
काठमाडौं : मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गराइरहेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आज झापाको क्षेत्र नम्बर ३ मा उनले उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनी झापाबाट विजयी भएका थिए। उनलाई नेकपा एमालेले समर्थन गरेको छ।
यता, पर्साका नेता जन्नत अन्सारीले स्वतन्त्र चुनाव लडने भएका छन् ।जनता समाजवादी पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका हुन्।
उनी पर्सा १ र २ को मतदान अधिकृतको कार्यालय पावरहाउस नजिक जिल्ला समन्वय समिति पर्सा नजिकै रहेको भौतिक पुर्वाधार विकास कार्यालयमा दलबलसहित उम्मेदवारी दर्ता गराउन पुगेका हुन्। जन्नत अन्सारीले क्षेत्र पर्सा १(क) बाट उम्मेदवारी दर्ता गराएका हुन्। टिकट बाँडफाँटमा असन्तुष्टी र एमालेसँगको सहकार्यपछि पर्सामा जसपालाई बागी उम्मेदवारको डर रहन सक्ने बताइएको छ। यहाँ एमाले-जसपाका साझा उम्मेद्वार विचारी यादव र सत्ता गठबन्धनका रहबर अन्सारी बिच प्रतिस्पर्धा हुने देखिएको छ।
प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको हो। उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ।
मनोनयनपत्र दर्ता उम्मेदवार स्वयम् उपस्थित भई वा प्रतिनिधिमार्फत गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ।