PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति



पहिलोपोस्ट

सन्दीपलाई ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
फाइल फोटो

काठमाडौं : नाबालिग किशोरी बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। आज बिहान करिब साढे १० बजेतिर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो। प्रहरीले १० दिन हिरासतमा राख्न अनुमति मागेकोमा सात दिन राख्न अदालतले अनुमति दिएको हो।

सन्दीपले म्याद थप गर्न अदालतमा उपस्थित गराउँदा आफू निर्दोष भएको दाबी गरेका थिए। त्यस्तै, आफ्नो गोपनियता समेत कायम नभएको भन्दै गुनासो समेत गरेका थिए।

असोज २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो। २० गतेदेखि गणना गरेर सात दिनको लागि म्याद दिएको हो।

कतार एयरवेजको विमानबाट कतार हुँदै उनी विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलबाट उत्रिने बित्तिकै अध्यागमन कार्यालयले सन्दीपलाई विमानस्थल प्रहरीलाई जिम्मा लगाएको थियो।

त्यसपछि विमानस्थल प्रहरीलेल महानगरीय प्रहरी वृत गौशालालाई बुझाएको हो। अब गौशाला वृत्तले सन्दीपमाथि लागेको आरोपको थप अनुसन्धान गर्दैछ।

प्रहरीले हिरासतमा २४ घण्टा भन्दाबढी राख्नु परेको खण्डमा अदालतबाट अनुमति लिनुपर्ने हुन्छ। तर, दशैँको बिदाले गर्दा अदालत बन्द भएकाले आज म्याद थप गर्ने अदालतमा उपस्थित गराएको हो।

प्रहरीले डिफ्युजन नोटिस जारी गरेको एक सातापछि लामिछानेले असोज २० गते काठमाडौं आउने बताएका थिए। उनीविरुद्ध भदौको तेस्रो साता एक नाबालिग किशोरीले करणी गरेको उजुरी दर्ता गराएकी थिइन्।

एक नाबालिग किशोरी (१७ वर्षीया) माथि करणी गरेको उजुरी प्रहरीमा दर्ता भएसँगै सानो उमेरमै करिअरको उच्चतम विन्दु चुमिरहेका सन्दीप एकाएक सङ्कटमा पुगेका हुन्। उजुरी लगत्तै प्रहरीले लामिछानेविरुद्ध प्रमाण सङ्कलन गर्न शुरु गरेको थियो।

भदौ ५ गते कप्तान लामिछानेले किशोरीलाई बोलाएर होटलमा लगेर करणी गरेको उजुरीमा उल्लेख छ। प्रहरीमा परेको उजुरी अनुसार साँझ लामिछानेले ती किशोरीलाई कफी खान भन्दै बोलाएका थिए।

त्यसपछि नगरकोट घुम्न जाने भन्दै लगेका थिए। नगरकोटमा किशोरीले बस्न नमानेपछि उनीहरू फर्किएर गौशालाको एक होटेलमा पुगेका थिए।

रातिको ११ बजेर ५५ मिनेटमा होटलमा लगेर लामिछानेले किशोरीलाई पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरिएको छ। प्रहरीले होटलमा गएर पनि लामिछानेको उपस्थितको बारेमा प्रमाण सङ्कलन गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell