PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार मोहन बस्नेत



पहिलोपोस्ट

सिन्धुपाल्चोक २ मा कांग्रेसका उम्मेदवार मोहन बस्नेत

काठमाडौं : कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत सिन्धुपाल्चोक २ बाट उम्मेदवार बन्ने भएका छन्। क्षेत्र नम्बर १ बाट राजनीति गर्दै आएका बस्नेत यसपटक क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न लागेका हुन्। बस्नेतले यसअघि क्षेत्र नम्बर १ कांग्रेसले पाउनुपर्ने अडान राख्दै आएका थिए। क्षेत्र १ भागबण्डामा माओवादीलाई परेपछि उनी क्षेत्र २ मा आएका हुन्।

यसैगरी क्षेत्र २ को प्रदेश ख मा कृष्णकुमार तामाङ 'समीर' उम्मेदवार बन्ने भएका छन्। यसअघि यो क्षेत्रमा निमा लामाको नाम चर्चामा थियो। अघिल्लो निर्वाचनमा बाम गठबन्धन हुँदा जिल्लामा कम्युनिस्टको क्लिन स्विप रोकेका लामालाई यसपटक बस्नेतले रोकेको बताइएको छ। कृष्ण बस्नेतनिकट नेता हुन्।

यता क्षेत्र नम्बर १ को क मा पनि बस्नेत निकट मनकुमारी खड्का 'मसिना'ले टिकट पाएकी छिन्।

भागबण्डाअनसार प्रतिनिधि सभा तर्फ सिन्धुपाल्चोक क्षेत्र १ माओवादीलाई र सिन्धुपाल्चोक क्षेत्र २ कांग्रेसलाई परेको हो। माओवादीले क्षेत्र १ मा माधव सापकोटा 'सुवोध'लाई उम्मेदवार बनाउने भएको छ।

यस क्षेत्रको प्रदेश क कांग्रेसलाई परेको छ भने ख माओवादीलाई। माओवादीले यस प्रदेशमा सरल सहयात्रीलाई उम्मेदवार बनाउने तयारी गरेको छ। क्षेत्र २ को क मा माओवादीले युवराज दुलाललाई दोहोर्‍याउने भएको छ।

एमालेबाट को को?

नेकपा एमालेले प्रतिनिधि सभातर्फ सिन्धुपाल्चोक क्षेत्र १ मा सरेश नेपाललाई टिकट दिएको छ। नेपाल वाग्मती प्रदेश सभा सदस्यसमेत हुन्। एमालेका केन्द्रीय सदस्य उनी प्रदेश मन्त्रीसमेत भएका थिए। क्षेत्र नम्बर १ कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेत र सभामुख अग्नि सापकोटाकोसमेत निर्वाचन क्षेत्र हो।

यस क्षेत्रमा प्रदेश तर्फ क मा कमल नेपालले टिकट पाएका छन्। नेपाल सिन्धुपाल्चोक एमालेका जिल्ला अध्यक्ष हुन्। उनी २०७४ सालको स्थानीय निर्वाचन मा लिसङखुपाखर गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए।

यसैगरी प्रदेशसभा ख मा होमनारायन श्रेष्ठले टिकट पाएका छन्। उनी गाउँपालिका राष्ट्रिय महासङघका अध्यक्ष हुन् भने गत स्थानीय तहको निर्वाचन मा जुगल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए।

यता क्षेत्र २ मा शेरबहादुर तामाङले टिकट पाएका छन्। उनी एमाले स्थायी कमिटी सदस्य हुन्। तामाङले यसअघि यसक्षेत्रबाट पशुपति शम्शेर राणालाई हराएका थिए। क्षेत्र २ कै प्रदेश क मा भने माओवादी छोडेर एमाले प्रवेश गरेका अमानसिङ तामाङले टिकट पाएका छन्। तामाङ गत स्थानीय तहको निर्वाचनमा माओवादी पार्टीबाट चौतारासागचोक गढी नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए। यता प्रदेश सभा ख मा भने एमालेकै पूर्वजिल्ला अध्यक्ष हस्त पण्डितले टिकट पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell