PahiloPost

May 23, 2025 | १० जेठ २०८२

उम्मेदवारी दर्तापछि कमल थापाले भने, ‘एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा’



पहिलोपोस्ट

उम्मेदवारी दर्तापछि कमल थापाले भने, ‘एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु खुसीको कुरा’

हेटौँडा : राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दर्ता गराएको छ। थापाले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन्।

उनी नेकपा (एमाले)सँगको सहकार्यमा चुनाव लड्दै छन्। एमालेको चुनाव चिह्नमा नै उनले चुनाव लड्ने भएका हुन्।

उम्मेदवारी दर्ता गराएपछि उनले एमालेसँग सहकार्य गरेर चुनाव लड्न पाउनु आफ्नो लागि खुसीको कुरा भएको बताए।

उनले भने, ‘चुनावमा विजयलाई सुनिश्चित गर्नको निमित्त मैले नेकपा (एमाले)कै चुनाव चिह्न सूर्यबाट प्रतिष्पर्धा गर्दैछु।’

मकवानपुर १ बाट थापालाई उठाएपछि एमाले नेता/कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन्। सो सन्दर्भमा थापाले एमाले एउटा ठूलो पार्टी भएको भन्दै निर्वाचनमा धेरै आकांक्षीहरु रहेका कारण आफूले एमालेको सहयोगमा चुनाव लड्दा निश्चय पनि केही नेताहरु त्यो अवसरबाट बञ्चित भएको बताए।

‘स्वभाविक रुपमा केही असन्तुष्टिहरु हुन सक्दछ। तर, मलाई लाग्छ एमालेका जिम्मेवार नेताहरुले यो कुरालाई बुझ्नुहुनेछ,’ उनले भने। 

एमालेसँगको सहकार्य केवल एक ठाउँमा चुनाव जित्नको निमित्तमात्रै नभएको उनको भनाइ थियो। मुलुकको विद्यमान संकट समाधानको निमित्त राष्ट्रिय परिवेशको एउटा आवश्यकताको रुपमा यो रहेको उनले बताए।

उनले भने, ‘यो वस्तविकतालाई बुझेर एमालेका साथीहरुसँग यो चुनावी अभियानमा एकताबद्ध भएर हामी लाग्नेछौँ भन्ने मलाई पूरा विश्वास छ। र, एमालेका साथीहरुलाई चित्त बुझाउन सक्छु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell