काठमाडौं : नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसाल सत्ता गठबन्धनको उम्मेदवार बन्ने भएका छन्। रुपन्देही-१ बाट गठबन्धनको उम्मेदवार बन्ने तय भएको भुसालले आइतवार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिए।'गठबन्धनले समर्थन गरेको स्वतन्त्र वाम उम्मेदवारका रुपमा आज उम्मेदवारी दर्ता गर्छु,' भुसालले भने।
माओवादी केन्द्रले आफ्नो पार्टीको चुनाव चिन्हमा उम्मेदवार बन्न भुसाललाई आग्रह गरेको थियो। तर, उनले स्वतन्त्र रुपमा उम्मेदवार हुने जवाफ माओवादी केन्द्रलाई दिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुसालको प्रतिनिधि सभाको टिकट खोसेपछि उनले शनिवार पार्टी नै परित्याग गरेका छन्।
प्रचण्डले के भने फोन गरेर?
स्वातन्त्र उम्मेदवार भएको घोषणा गरेका भुसाल अब राजनीतिक रुपमा भने गठबन्धनको उम्मेदवार भएका छन्। त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार राती १२ बजे भुसाललाई फोन गरेका थिए।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि प्रचण्डले भुसाललाई गठबन्धनको समर्थन रहने वचन दिएका हुन्। 'प्रचण्डले साढे १२ बजे फोन गरेर हाम्रो सम्पूर्ण शक्ति तपाइको पक्षमा लाग्छ भनेर भन्नुभयो,' भुसालले भने।
चार दशक लामो समय एमालेमा बिताएका भुसालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा विवाद भएपछि प्रचण्ड र तत्कालीन बरिष्ठ नेता माधवकुमार नेपालको पक्ष लिएका थिए। एमाले विभाजनका बेलामा भने उनले नेपललाई साथ दिएनन्।
१० बुँदे सहमतिमार्फत एमालेमा फर्किएका भुसाल पार्टीभित्र फरक मत राख्दै आएका थिए। ९ औं महाधिवेशनबाट उपमहासचिव चयन भएका भुसालले १० औं महाधिवेशनमा उपाध्यक्षमा चुनावी प्रतिस्पर्धा गरेका थिए।
'एमालेमा एक जनाको पहिचान छ अरुको छैन'
ओलीको आलोचक मानिने भुसालले पार्टी परित्याग पछि पनि ओलीको चर्को आलोचना गरेका छन्। पत्रकारहरुको जिज्ञासमा उनले पार्टी परित्याग गर्नुको कारण ओलीको कार्यशैली भएको बताए।
'कमरेड ओलीले भित्रका समस्या बाहिर लिनुभयो र पन्छाउन खोज्नुभयो। ओलीले कब्जा गरेपछि अरुको विवेकको मुल्य छैन। एक जनाको पहिचान छ अरुको छैन। यसो भएपछि मैले पार्टी परित्याग गरे,' भुसालको आरोप थियो।
एमाले र एकीकृत समाजवादी मौन
मनोनयनको अघिल्लो दिन पार्टी परित्याग गरेका भुसाल र ओलीबाटै टिकट नपाएका अर्का नेता भीम रावलबारे भने एमाले र एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले भने केही टिप्पणी गरेका छैनन्। भुसालले पार्टी परित्याग गरेर गठबन्धनको उम्मेदवार बन्ने तय गरे पनि रावल भने एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने निचोडमा छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेमा १० बुँदेमार्फत फर्किएका नेताहरुलाई ओलीको दास बनेको आरोप लगाउने गरेका थिए। तर, भुसालले एमाले नै परित्याग गरेपछि भने कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
ओलीको सरकारमा कृषि मन्त्री रहेका भुसालले ओलीले प्रतिनिधिसभा विघटन गरेलगतै राजीनामा दिएर मोर्चाबन्दीमा उत्रिएका थिए। जसबेला उनले ओलीलाई 'साइबर स्याल'को मात्रै साथ भएको भन्दै दिएको अभिव्यक्ति चर्चित बनेको थियो।
सडक आन्दोलनका बेलामा पनि प्रचण्ड-नेपालले भुसाललाई अग्र मोर्चामा राखेका थिए। तर, एमाले नै विभाजन गर्नमा भने भुसाल अघि बढेनन्। २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा रुपन्देहीबाटै निर्वाचित भुसाल एमालेमा वौद्धिक नेताको रुपमा लिने गरिएको छ।
यद्यपी उनले टिकट नपाएकै विषयमा मनोनयनको अघिल्लो दिनमात्रै पार्टी परित्याग गर्नु ठिक नभएको भन्दै उनको आलोचना पनि भइरहेको छ।