस्कृत गरेर भर्खरै एमाले प्रवेश गरेकाहरुलाई पनि टिकट दिएर धमाधम पुरस्कृत गर्दै छन्। यसको उदाहरण भीम रावलदेखि घनश्याम भुसालसम्म भएका छन्। दस बुँदेमा सँगै हिँडेका युवा नेताहरुले यसबारे चुइक्क बोल्न सकेनन्। बरु ओलीकै छत्रछायामा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले न्यायका लागि आफ्नो उम्मेदवारी नै तिलाञ्जली दिएकी छिन्।

जसपा सत्ता गठबन्धनबाट बाहिरिए पनि फेरि पाँच दलीय गठबन्धन नै भएको छ कांग्रेस नेतृत्वमा रहेको मोर्चा। जसपा बाहिरिएसँगै प्रतिनिधि सभाको ८ सिट लिएर सत्ता गठबन्धनमा इन्ट्री मारेको छ लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोसपाले।

किन गठबन्धन बनाउने निर्णयमा पुगे ओली?

स्थानीय तह निर्वाचनमा एमालेले स्थान विषेशमा मात्रै गठबन्धन गरेको थियो। तर, एमालेले गरेको गठबन्धन स्थानीय तह निर्वाचनमा त्यति फलदायी भएन। लोसपा र राप्रपासँग मात्रै चुनावी तालमेल गर्दा स्थानीय तह निर्वाचनमा एमालेले पार्टी विभाजनको क्षतिलाई रोक्न सकेन। त्यसैले अहिले सत्ता गठबन्धनमा रहेको जसपालाई एमालेले गठबन्धनबाट अलग गराउन सफल भएको छ। जसकारण एमालेलाई प्रतिनिधिसभा निर्वाचनमा केही फाइदा हुने एमाले नेताहरुले बताएका छन्। एमाले नेता विशाल भट्टराईले जसपा लगायतका दलसँगको गठबन्धन राष्ट्रव्यापी रुपमा नभएको बताए। १७ सिटमा मात्रै गठबन्धन भए पनि एमालेका लागि फाइदजनक भएको भट्टराईको भनाइ छ। ‘नेसनवाड त भएन। जसपा पनि स्ट्रङ नै छ नि। त्यस हिसाबले हाम्रा लागि फाइदा जनकै हो,’ उनले भने। एमालेले स्थानीय तह निर्वाचनका बेलामा गठबन्धन नगर्दा अपेक्षित परिणाम निकाल्न असफल भएको एमाले नेताहरुको भनाइ छ। प्रतिनिधिसभा निर्वाचनमा भने ओलीले आफ्नो रणनीतिमा फेरबदल ल्याएको उनी निकटहरु बताउछन्।

जसपासँग गठबन्धनका लागि संवाद गर्नुअघि एमाले नेताहरुले स्थानीय तहको परिणामलाई देखाएर माओवादी केन्द्रका नेतासँग पनि छलफल गरेका थिए। माओवादीले पनि एमालेसँगको संवादलाई महत्वका साथ हेरेको थियो। तर, एमाले-माओवादी गठबन्धन तत्काल नबन्ने देखेपछि ओली जसपाका नेताहरुसँगको संवादमा थिए। ओली सरकारमा उपप्रधानमन्त्री रहेका जसपाका अध्यक्ष उपेन्द्र यादव र ओलीको सम्बन्ध तिक्ततापूर्ण थियो। जसलाई प्रतिनिधिसभा निर्वाचनअघि बनेको समीकरणले तिक्तता मेटाइदिएको छ।

एमाले गठबन्धन भर्सेस सत्ता गठबन्धन, कसको शक्ति कति?

चुनावमा गठबन्धनको प्रतिस्पर्धा अब अर्को गठबन्धनसँगै हुने भएको छ। सत्ता गठबन्धनले अब एक्लै एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न पाउने छैन। कांग्रेसका असन्तुष्टलाई पनि ओलीले उपयोग गर्ने नीति लिएका छन्। कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारकी तयारी गरिरहेकालाई पनि एमालेले तालमेल गर्नेछ। काठमाडौंमा स्वतन्त्रबाट उम्मेदवार उठ्ने तयारी गरेका अब्दुस मियाँलाई ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धामा उतारको छ, गोरखा-२ बाट।

जसपाको ठाउँमा सत्ता गठबन्धनले लोसपालाई ल्याएको भए पनि जसपाको भरथेग लोसपाले भने गर्ने छैन। महन्थ ठाकुर नेतृत्वमा रहेको लोसपा जसपाजस्तो जनमत नरहेको गठबन्धनका नेताहरु बताउँछन्। जसपाबाट विभाजन भएर लोसपा बनेको थियो। लोसपा बन्दा कमैले मात्रै ठाकुरालाई साथ दिए भने अधिकांश नेता कार्यकर्ता जसपामै सक्रिय छन्। लोसपामा लागेका नेता कार्यकर्ता पनि कांग्रेस र एमालेमा प्रवेश गरेपछि लोसपा कमजोर छ जसपाको तुलनामा। त्यसैले पनि सत्ता गठबन्धनलाई जसपा अलग हुनुको असर प्रतिनिधि सभामा हुने देखिन्छ भने एमालेले तराइका जिल्लामा केहि सिट सुधार गर्ने बताइन्छ। एमाले नेताहरु पनि तराईमा एमालेको जनमत कमजोर भएकाले जसपासँग सहकार्य गर्नुपर्ने बाध्यता भएको बताउँछन्। ‘जसपाको तराईमा धेरै राम्रो छ। उसको जनतमका कारण पनि तालमेल हुँदा एमालेका लागि तराईमा राम्रो अवस्था हुन्छ,’ भट्टराईले भने।

जसपामै रहेका डा.बाबुराम भट्टराईले भने नेपाल समाजवादी पार्टी नेसपा बनाएका छन्। बाबुराम नेसपा बनाएपछि माओवादी केन्द्रसँग नजिकिएका छन् भने पार्टी एकताको गृहकार्य समेत अघि बढेको छ। भट्टराई आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोड्नको सांकेतिक अर्थ भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell