
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह आफ्नो उम्मेदवारी दर्ता गर्न दिउँसो सवा २ बजे नयाँ बानेश्वरस्थित संसद भवन पुगे। दयाँबायाँ कांग्रेसका प्रदेश उम्मेदवार र दलबलसहित संसद भवनको पश्चिमी गेट पुग्दा उनलाई कार्याकर्ताले ताली बजाएर स्वागत गरे।
उनको बायाँतिर काठमाडौं क्षेत्र नम्बर १ को प्रदेश क मा दीपेन्द्र श्रेष्ठ थिए भने बायाँ प्रदेश ख का उम्मेदवार सुरजचन्द्र लामिछाने। अघिल्लोपटक यही क्षेत्रबाट उम्मेदवार बनेका तीनै जनालाई कांग्रेसले दोहोर्याएको हो। उक्त प्रतिस्पर्धामा प्रकाशमान र दीपेन्द्रले जित निकाल्दा लामिछाने भने झिनो मतान्तरले पराजित भएका थिए।
प्रतिस्पर्धी फेरिए, रवीन्द्रको नामै लिएनन्
गत निर्वाचनमा रवीन्द्र मिश्रसँग ७१९ मतान्तारले जितेका प्रकाशमानको यसपटक केही प्रतिस्पर्धी फेरिएका छन्। रवीन्द्र मिश्रले राप्रपाबाट उम्मेदवारी दर्ता गराइसकेका छन्। उनको अघिल्लो पटकको जस्तो 'चार्म' यसपाला देखिएको छैन। उम्मेदवारी दर्ताअघि प्रकाशमानले संक्षिप्त कुराकानी गर्दा प्रतिस्पर्धीबारे रवीन्द्रको नाम समेत लिन चाहेनन्।
रवीन्द्र मिश्र पनि निर्वाचनमा उत्रिएका छन्, यसलाई कसरी लिनुभएको छ? प्रश्नको जवाफमा प्रकाशमानले भने, 'सबैलाई उम्मेदवारी दिने स्वतन्त्रता छ। यो कांग्रेसले नै लडेर ल्याएको हक हो। प्रकाशमान मात्र निर्वाचनमा उत्रनुपर्ने भन्ने छैन।'
त्यसपछि प्रकाशमानले रवीन्द्रको नाम लिन चाहेनन्। बरु आफूले गरेको विकासको फेहरिस्त प्रस्तुत गरे।
'अघिल्लोपटकको निर्वाचनमा बरु सडक बिग्रिएका थिए। मतदाताले यसबारे सोध्थे,' प्रकाशमानले भने, 'यसपाली त मजाले विकास गरेको छु। त्यसैले ढुक्क छु।'
यसपटक नेकपा एमालेले युवा संघका अध्यक्ष किरण पौडेललाई प्रतिनिधि सभामा यस क्षेत्रबाट उम्मेदवार बनाएको छ। अघिल्लोपटक वाम गठबन्धनबाट माओवादीका अनिल शर्मालाई उम्मेदवार बनाएको थियो। निर्वाचनमा एमालेको धेरै मत रवीन्द्रको पक्षमा खसेको आँकलन गरिएको थियो। माधवकुमार नेपाल पक्षधरले भने अन्तिम अवस्थामा प्रकाशमानलाई साथ दिएका थिए। पौडेल केपी ओलीका नजिकका हुन्। प्रकाशमानले यसपाला प्रतिस्पर्धीमा रवीन्द्र भन्दा किरण पौडेल बलियो हुने देखेको हुनसक्छ जसका कारण उनले नाम लिन चाहेनन्।
यसै क्षेत्रबाट रवीन्द्रसँगै विवेकशीला साझामा कुनै समय सहयात्रा गरेका पुकार वम पनि उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारी दिएका वममात्र होइन पूर्व प्रहरी रमेश खरेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। धेरै स्वतन्त्र उम्मेदवार हुँदा प्रकाशमान सिंहलाई यसपाला पहिलेको तुलनामा सहज स्थिति बनेको छ।
प्रदेश सभातर्फ यस क्षेत्रमा आत्माराम शर्मा र गणेश दुलाललाई एमालेले उम्मेदवार बनाएको छ। उनीहरुले पनि पौडेलसँगै पुगेर मनोनयन पत्र दर्ता गराएका छन्। सत्ता गठबन्धनतर्फ भने सबै कांग्रेसका मात्र उम्मेदवार रहेका छन् काठमाडौं १ मा।