PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

टिकटका लागि देखिएका रोचक दृश्य : कसैले चाहेर पनि नपाउने, कोही पाएर पनि त्याग्ने... 



प्रकाश भण्डारी

टिकटका लागि देखिएका रोचक दृश्य : कसैले चाहेर पनि नपाउने, कोही पाएर पनि त्याग्ने... 

काठमाडौं : प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउन रस्साकस्सी नै हुने गर्छ। त्यो यसपटक पनि दोहोरियो। टिकट बाँड्न शीर्ष नेताले सुत्नसम्म पाएनन्। निर्वाचनको समयमा भिड्नका लागि नेताहरुको दौडधुपमा मुख्यगरी रोचक दुई दृश्य देखिए - कोहीले पाएकै टिकट नलिने, अनि कसैले चाहि टिकटका लागि चोटाकोठा धाउँदा पनि नपाउने।

टिकट पाउँदा पनि नलिनेमा पर्छन् - एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र सभामुख अग्नि सापकोटा। शाक्यले काठमाडौं-८ मा पार्टीले दिएको टिकट अस्वीकार गरिन् भने सापकोटाले चुनावै नलड्ने घोषणा गरे। गठबन्धनबाट ढुक्कले टिकट पाउने भएकाले सिन्धुपाल्चोक १ बाट चुनाव लड्ने तयारी गरेका थिए सापकोटाले।

शाक्यले संसदीय राजनीतिबाट अलग हुन उम्मेदवार नबनेको बताएकी छिन्। यसअघि शाक्य प्रतिनिधिसभा विघटनका बेलामा एमालेका अध्यक्ष ओलीको विरुद्ध र पार्टी विभाजनका बेलामा तत्कालीन बरिष्ठ नेता माधव नेपालविरुद्ध उभिएकी थिइन्। एमालेबाट वाग्मती प्रदेशकी मुख्यमन्त्री बनेकी शाक्यले यसपाला भने संसदीय यात्रामा स्वेच्छिक अवकास लिने निर्णय गरेकी हुन्। जसलाई एमालेका नेता/कार्यकर्ता प्रशंसा गरेका छन्।

जसले पनि त्यागे टिकट...

पाएर पनि टिकट त्याग्नेमै पर्छन् एमालेका स्थायी कमिटी सदस्य प्रभु साह पनि। तर, उनले टिकट त्यागेको भने एमालेसँगको असन्तुष्टिका कारण हो। जनता समाजवादी पार्टी जसपासँगको एमालेको तालमेललाई अपवित्र भनेका छन् साहले। माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका साह यसअघि पनि अध्यक्ष ओलीसँग असन्तुष्ट बनेका थिए।

त्यतिबेला असन्तुष्टि टालटुल बनाए पनि प्रतिनिधि सभाको चुनावका बेला टार्न सकेनन् ओलीले। साहले एमालेविरुद्ध रौतहट-३ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। जसको केही क्षति एमालेलाई हुने नै छ तराईका जिल्लामा। तर जसपाले कति भरथेग गर्छ त्यसैमा भर पर्ने छ एमालेको तराईको जनमत। यसरी टिकट पाएर पनि चुनाव लड्न नचाहनेमा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली पनि अर्का नेता हुन्।

उनले आफूलाई सक्रिय राजनीतिमा रहने मन नभएकाले यसपटक सांसद नहुने अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी गराएका थिए। माओवादी पृष्ठभूमिका एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले पनि पार्टीले दिएको टिकट लिएर चुनावमा गएनन्। उनलाई एमालेले काठमाडौं-७ बाट उम्मेदवार बनाउन चाहेको थियो। 

चाहेर पनि नपाउनेहरु...

ठूला नेताका कोठादेखि चोटासम्मै भिडभाड थियो, टिकटका लागि। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका ठुला दलमा टिकटका लागि मारामार हुनु  स्वभाविकै पनि हो। किनकी नेतालाई आकांक्षी व्यवस्थापनको सकस जो थियो। अर्कोतिर दलहरुले गठबन्धन गरेर जाने अभ्यासका कारण पनि असन्तुष्ट हुनेको संख्या कम छैन।

चाहेरै पनि टिकट नपाउनेमा अरु दलको तुलनामा नेपाली कांग्रेसमा नेताहरुको संख्या धेरै छ। डा. स्वर्णिम वाग्लेदेखि मिनेन्द्र रिजालसम्मलाई कांग्रेसले प्रतिनिधिसभाको उम्मेदवार बनाएन। जसले अन्तिमसम्म पनि लविङ जारी राखेका थिए। कांग्रेसको टिकट आफ्नो भागमा पार्न असफल हुने मध्यमै पर्छन् डा. गोविन्द पोखरेल पनि। उनले स्वतन्त्र उम्मेदवारी दिने चर्चा चले पनि अन्तत: उनी त्यसबाट पछि हटेका छन्।

नेकपा एमालेका नेता डा. भीम रावलले पनि यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने अवसर पाएनन्। २०७४ मा अछाम-१ बाट चुनाव जितेका रावलले यसपटक पनि उक्त क्षेत्रमा चुनाव लड्ने तयारी गरेका थिए। जिल्लाबाट एकल सिफारिस भएका रावलको टिकट एमाले अध्यक्ष केपी शर्मा ओलीले खोसिदिए। ओलीसँग असन्तुष्ट रावलले स्वतन्त्र उम्मेदवार उठ्ने चेष्ट गरेनन्। तर, उनका पक्षमा रहेका नेता कार्यकर्ताले अछाममा ओली विरुद्ध नारावाजी गरेका थिए। ओलीले रावलविरुद्ध प्रतिशोध साँधेको भन्दै रावलपक्ष आक्रोशित बनेको हो।

पार्टी छाडेर स्वतन्त्र बन्नेको लहर

टिकट पाउन मरिहत्ये गर्ने र पाएको पनि त्याग्नेका अलवा अर्को देखिएको दृश्य हो-पार्टीले टिकट नदिएपछि स्वतन्त्र उठ्ने। जसमा एमाले त्यागेका नेता घनश्याम भुसाल धेरैले चिनेको अनुहारमा पर्छन्। उनलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको उम्मेदवार बनाएनन्। जसको झोंकमा उनले एमाले नै परित्याग गरे।

कतिसम्म भने एमाले विभाजन भएर एकीकृत समाजवादी बन्दासमेत भुसालले पार्टी त्यागेनन्। हाल भने उनले एमालेमा ओली बाहेकको पहिचान नभएको भन्दै स्वतन्त्र तर्फबाट सत्ता गठबन्धनको समर्थनमा रुपन्देही-१ बाट उम्मेदवारी दिएका छन्।

यसरी असन्तुष्ट भएर स्वतन्त्राट उम्मेदवार हुनेमा एमालेकै अर्का नेता रामवीर मानन्धर पनि हुन्। उनले काठमाडौं-७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। जहाँ गठबन्धनका तर्फबाट नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराई उम्मेदवार छन् भने जसपाका राजेन्द्र श्रेष्ठ पनि चुनावी मैदानमा छन्। श्रेष्ठलाई एमालेले अघोषित रुपमा सघाउने नीति बनाएको छ।

नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सभापति अजयकुमार द्विवेदीले पर्सा १ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन्। असन्तुष्ट भएर स्वतन्त्र उम्मेदवार हुनेकै सूचीमा अटाउँछन् नेपाली कांग्रेसका नेता दिनेश कोइराला पनि। पार्टीले टिकट नदिएपछि चितवन ३ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् कोइरालाले। काठमाडौँमा क्षेत्र नं ३ मा कांग्रेसका पूर्व नगर सभापति श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दिदा दाङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा (एमाले)की निवर्तमान सांसद गंगा चौधरी सत्गौवाले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराइन। 

एकै पार्टीका दुई उम्मेदवार
यसपटक रोचक त अर्को के पनि देखियो भने एकै पार्टीका दुई जनाले एउटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गरे। रुपन्देही ५ मा नेकपा एमालेबाटै दुई जनाको उम्मेदवारी पर्‍यो। शुरुमा बासुदेव घिमिरेले ३:३० मा उम्मेदवारी दर्ता गराए।

त्यसपछि अर्का नेता खिमलाल भट्टराईले पौने पाँच बजे उम्मेदवारी दिए। घिमिरेले उम्मेदवारी दर्ता गराए पनि भट्टराईले ओलीको हस्ताक्षर सहितको भुलसुधार पत्र लिएर उम्मेदवारी दर्ता गरे। निर्वाचन अधिकृतको कार्यालयले दुबै जनाको दर्ता  गरेको छ। तर, कसको मान्य हुने र कसको उम्मेदवारी अस्वीकार हुने भन्नेबारेमा भने आयोगले केहि निर्णय गरेको छैन।

निर्वाचन आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने पहिलाको उम्मेदवारी मान्य हुने बताएका छन्। शनिवार घिमिरेले टिकट पाएकोमा ओलीले आइतवार खोसेर भट्टराईलाई दिएका हुन्।

जेलबाटै उम्मेदवारी, फरार सूचीका पनि उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनमा देखिएको अर्को दृश्य हो - जेलबाटै उम्मेदवारी दर्ता। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले वारेस प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत बर्दिया-२ बाट उम्मेदवारी दर्ता गराएका छन्।

टिकापुर घटनामा संलग्न रहेको आरोपमा चौधरी जेल जीवन बिताइरहेका छन्। उनले २०७४ को निर्वाचनमा पनि चुनाव जितेको भए पनि अदालतले जेलमा राख्न आदेश भएपछि उनी सांसद हुन पाएनन्।

जेलबाटै उनले नागरिक उन्मुक्ति पार्टी गठन गरेका थिए। प्रतिनिधिसभाको उम्मेदवारको अयोज्ञता सम्बन्धि व्यवस्थामा कैद भुक्तान गरिरहेकाबेला उम्मेदवार हुन नपाइने भए पनि चौधरीको उम्मेदवारी दर्ता भएको हो। निर्वाचन आयोगले उनको उम्मेदवारीलाई मान्यता दिने छ या अयोग्यताका आधारमा अस्वीकार गर्ने छ भन्ने निर्णय भइसकेको छैन।

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’मा प्रहरीको फरार सूचीमा रहेका डिबी लामाले वारेसनामामार्फत उम्मेदवारी दर्ता गरेका छन्। एमालेका तर्फबाट उम्मेदवार रहेका उनले कानुन व्यवसायी शशी आचार्यमार्फत उम्मेदवारी दर्ता गराएका हुन्। आफै उपस्थित हुँदा प्रहरीले पक्राउ गर्न सक्ने भएपछि उनले वारेसनामा मार्फत उम्मेदवारी दर्ता गराएको एमाले स्रोतले बताएको छ।

लामाविरूद्ध इलाका प्रहरी कार्यालय बाह्रबिसेले ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो। रोजिन बस्नेतसहित ६ जनाको किटानी जाहेरीमा जेठ २ गते उनीविरूद्ध मुद्दा दर्ता भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell