PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

युवामा बढ्दैछ मानसिक स्वास्थ्यको समस्या, 'नेगेटिभ स्टेरियोटाइपले नर्मल देखिन गाह्रो'



रिना थापा

युवामा बढ्दैछ मानसिक स्वास्थ्यको समस्या, 'नेगेटिभ स्टेरियोटाइपले नर्मल देखिन गाह्रो'
Photo : Everyday Health

पोखरा : केही समय अगाडिदेखि मानसिक समस्यासँग जुधिरहेकी प्रिया पौडेल (नाम परिवर्तन) लाई आफ्नो समस्याका कारण अनेकथरि लाञ्छनाको सामना गर्नुपर्‍यो। मानसिक स्वास्थ्यसँग सम्बन्धित मानिसको परम्परागत सोचको सामना गरेको तीतो अनुभव छ प्रियासँग। अनेकौँ टिप्पणीका कारण उनको मानसिक स्वास्थ्यमा थप असर पुर्‍याएको नमिठो सम्झना छ उनको। मानसिक स्वास्थ्यमा आएको समस्याकै कारण केही समय उनको दैनिक जिन्दगीमा अस्र पनि गर्‍यो। सबैको अगाडि सामान्य व्यवहार गर्न उनको लागि सकसपूर्ण थियो।

‘दैनिकी कुनैबेला चाहिँ नर्मल हुँदैन। तर, नर्मल बनाउने कोसिस चाहिँ गरिराखेको हुन्छु। जष्ट लाइक मेरो केसमा चाहिँ मैले आफूलाई एकदमै नर्मल बिहेब गर्छु सबैका अगाडि भनेर नचाहाँदा र नसक्दा पनि आफूलाई नर्मल बिहेब गरेको प्रिजेन्ट गर्नुपर्थ्यो,’उनले आफनो अनुभव सुनाईन्,‘काम जाँदा होस् वा साथी सबै सर्कलमा चाहिँ नर्मल नै देखाउनुपर्थ्यो। दैनिकीमा एकदम हार्म हुन्थ्यो पहिले चाहिँ।’

तर, मनोरोग विशेषज्ञसँगको परामर्शपछि उनी आफनो सामान्य जीवनमा फर्किदै छिन्। कहिलेकाहीँ अझै पनि समस्या त भोग्नुपर्छ, यद्यपी चिकित्सकसँगको परामर्शपछि भने उनको समस्या समाधान हुँदैछ।

अझै पनि समाजमा मानसिक रोगको समस्यालाई हेर्ने नजर परम्परागत रहेको उनको बुझाइ छ। यसबारे सचेतना कम हुँदा पनि मानसिक रोगको समस्यासँग जुधिरहेकालाई समाजले आ–आफनो तर्क दिएर हेर्न गलत व्यवहार रहेको उनी बताउँछिन्।

‘कुनैपनि मान्छेमा मेन्टल हेल्थ प्रबलम छ भनेर जब समाजलाई थाहा हुन्छ त्यसपछि उनीहरुको छुट्टै कुरा हुन्छ। पागल भइसक्यो बौलाहा हो भनेर भन्न थाल्छन्। झन् हाम्रो युवाहरुलाई भयो भने उनीहरुको बारेमा अनुमान लगाएर कुरा गर्छन्। एउटा नेगेटिभ स्टेरियोटाइप दिइरहेको हुन्छ मेन्टल हेल्थलाई। बुझाइ कम भएर पनि होला,’उनले सुनाईन् ।

प्रियाको जस्तै अनुभव छ सञ्जय गुरुङको पनि। केही समय मानसिक रोगको समस्यासँग जुधेका उनी अहिले सामान्य जीवनमा फर्किसकेका छन्। मनोरोग विशेषज्ञसँगको परामर्शपछि उनी आफनो सामान्य दैनिक जीवनमा फर्किन सक्ने भएका हुन्।

निको हुन्छ 'डिप्रेसन'को समस्या 

मानसिक रोगको समस्या भएका अधिकांश व्यक्ति उपचार गराउन चाहँदैनन्। चिकित्सकको परामर्शमा जान उनीहरु रुचाउँदैनन्। नेपाल स्वास्थ्य रिसर्च हेल्थ काउन्सिलले गरेको सर्वेक्षण्ले पनि यहीँ देखाउँछ। विभिन्न गलत भ्रमका कारण पनि उनीहरु चिकित्सकको परामर्शमा आउन नचाहेको बुझाइ मनोरोग विशेषज्ञ र मनोविद्हरुको छ।

औषधी सेवनपछि बानी पर्ने, सामान्य जीवनमा फर्किन नसकिने जस्ता अनेकौँ भ्रम छन् समाजमा। तर, यो भ्रममात्र रहेको तर्क राख्छन् मनोरोग विशेषज्ञ। डिप्रेसन रोग पूर्णरुपमा निको हुन सक्ने र व्यक्ति आफनो सामान्य अवस्थामा उत्तिकै क्रियाशिल भएर फर्किन सक्ने बताउँछन् मनोरोग विशेषज्ञहरु। मानसिक रोग लाग्दैमा निको नहुने वा सामान्य दैनिकीमा फर्कन नसक्ने भन्ने गलत धारण रहेको बताउँछिन् मनोरोग विशेषज्ञ डा. लिपा वैद्य।

‘डिप्रेसनमा रिकल हुन पनि सक्छ नहुन पनि सक्छ। एपिसोड हुन पनि सक्छ कसैलाई वान एपिसोड मात्र हुनपनि सक्छ। लक्षणहरु भएकोलाई ६ देखि ९ महिना खानुपर्छ बिस्तारै औषधी घटाएर बन्द गर्ने भन्छ यो चाहिँ पहिलो एपिसोडको लागि मात्र,’उनले भनिन्।

समाजले मानसिक उपचार गराइरहेको व्यक्तिलाई हेर्ने दृष्टिकोण पनि गलत रहेको बताउँछिन् उनी। ‘मानसिक रोगको औषधी खायो भन्दैमा पागल भएको होइन। अवसर दियो भने उसले पनि गर्न सक्छ। उसले आफनो क्यापबिलिटि त गुमाएको छैन नि अलिकति त्यसले गर्दा असर त गरेको हुन्छ तर औषधीले गर्दा ठीक त हुन्छ नि। राम्रो प्रफम गर्न सक्छ,’उनले भनिन्।

यद्यपि, पछिल्लो समय यसबारे सचेत भएर उपचारको लागि आउनेको संख्या पनि बढेको बताउँछिन् उनी। मुख्यगरि पछिल्लो समय 'एन्जाइटी'को समस्या भएका बिरामीको केसहरु बढीरहेको उनले बताईन्। केहीकेही बिरामीहरु आफूलाई के भइरहेको भन्ने जानकार भएर आउने गर्छन्।

‘पहिले आउनै नखोज्ने आजभोलि चाहिँ थोरै भएपनि एकदमै ड्रयासटिक चेन्ज त छैन तैपनि अहिले अलिकति सचेतना छ। मलाई यस्तो रहेछ यसमा उपचार गर्दाखेरि सञ्चो हुने रहेछ भनेर आउने हुनुहुन्छ,’उनले भनिन्।

तर पनि बिरामी ढिलो गरेर आउने गरेको उनले सुनाईन्।

‘एन्जाइटी डिप्रेसन थोरै थोरैहुँदा खेरि हाम्रोमा आएको नै हुँदैन यहाँ आउँदा चाहिँ ट्रिमेन्ट चाहिएको अवस्था हुन्छ। बढी भइसकेको हुन्छ। माइल्ड छ भने केही दिन कुर्न सकिन्छ। सबैलाई ट्रिमेन्ट सुरु गर्नुपर्छ भन्ने पनि छैन,’ उनले भनिन्।

‘मानसिक रोगको समस्या पहिले भन्दा बढ्दै छ’

मानसिक रोगको क्षेत्रमा विगत लामो समयदेखि काम गर्दै आएको छ राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठन, कोशिश नेपालले। कोशिश नेपालले विगत डेढ वर्षदेखि पोखरामा पनि आफनो शाखा कार्यालय स्थापना गरेर यस क्षेत्रमा काम गरिरहेको छ। पोखराबाट प्रोजेक्ट कोडिनेटरको रुपमा समेत कार्यरत रहेका सुदिप घिमिरे पोखरामा मानसिक रोगको समस्या युवामा बढ्दै गएको बताउँछन्।

‘पहिलेको भन्दा बढी राखेको छ। तनावपूर्ण जीवन छ भने मानसिक स्वास्थ्यमा हिट गर्छ। हाम्रोमा सबै एज ग्रुप छ बेसिकली धेरै टिनेजमा छ। पारिवारिक, सामाजिक वा आर्थिक समस्या युवाहरुमा हेर्‍यो भने अफेयर, पढाईको समस्याले तनाव हुने गरेको देखिन्छ,’उनले भने।

समस्या दिनादिनु बढ्दै गए पनि यस क्षेत्रमा नेपाल सरकारको ध्यान जान नसकेकोमा उनको गुनासो छ।

‘मानसिक स्वास्थ्य भन्ने बित्तिकै नेपाल सरकारको कम प्राथमिकतामा परेको विषय हो यो। यो क्षेत्रमा काम गर्ने जनशक्ति कम छ। तपाईँलाई शारिरीक समस्या भयो भने हस्पिटल जता पनि छ तर तपाईँलाई मन दुख्यो भने तनाव भयो भने कहाँ जाने? जाने ठाउँ छैन नि यो भएको हुनाले जनसंख्या अनुसार जनशक्ति एकदमै थोरै छ। यो विषयलाई समुदाय पनि अलिकति फरक दृष्टिकोणबाट हेर्छ,’ उनले भने।

उनले भने जस्तै यस क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिको अभाव पोखरामा पनि छ। पोखराका अस्पतालमा मनोरोग विशेषज्ञ भएपनि मनोविद् भने छैन। केही बिरामीलाई औषधीसँगै मनोविद्को परामर्श पनि आवश्यक पर्छ। मनोरोग विशेषज्ञले औषधी दिन मात्र मिल्छ तर मनोपरामर्शका लागि मनोविद् नै चाहिने हुन्छ। जसको अभाव पोखरामा छ। यस क्षेत्रमा सरकारले जोड दिएर काम नगरेमा समस्या बढ्दै जाने उनको भनाइ छ।

नेपालमा दैनिक १९ जनाले आत्महत्या गर्छन्

आत्महत्या गर्ने ८० प्रतिशत मानिसमा मानसिक रागेको समस्या हुने गरेको अध्ययनले देखाएको छ। जसमा मुख्य कारण 'डिप्रेसन' भएको देखिएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा दैनिक १९ जनाको आत्महत्याको कारण मृत्यु हुन्छ। पाँच वर्षिय तथ्यांक हेर्दा नेपालमा अघिल्लो आर्थिक वर्षभन्दा यसवर्ष आव ०७८–७९ मा आत्महत्याको घटना ४.७ प्रतिशतले घटेको छ।

आर्थिक वर्ष २०७४–०७५ मा ५ हजार ३१७, आर्थिक वर्ष २०७५–७६ मा ५ हजार ७५४, आर्थिक वर्ष  २०७६–०७७ मा ६ हजार २४९, आर्थिक वर्ष २०७७–०७८ मा बढेर ७ हजार ११७ पुग्दा आर्थिक वर्ष २०७८–०७९ मा घटेर ६ हजार ७९२ पुगेको छ।

आर्थिक वर्षमा २०७८–०७९ मा सबैभन्दा बढी आत्महत्या प्रदेश नं १ मा १ हजार ४८७ जनाले गरेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा २९० जनाको। यस्तै गण्डकी प्रदेशमा ६९८ जनाले आत्महत्या गरेका छन्। मधेश प्रदेशमा १ हजार १५ जना, वाग्मती प्रदेशमा ९०१ जना, लुम्बिनी प्रदेशमा १ हजार २९७ जना र सुदूरपश्चिममा ५७९ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ।

गण्डकीमा कस्तो छ अवस्था ?

गण्डकी प्रदेशमा ६९८ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ आर्थिक वर्ष २०७८–२०७९ मा। जसमध्ये सबैभन्दा बढी कास्की जिल्लामा १५९ जनाले आत्महत्या गरेका छन्। त्यस्तै लमजुङमा ११०, नवलपुरमा १२५, स्याङ्जामा ७२, गोरखामा ६८, पर्वत ४७, बागलुङ ४५, लमजुङ ३८, म्याग्दी ३१, मुस्ताङमा २ र मनाङमा १ जनाले आत्महत्या गरेका छन्। महिनाको आधारमा तथ्यांक हेर्दा सबैभन्दा बढी आत्महत्याको घटना असारको महिनामा भएको तथ्यांकले देखाउँछ।

आत्महत्या गर्नेमा १६ देखि २५ वर्षसम्मका बढी

आर्थिक वर्ष २०७८–२०७९ को तथ्यांक हेर्दा गण्डकीमा आत्महत्या गर्ने पुरुषको संख्या बढी छ। तथ्यांक अनुसार आत्महत्या गर्नेमा ५८ प्रतिशत पुरुष छन् भने ३१ प्रतिशत महिला। यस्तै आत्महत्या गर्नेमा बालकभन्दा बालिकाको संख्या भने बढी छ। ७ प्रतिशत बालिकाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ।

उमेरको आधारमा हेर्दा गण्डकीमा आत्महत्या गर्नेमा सबैभन्दा बढी १६ देखि २५ वर्षका उमेर समूहले गरेको तथ्यांकले देखाउँछ। यस्तै ६० वर्षभन्दा माथिका ८८ जना,  ४६–६० वर्षका १ सय ५५ जना, ३६–४५ वर्षका ११८ जना, २६–३५ का १२० जनाले आत्महत्या गरेका छन्। त्यस्तै १६ वर्षभन्दा कम उमेरका ४३ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ।

आत्महत्या गर्नेमा कृषि पेशाका बढी

नेपाल प्रहरीको तथ्यांक अनुसार गण्डकीमा आर्थिक वर्ष २०७८–७९ मा आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी कृषि पेशामा थिए। प्रहरीका अनुसा ४०१ जना कृषि पेशामा रहेकाले आत्महत्या गर्दा, ९० मजदुर, ७९ बेरोजगार, ६३ गृहणी, ४६ विद्यार्थी, २ व्यापारी र १६ जना अन्य पेशामा रहेका थिए। यस्तै आत्महत्या गर्नेमा सबैभन्दा बढी साधारण लेखपढ मात्र गर्न जान्ने व्यक्ति रहेका छन्।

नेपालमा कस्तो छ मानसिक रोगको अवस्था?

नेपाल हेल्थ रिसर्च काउन्सिलले नेपालमा जनवरी २०१९ देखि जनवरी २०२० सम्ममा नेशनल मेन्टल हेल्थ सर्भे गरेको थियो। स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य प्रतिष्ठानसँग मिलेर गरेको उक्त सर्वेक्षण सातै प्रदेशमा दुई रुपमा गरेको थियो। ९ हजार २०० वयस्क (१८ वर्ष भन्दा माथि)का र ५ हजार ८८८ सय युवा(१३–१७ वर्ष)सम्मका सहभागि थिए सो सर्वेक्षणमा। 

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० का अनुसार वयस्कमा गरेको सर्वेक्षणमा सबैभन्दा बढी मानसिक रोगको समस्या भएका व्यक्ति प्रदेश नं १ मा १३.९ प्रतिशत, मधेश प्रदेशमा २.१, वाग्मती प्रदेशमा १२.० प्रतिशत, गण्डकी प्रदेशमा १०.७ प्रतिशत,लुम्बिनी प्रदेशमा १३ प्र्रतिशत,कर्णाली प्रदेशमा ११.७ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९.५ प्रतिशत छ। उमेरगत हिसाबमा हेर्दा सबैभन्दा बढी ५० देखि ५९ वर्षको मानसिक रोगको समस्या छ।

सोही कार्यक्रम अन्तर्गत १३ देखि १७ वर्षका लागि लक्षित गरेर अर्को सर्वेक्षण पनि गरिएको थियो। जसमा पनि मानसिक रोगको समस्या भएका युवा सबैभन्दा बढी प्रदेश १ मा ११.४ प्रतिशत छ। यता मधेश प्रदेशमा १.७ प्रतिशत, वाग्मती प्रदेशमा ४.४ प्रतिशत, गण्डकीमा ५.१ प्रतिशत, लुम्बिनी प्रदेशमा ६.१ प्रतिशत, कर्णाली प्रदेशमा ४.९ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.९ प्रतिशत छन्। यस्तै वयस्कको गरिएको सर्वेक्षणमा बढी पुरुषमा मानसिक रोगको समस्या देखिएको थियो भने युवाहरुको सर्वेक्षणमा भने बढी किशोरीहरुमा मानसिक रोगको समस्या देखिएको छ। ५.३ प्रतिशत किशोरीलाई समस्या हुँदा ५ प्रतिशत पुरुषलाई समस्या देखिएको छ।

यस्तै, सर्वेक्षणमा २४.९ प्रतिशतलाई उपचार गर्नका कुन ठाउँमा जानुपर्छ भनरे अन्योलता भएको पाइएको छ। यस्तै ११ प्रतिशतलाई यातायातमा असुविधा, १९.५ प्रतिशतलाई आर्थिकरुपमा उपचार गर्न समस्या रहेको सर्वेक्षणले देखाउँछ। ४७.४ प्रतिशतको जनखंख्याले समस्या आफैँ समाधान गर्न सक्ने भाव राख्छन् भने ९.१ प्रतिशतलाई अस्पतालमा भर्ना हुनुपर्ने डरले उपचार गर्न मान्दैनन्।

४५.९ प्रतिशत मानसिक समस्यासँग जुधिरहेकाले आफूलाई केही समस्या नभएको ठान्छन्। जम्मा ७.२ प्रतिशत उपचार र त्यसको असरका बारेमा चिन्तित छन्। २२.६ प्रतिशतलाई आफनो भावना पोख्न मन हुँदैन। त्यस्तै मानसिक समस्या भइसकेपछि पनि उपचारको खोज्नेको संख्या न्यून छ। जम्मा ६.५ प्रतिशत बिरामी मनोरोग विशेषज्ञको पुग्दा ०.२ प्रतिशत मनोविद्कोमा पुग्छन्।

यस्तै, फरक रोगका डाक्टरकोमा पुग्ने बिरामीको प्रतिशत बढी छ। ८.८ प्रतिशत बिरामी अन्य डाक्टरकोमा पुग्छन्। त्यस्तै ६.७ प्रतिशत बिरामी झारफुक गरेर निको हुनेमा विश्वास राख्ने सर्वेक्षणले देखाएको छ।  कोरोनाको समयमा काउन्सिलले अनलाइन सर्वेक्षण पनि गरेको थियो। जस अनुसार कोरोनाको समयमा मानसिक समस्या बढेका थिए। त्यससमय नेपालमा आत्महत्याको दर पनि बढेको थियो। आर्थिक वर्ष २०७७–२०७८ मा भएको आत्महत्याको दर पाँचवर्षको तथ्यांकमा उच्च हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell