PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

संसदीय चुनावमा आफू गठबन्धनको विरोधी नभएको शेखरको स्पष्टोक्ति, ‘आगामी संसद्मा कांग्रेसको नेतृत्व’



पहिलोपोस्ट

संसदीय चुनावमा आफू गठबन्धनको विरोधी नभएको शेखरको स्पष्टोक्ति, ‘आगामी संसद्मा कांग्रेसको नेतृत्व’

विराटनगर : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसदीय चुनावका सन्दर्भमा आफू गठबन्धनको विरोधी नभएको स्पष्ट पारेका छन्। आइतवार विराटनगरमा मोरङको क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले संसदीय चुनावमा गठबन्धनको विरोधी नभएको जवाफ दिएका हुन्।

नेता कोइरालाले आफू स्थानीय चुनावका सन्दर्भमा भने गठबन्धनको विरोधी भएको बताए।

कोइरालाले भने, ‘स्थानीय चुनाव भनेको पार्टीको सङ्गठनको जग मजबुत पार्ने अवसर हो। त्यसैले स्थानीय चुनाव एक्लाएक्लै लड्नुपर्छ भन्ने मेरो भनाइ हो। संसदीय चुनावलाई अर्कै ढङ्गले लिनुपर्छ। यसमा गठबन्धन गर्न सकिन्छ।’

उनले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको सरकारबाट संविधान ‘डिरेल’ गर्ने काम भएकाले संविधानलाई ट्र्याकमा ल्याउन गठबन्धनको आवश्यकता भएको धारणा प्रकट गरे।

उनले नेपालको इतिहासमा हरेक १०/१५ वर्षमा केही न केही अनपेक्षित घटना हुने गरेको उल्लेख गर्दै केपी ओलीको सरकारले संविधानमाथि गरेको आक्रमण पनि त्यसैको एक उपक्रम भएको बताए। कोइरालाले २०४७ को संविधान पनि आफूहरुले केही संशोधन नगरी फालेको भन्ने चर्चा गरे।

‘संविधान भनेको त डाइनामिक अभिलेख हो’, उनको भनाइ थियो, ‘यो आवश्यकता र समयअनुसार परिवर्तन हुँदै जान्छ। कुनै पनि संविधान स्वयंमा खराब हुँदैन। तर, यसलाई प्रयोग गर्नेहरूमै समस्या भयो भने अर्कै परिस्थिति उत्पन्न हुन्छ।’

चुनावपछि संसद्मा काङ्ग्रेसको नेतृत्व

नेता कोइरालाले मंसिर ४ को निर्वाचनपछिको संसद्मा नेपाली कांग्रेसले नेतृत्व गर्ने घोषणा गरे।

उनले भने, ‘यसमा कुनै शङ्का नै छैन, चुनावपछिको संसद्को नेतृत्व नेपाली कांग्रेसको हुनेछ।’

के तपाई प्रधानमन्त्रीको उम्मेदवार हो भन्ने एक प्रश्नमा उनले भने, ‘अहिले धेरै समय बाँकी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell