काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरीले म्याद थप गर्नको लागि अदालतमा उपस्थित गराएको छ। आज बिहान करिब साढे १० बजेतिर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो।
असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। कतार एयरवेजको विमानबाट कतार हुँदै उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए।
विमानस्थलबाट उत्रिने वित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीको जिम्मा लगाएको थियो। त्यसपछि विमानस्थल प्रहरीले महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो।
अब गौशाला वृत्तले सन्दीपमाथि लागेको आरोपको थप अनुसन्धान गर्दैछ। प्रहरीले हिरासतमा २४ घण्टा भन्दाबढी राख्नु परेको खण्डमा अदालतबाट अनुमति लिनुपर्ने हुन्छ। तर, दशैँको बिदाले गर्दा अदालत बन्द भएकाले आज म्याद थप गर्न अदालतमा उपस्थित गराएको हो।
प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए। उनीविरुद्ध भदौको तेस्रो साता एक नाबालिग किशोरीले करणी गरेको उजुरी दर्ता गराएकी थिइन्।
नाबालिग किशोरी (१७ वर्षीया)माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो।
भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।
त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए।
रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।