PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

यो वर्षको दशैँमा पनि उडेन गुल्मीबाट विमान



रासस

यो वर्षको दशैँमा पनि उडेन गुल्मीबाट विमान
फोटो : रासस

रेसुङ्गा : गुल्मीको रेसुङ्गा नगरपालिका-९ का स्थानीय यादव पाण्डेको गुल्मीबाटै जहाजमा उड्ने सपना यसपटकको दशैँमा पनि पूरा हुन सकेन। विसं २०६३ पछि हरेक वर्षको दशैँमा जहाज उड्ने सपना देखाइए पनि त्यसको १६ वर्षसम्म जहाज उडेको छैन। हरेक वर्षको दशैँलाई बहाना बनाउँदा राज्यको करोडौँ लगानी बालुवामा खन्याएको पानी सरह भएको उनको गुनासो छ।

स्थानीय गीता भण्डारी पनि हरेक वर्षको दशैँ भनेर दिएको आश्वासनप्रति दिक्क छिन्। अहिले संरचना तयार हुँदा पनि नियमित उडान नगरी जनतामा भ्रम फैलाइएको भण्डारीको भनाइ छ। विमानस्थल निर्माण सम्पन्न भएपछि सरोकारवालाले ध्यान नदिएको स्थानीयवासी दीपक अर्यालको आरोप छ।

अर्का स्थानीयवासी शेरबहादुर पुन पनि विमानस्थलमा नियमित उडान नगएकामा दुःखी छन्। चुनावी मुद्दा, राजनीतिक शत्रुता र श्रेयको होडबाजीले विमानस्थल अलपत्र परेको उनले गुनासो गरे।

‘पहिले त संरचना पूरा नभएर रोकिएकामा चित्त बुझाएका थियौँ’, पुनले भने, ‘अहिले पनि उडान नभएपछि अब सो विमानस्थलबाट उहाजमा उड्ने सपना कहिल्यै पूरा नहुने हो कि सन्देह बढ्न थालेको छ।’

उनीहरु मात्र होइन, आम गुल्मेलीलाई प्रत्येक दशैँमा जहाज उड्छ भनेर झुक्काइएको वर्षौं भएको छ। निर्वाचनको समयमा होडबाजीको दौड चले पनि अघिपछि कसैले पहल नगरेको स्थानीयवासीहरुको आरोप छ।

विसं २०६३ मा तत्कालीन पर्यटनमन्त्री प्रदीप कुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास गरेका थिए। जग्गा अधिग्रहण र बजेट अभावका कारणले शुरुको सात/आठ वर्ष विमानस्थल निर्माण गति लिन सकेन। त्यसपछि पनि चुनावी प्रचारमा मात्र सीमित रहँदै काम शुरु भएन। शिलान्यासको नौ वर्षपछि २०७२ बाट विमानस्थलको नियमित काम शुरु भयो।

रेसुङ्गा विमानस्थल निर्माण आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर दिनेश परियारले पनि त्यसपछि प्रत्येक वर्षको दशैँसम्म नियमित उडानमा पुगिसक्ने बताउँदै आए। निर्माणले गति लिएको चार वर्षसम्म पनि विमानस्थलको ४०/४५ प्रतिशत मात्र काम भएको थियो। विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले परीक्षण उडान भरेको थियो।

अर्को वर्ष विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले केही असर गर्‍यो। विसं २०७९ बैशाखमा मात्र विमानस्थल निर्माणले पूर्णरुप पायो। रौताह हरिहरि जेभी र बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले विमानस्थलमा भौतिक संरचना निर्माणको काम गरेका थिए।

इञ्जिनियर परियारका अनुसार जग्गा अधिग्रहण, बजेट अभाव, कोरोना महामारी र निर्माण पहलकर्ताको कम चासोले विमानस्थल निर्माणमा ढिला भएको हो। विमानस्थल निर्माणको क्रममा मुआब्जा दिने गरी १४ घर विस्थापित गराइएको थियो। बाँकी २८ घरको जग्गा अधिग्रहण गरिएको थियो। विस्थापितले मुआब्जा पाइसकेका छन्।

निर्माण सम्पन्न विमानस्थलको धावनमार्ग पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ। कूल ३५ करोड रुपैयाँ लागतमा रेसुङ्गा विमानस्थल निर्माण सम्पन्न भएको आयोजनाका सहायक आयोजना प्रमुख इञ्जिनियर परियारले बताए।

एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। अहिले विमानस्थल नियमित उडानका लागि तयार रहेको छ। प्राविधिक जडानपछि नियमित उडान भर्न सकिने इञ्जिनियर परियारको भनाइ छ।

रेसुङ्गा विमानस्थलको संरचना पूर्णरुपमा निर्माण भएपछि रेखदेख गर्ने कोही पनि छैनन्। नियमित उडान शुभारम्भ नहुनु र रेखदेख गर्ने नहुनुले विमानस्थलका संरचनामा क्षति पुग्न थालेको छ।

विमानस्थल चिटिक्क बनेकाले घुम्ने जानेको लापरबाहीका कारणले कन्ट्रोल टावरको सिसा फुटिसकेको छ भने अन्य संरचनामा पनि क्षति भएको छ। रेसुङ्गा नगरपालिकाले विमानस्थलको रेखदेखका लागि नगरप्रहरी खटाउने तयारी गरेको छ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले विमानस्थल नियमित सञ्चालन गर्नको आफूहरु आतुर रहेको बताए। उनले यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकसँग छलफल गरेको जानकारी दिए।

‘गुल्मेलीको भाग्य र भविश्यसँग जोडिएको विमानस्थलको नियमित उडानका लागि गम्भीर भएर लागेका छौँ’, नगरप्रमुख पन्थीले भने, ‘नियमितको उडानको प्रक्रिया अगाडि बढिसकेको छ।’

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा विमानस्थलबाट नियमित उडान भएमा आम गुल्मेलीलाई राहत महसुस हुनेछ। छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान र बाग्लुङलाई पनि रेसुङ्गा विमानस्थलले टेवा पुर्‍याउने विश्वास गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell