PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काठमाडौं उपत्यकामा किन बढ्यो चिसो?



रासस

काठमाडौं उपत्यकामा किन बढ्यो चिसो?

काठमाडौं : देशको राजधानी काठमाडौं उपत्यकामा चिसोपना बढेको छ। मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशसभाको निर्वाचनका कारण राजनीति तातिए पनि राजधानी काठमाडौँलगायत कतिपय स्थानमा चिसो बढेको छ।

त्यसो त, नेपालमा मनसुन जारी छ। यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिएपनि बङ्गालको खाडी आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव पर्‍यो। जसका कारण मनसुन झण्डै दुई साता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आखिर किन चाँडै चिसो बढ्यो त! महाशाखाका मौसमविद् हिरा भट्टराईका अनुसार - जाडो सुरु भएको नभएको अवस्थामा अहिलेको विकसित मौसमी प्रणालीले काठमाडौँमा केही चिसो महशुस गरिएको हो। घाम खुलेर लागेपछि तापक्रम सन्तुलतमा आउने उनको भनाई छ।   

उक्त मौसमी प्रणालीका कारण एक सातादेखि देशभर बदली र वर्षा गराएको छ। दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। ती प्रदेशका केही स्थानमा भारी वर्षा पनि मापन गरिएको छ।

पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाडौँमा केही चिसो महशुस गरिएको मौसमविद् भट्टराईको भनाई छ।। 'बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडो याम सुरु भएको होइन। लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो,' उनको भनाई छ।

मनसुन सकिएर ‘पोष्ट मनसुन’को समयपछि सामान्यतया जाडो सुरु हुन्छ। अहिले मनसुन सकिने क्रममा छ। नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडो याम मानिन्छ। 'जाडो सुरु भइसकेको अवस्था हैन, दुई तीन दिन ठूलो पानी पर्‍यो पानी परेपछि तापक्रम तल झर्छ। सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ। आजदेखि घाम लाग्न थालेको छ। घामलाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ, ' भट्टराईको भनाई छ।

काठमाडौँमा अधिकत तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो। पछिल्लो वर्षाले एक्कासी अधिकतम र न्यूनतम तापक्रम घटेकाले चिसो बढेको जनाइन्छ। विगत तीन दिनयता काठमाडौँका न्यूनतम १७ र अधिकतम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ। केही दिनयतादेखि काठमाडौँमा बिहान र बेलुका बढी चिसो महशुस गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell