पोखरा : गण्डकी प्रथम मुख्यमन्त्री तथा एमालेका महासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। उनी लमजुङ २ बाट प्रतिस्पर्धामा उत्रिदै छन्। पृथ्वीसुब्बाको प्रतिस्पर्थी रहेका छन् सत्ता गठबन्धनबाट माओवादी महासचिव देव गुरुङ।
यस्तै गोरखा क्षेत्र नं २ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्वाचनमा होमिदै छन्। बाबुराम भट्टराईको क्षेत्र रहेकामा उनले चुनाव नलड्ने भएपछि अध्यक्ष प्रचण्डले गोरखा रोजेका हुन्। यस्तै यता तनहुँ क्षेत्र नं १ बाट कांग्रेसका रामचन्द्र पौडेल चुनावमा होमिदै छन्। यता कांग्रेस उपसभापति धनराज गुरुङ स्याङ्जा २ बाट निर्वाचनमा होमिएका छन्। यसै क्षेत्रमा नेकपा एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्यालले स्याङ्जा क्षेत्र नं २ मा मनोनयन दर्ता गराएकी छिन्।
गण्डकीका पूर्व अर्थमन्त्री एमालेका किरण गुरुङ तनहुँ २ बाट मनोनयन दर्ता गराएका छन्। यता तनहुँ १ (ख) मा गण्डकीका पूर्व कानून मन्त्री (माओवादी केन्द्र)हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन्।
एमालेकै सहायतामा मनाङेको उम्मेदवारी
सत्ता फेरबदलमा निर्णयक भूमिका खेलेका गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मनाङ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। गण्डकीमा एमालेको गुरुङ सरकार ढलाउन सहायता गरेका मनाङेलाई निर्वाचनमा भने एमालेले नै सहयोग गर्ने भएको छ। उनलाई निर्वाचनमा कांग्रेस र एमाले दुबैले सहयोग गर्दै छन्। उनले यसअघि पनि एमालेकै समर्थनमा स्वतन्त्र उमेदवारी दिएर निर्वाचन जितेका थिए।
पूर्व पर्यटन राज्यमन्त्रीको कास्कीमा बागी उम्मेदवारी
यता कास्की २ मा गठबन्धनले एकीकृत समाजवादीबाट श्रीनाथ बराललाई उमेदवार उठाएपछि बागी उम्मेदवारी परेको छ। पूर्व पर्यटन राज्यमन्त्री रहेका कांग्रेस नेता महादेव गुरुङले बागी उमेदवारी दिएका हुन्।
कास्कीमा को कता?
तीनवटा क्षेत्र रहेको कास्कीमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र गठबन्धन बिच प्रतिस्पर्धा हुँदै छ। प्रतिनिधि सभा तर्फ कास्की १ मा एमालेका मनबहादुर गुरुङले मनोनयन दर्ता गराएका छन्। उनी एमाले कास्कीका अध्यक्ष हुन्। उनको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरदत्त बराल छन्। बराल कास्की कांग्रेसका सभापति पनि हुन्।
यस्तै कास्की २ मा विद्या भट्टराईलाई दोहोराएको छ एमालेले। उनको प्रतिस्पर्धामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्रीनाथ बराल छन्। यस्तै कास्की ३ मा एमालेका दामोदर बैरागी चुनावमा होमिंदा माओेवादी केन्द्रका रामजीप्रसाद बराल प्रतिस्पर्धामा छन्। बराल गण्डकीका बहालवाला अर्थमन्त्री पनि हुन्।
त्यस्तै प्रदेश तर्फ कास्की १ (क) बाट खगराज अधिकारीले मनोनयन दर्ता गराएका छन्। उनी गण्डकीका प्रस्तावित मुख्यमन्त्री हुन्। उनको प्रतिस्पर्धामा माओवादी केन्द्रका नेता दीपक कोइराला छन्। कोइराला गण्डकीका पूर्व प्रदेश सभा सदस्य हुन्। यता कास्की १(ख)मा एमालेका बेदबहादुर गुरुङ मैदानमा छन् भने नेपाली कांग्रेसबाट दीपक गुरुङ।
कास्की २(क)मा एमालेका भिम कार्की चुनावी मैदानमा हुँदा माओवादी केन्द्रका तर्फबाट विश्वप्रकाश लामिछाने छन्। त्यस्तै २(ख)मा एमालेबाट मिना गुरुङ र कांग्रेसबाट बिन्दुकुमार थापा प्रतिस्पर्धामा छन्। दुबै पुर्वसांसद हुन्।
कास्की ३ (क)मा एमालेका गणेशमान गुरुङ र माआवादी केन्द्रका दुर्गादत्त भण्डारी प्रतिस्पर्धामा छन्। यता ३(ख) मा एमालेका राजीब पहारी र कांग्रेसका प्रकाश बरालबिच प्रतिस्पर्धा हुँदै छ।