काठमाडौं : नेपाल सुशासन पार्टीका अध्यक्ष तथा पूर्व प्रहरी (डीआईजी) रमेश खरेलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आज दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। दिउँसो करिब २ बजे उनी आफैंले गाडी चलाएर कार्यालयमा उम्मेदवारी दिन पुगेका थिए। उनी पुग्दा उनका पछाडि केही युवाहरु पनि देखिन्थे। उम्मेदवारी दर्ता गराउन जाँदा कुनै नेता नभएर प्रहरीको फौजी नै आएको जस्तो देखिन्थ्यो।
सरकारले डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्त गरेपछि २०७४ चैत २८ गते खरेलले राजीनामा दिएका थिए। खरेल २०४५ सालमा भलिबल खेलाडीका रुपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। उनले पूर्व आईजी सर्वेन्द्र खनाल र पूर्व एआईजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते प्रहरी निरीक्षकको परीक्षा उत्तीण गरेका थिए। राजनीतिक रुपमा सरकारले महानिरीक्षक छानेको भन्दै उनले राजीनामा गरेका थिए। त्यसो त उनकै ब्याची सर्वैन्द्र खनाल पनि यतिखेर काठमाडौंबाट नै उम्मेदवारी दिँदै छन्। केही साता अघिमात्र एमालेमा प्रवेश गरेका खनाल काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिने तयारीमा छन्।
खरेलले राजीनामा दिएको केही समय उनी कतै सक्रिय रहेनन्। भ्रष्टाचार संस्थागत रुपमा मौलाएको भन्दै २०७६ फागुन २९ गते पूर्व डीआईजी खरेलको संयोजकत्वमा 'हाम्रो नेपाल सुशासन अभियान' शुरु भएको थियो। निर्वाचन आयोगमा पार्टी नै दर्ता गरेपछि खरेल तराईका जिल्लामा दौडधुपमा लागेका थिए।