PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रुपन्देही ५ मा एमालेको दोहोरो उम्मेदवारी : पहिले बासुदेवको, त्यसपछि ओलीको पत्र देखाएर खिमलालको



विधुर ढकाल

रुपन्देही ५ मा एमालेको दोहोरो उम्मेदवारी : पहिले बासुदेवको, त्यसपछि ओलीको पत्र देखाएर खिमलालको

बुटवल : रुपन्देही ५ मा नेकपा एमालेबाटै दुई जनाको उम्मेदवारी परेको छ। शुरुमा बासुदेव घिमिरेले ३:३० मा उम्मेदवारी दर्ता गराए। त्यसपछि अर्का नेता खिमलाल भट्टराईले पौने पाँच बजे उम्मेदवारी दर्ता गराए।

दुबै जनाको मनोनयनपत्रमा दलको नाम नेकपा एमाले उल्लेख छ।

आइतवार र्‍यालीसहित उम्मेदवारी दर्तामा घिमिरे निर्वाचन अधिकृतको कार्यालयमा पुग्दा काठमाडौंबाट विमानमार्फत भैरहवा उत्रँदै थिए नेता खिमलाल भट्टराई। भैरहवा विमानस्थलमा खिमलाल उत्रिँदा धेरैले सोचेका थिए - उम्मेदवारी दर्ताका लागि साथ दिन आएका होलान्।

तर उनी दलबलसहित निर्वाचन अधिकृतको कार्यालयतिर लागे। अनि रुपन्देही क्षेत्र ५ मा ४: ४५ बजे आफ्नो उम्मेदवारी दर्ता गराए। शनिवार एमालले यस क्षेत्रका लागि तिलोत्तमा नगरपालिकाका पूर्व मेयर घिमिरेलाई एमालेले टिकट दिएको थियो। रुपन्देही ३ बाट सिफारिस भएका घिमिरेलाई एमालेले ५ बाट टिकट दिएको थियो।

ओलीको पत्र लिएर खिमलालको उम्मेदवारी

काठमाडौंबाट भैरहवा उत्रिँदा खिमलालसँग ओलीको पत्र थियो। जसमा लेखिएको थियो - उपरोक्त सम्बन्धमा रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ मा भुलवश वासुदेव घिमिरेको नाममा औपचारिक पत्र पठाइएकोमा सो सच्याई खिमलाल भट्टराईको नाममा औपचारिक पत्र पठाएको व्योहरा अनुरोध छ। निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै लेखिएको उक्त पत्र लिएर उनले उम्मेदवारी दिएका हुन्। रुपन्देही ५ बाट खिमलाल भट्टराईलाई एकल रुपमा सिफारिस गरेको थियो। भट्टराई एमालेका राष्ट्रिय सभाका प्रमुख सचेतक हुन्। यसै क्षेत्रका भट्टराई पछिल्लो समय निर्वाचन क्षेत्र निर्माणमा खटिएका थिए।

स्थानीयसमेत रहेको भट्टराईलाई पछि पार्दै रुपन्देही ३ का घिमिरेले टिकट फुत्काएका थिए। शनिवार रातभरको सक्रियतापछि खिमलालले आफ्नो क्षेत्र जोगाएको बताइएको छ।

अब के हुन्छ?

एकै दलबाट दोहोरो उम्मेदवारी परे के हुन्छ? धेरैको चासोको विषय हो यो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो दर्ता गराएको उम्मेदवारले मान्यता पाउँछ। 'पहिला दर्ता गराएकोले मान्यता पाउँछ,' प्रवक्ता पौडेलले भने। तर यसबारे निर्वाचन अधिकृतले निर्णय गर्ने उनले बताए।

ओलीको पत्रलाई आधार मानेर खिमलालको टिकट सदर हुने हो कि अथवा बासुदेवको? त्यो भने निर्वाचन अधिकृतको निर्णय पर्खनैपर्ने हुन्छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell